जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, १४ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति भक्तपुरको आयोजनामा आइतबार पेसागत महिलाहरूको भेला भयो ।
भेलामा नेमकिपाका सचिव प्रेम सुवालले माध्यमिक तह सकाएर बसेका विद्यार्थीहरूलाई समसामयिक पुस्तकको अध्ययन गर्न लगाउनुपर्ने बताउनुभयो । समसामयिक राजनीतिक परिवेशबारे उहाँले महत्वपूर्ण प्रशिक्षण गर्नुभएको थियो ।
वाग्मती प्रदेश सदस्य सृजना सैंजूले आफ्नो क्षेत्रमा इमानदारीताका साथ हरेक व्यक्तिले आफनो क्षमताअनुसार समाजमा योगदान दिनुपर्ने, शिक्षित श्रमिक महिलाहरू सङ्गठित भई अगाडि बढनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले युवा पुस्तालाई राजनीतिमा ल्याए देश र समाज विकास हुने कुरामा जोड दिनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले सङ्गठन निश्चित उद्देश्यका साथ स्थापना हुने उल्लेख गर्दै कामदारवर्गको हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
सातौँ नगर सम्मेलनका संयोजक रामेश्वरी कोजुले भदौको २५ गते हुन लागेको सङ्घको सातौँ सम्मेलनमा सम्पूर्ण महिलाहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा समाज, साहित्य तथा पेसागत महिलाहरूको चुनौती विषयमा सुनिता गाइसीले जानकारी दिनुभयो । उहाँले मानव समाजको विकासक्रमको साथै समाजमा महिला र पुरुषको भूमिकामा आएको परिवर्तनबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा रत्न चवाल र मन्जुमैँया लाखाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply