जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, १२ साउन । नेपाल मजदुर किसान पार्टी ९ नं. वडा समितिको आयोजनामा शुक्रबार भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले शासक दलका नेताहरू सिद्धान्त र विचारको आधारमा राजनीति नगरी पद, पैसा र सेवा सुविधाजस्ता दलगत र व्यक्तिगत स्वार्थमा फसेको कारण देशको स्थिति दयनीय हुँदै गएको बताउनुभयो ।
देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नु नै पार्टीको उद्देश्य रहेको विचार व्यक्त गर्दै उहाँले सिद्धान्त र विचारबिनाको राजनीतिक दलले दिशानिर्देश गर्न सक्दैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “सिद्धान्त र विचार नबोकेको र देशको लागि कुनै योगदान नगरेको दलले सांसद जित्नुको पछाडि देशी विदेशीशक्तिको साथ हुनसक्ने जनताको शङ्का छ ।”
देश र समाजको निम्ति काम गर्दा कमी कमजोरी भएमा आलोचना, आत्मालोचना गरी सच्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “कसैले आलोचना या विरोध ग¥यो भने निरास हुने र प्रशंसा गर्दैमा मख्ख पर्नु हुँदैन ।”
समुदायमा आधारित सहकारी संस्थाहरू समाजको निम्ति सफल र नमुना भएको उल्लेख गर्दै उहाँले खराब नियतले चलाएको सहकारी ढिलो चाँडो डुब्ने निश्चित छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले चीनका नेता माओ त्सेतुङले गरिब किसानहरूलाई दुःख दिने, दबाउने, सम्पत्ति लुट्ने, भ्रष्टाचार गर्ने, किसान विरोधी दलालहरूलाई उल्टो टोपी लगाएर घुमाएको स्मरण गर्दै भक्तपुरका किसानहरूले पनि जनतासँग उठाएको पैसा र अन्नमा अनियमितता गर्नेलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गरेको बताउनुभयो ।
समाजवादी व्यवस्थामा भ्रष्टाचारीलाई कारबाही गर्ने गरेको उल्लेख गर्दै उहाँले चीनलाई भ्रष्टाचारमुक्त देश बनाउन चिनियाँ सरकार अघि बढ्दै छ भन्नुभयो ।
नेमकिपा ९ नं. वडा समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको सो भेलामा राम प्रजापति, काशीलाल प्रजापति र रामेश्वरी कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply