भर्खरै :

नेक्राकिसङ्घको स्थापना दिवस मनाइयो

भक्तपुर, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ नगर समिति भक्तपुरको आयोजनामा सोमबार सङ्घको स्थापना दिवसको अवसरमा किसानहरूको भेला भयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् जिल्ला सङ्घ भक्तपुरका अध्यक्ष गोविन्द दुवालले किसान सङ्घ स्थापनाको औचित्यबारे प्रकाश पार्नुभयो ।
विगतको किसान आन्दोलनको स्मरण गराउँदै २०२५ साउन २ गते भक्तपुरमा भएको भ्रष्टाचारविरोधी आन्दोलनसँगै किसान सङ्घको साउन १४ गते स्थापना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देश र जनताको हित नचाहने, सङ्घर्ष गर्न चाहने किसानविरोधी सङ्घबाट अलग्ग भएर नेक्राकिसङ्घ स्थापना भएको हो ।”
नेक्राकिसङ्घले सुस्ताविरोधी आन्दोलन, साम्राज्यवादी अमेरिकाले भियतनाममाथि गरेको आक्रमणको विरोधमा आन्दोलन गरेको स्मरण गर्दै उहाँले विगतको इतिहास नयाँ पुस्तामाझ पु¥याउनुपर्छ भन्नुभयो ।
अग्रज किसान कार्यकर्ताहरूले सङ्घर्ष गरेरै किसानहरूको नाउँमा जोत कायम भएको स्पष्ट पार्दै उहाँले वर्गसङ्घर्षले मात्र त्यो अधिकार पाएको हो भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका प्रतिनिधि लक्ष्मीभक्त लासिवाले विगतको किसान आन्दोलनबाट प्राप्त भएको हक अधिकारकै कारण किसानहरूको जीवनस्तर उठेको चर्चा गर्दै धर्मको नाउँमा शोषण गर्ने र अन्धविश्वास हटाउनेतर्फ अझै किसानहरूलाई सचेत र सङ्गठित गर्नु आवश्यक छ भन्नुभयो । उहाँले नेमकिपाले सिद्धान्त र विचारअनुसार इमानदारीपूर्वक राजनीति गरिरहेको पनि बताउनुभयो ।
आर. प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्णगोपाल राजचल र कृष्णसागर वासीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *