सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
देशको शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सफलता हासिल गरेका कारण भक्तपुर नगरपालिकालाई देशकै नमुना नगरपालिका र सफल नगरपालिकाको रूपमा हेर्ने गरिन्छ । भक्तपुर नगरपालिकाले आफ्नै स्रोत र साधनबाट ७ वटा कलेज तथा एकवटा नगर अस्पताल स्थापना गरी सञ्चालन गरिरहेको छ । स्थानीय तहमा नेपालमा कलेज र अस्पताल सञ्चालन गर्ने नगरपालिकामा भक्तपुर नगरपालिका मात्रै हो । सस्तो, सुलभ र गुणस्तरीय शुल्कमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु आफैमा एउटा चुनौती हो, जुन हालसम्म यस नगरपालिकाले सफलतापूर्वक सम्हाल्दै आएको छ । भक्तपुर नगरपालिकाले समुदायमा आउने हरेक समस्या र विपत्तिमा एक सफल जिम्मेवारी वहन गर्दै आएको सर्वविदित्तै छ । भक्तपुर नगरपालिकाले अस्पताल, शिशुस्याहार, स्कूल, कलेज, विभिन्न खेलकुदको नियमित तालिम सञ्चालन, वडावडामा खुला व्यायामशाला, छिकोङ व्यायाम तालिम, रोजगारी, आदर निकेतन एवं व्यवस्थित शवदाह गृह आदिको निर्माण गर्नुले मानिसको जन्मदेखि मरणसम्मको जिम्मेवारी बहन गरेको भान हुन्छ ।
भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा योगदान गर्ने उद्देश्यले वि.सं. २०३० सालमा जनस्वास्थ्य केन्द्र सञ्चालन गरी स्वास्थ्य र सरसफाइमा पाइला चालेको थियो । नगरपालिकाको यही अथक प्रयासको कारण आज देशको सफा नगरपालिकामध्ये अग्रस्थानमा पर्दछ । ख्वप अस्पताल भक्तपुर नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताल पनि हो । यसले भक्तपुरलगायत देशभरिका स्वास्थ्य उपचारका लागि आएका बिरामीहरूलाई निरन्तर सेवा गर्दै आइरहेको छ । ख्वप अस्पतालले सरदर दैनिक ७५० जना बिरामीहरूको सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
भक्तपुर नगरपालिकाको अर्को विशेषता र पहिचान घरदैलो नर्सिङ सेवा हो । यो नेपालमा नगरपालिकाद्वारा सञ्चालित एकमात्र कार्यक्रम हो जसअन्तर्गत जनताको घरघर गई उनीहरूको स्वास्थ्य जाँच र स्वास्थ्य परामर्श दिने गरिन्छ । भक्तपुर नगरपालिकाले यो कार्यक्रम वि.सं. २०७४ भदौ १२ गतेदेखि परीक्षण कार्यक्रमको रूपमा नगरका १० मध्ये ३ वटा वडा (३, ४ र ६) मा सुरु गरको थियो । त्यस कार्यक्रमको सफलताको कारण सोही वर्ष वि.सं. २०७४ चैत २५ गतेबाट १० वटै नगरपालिकामा सुरु गरेको थियो जुन हालसम्म निरन्तर सञ्चालन भइरहेको छ ।
घरदैलो कार्यक्रमको मुख्य उद्देश्य नगरका बासिन्दाहरूको घरघर गई उनीहरूमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनु र आफ्नो स्वास्थ्यको उचित ख्याल राखोस् भन्ने हो । यसबिच वडाका नर्सहरूले स्वास्थ्य अभ्यास, रोगको जानकारी, रोकथामका उपाय र स्वस्थ जीवनशैलीका बारेमा समुदायलाई शिक्षित गर्ने काम गर्दछन् । उनीहरूले भक्तपुर नगरपालिका र ख्वप अस्पतालअन्तर्गत रही कार्यशाला गोष्ठी, सेमिनार, अभिमुखीकरण कार्यक्रम र जागरुता अभियानहरू सञ्चालन गर्छन् । जस्तै : सरसफाइ, पोषण, मातृशिशु वृद्धि, अनुगमन, परिवार नियोजन, प्रसव पूर्व र प्रसवपछिको हेरचाह, खोप तथा बाल स्वास्थ्य आदि स्वास्थ्य सेवाहरू समावेश हुन्छन् । यस अभियानले सङ्क्रामक रोगहरूको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छन्† सर्ने तथा नसर्ने रोगबारे शिक्षा दिने गर्दछ । नगरमा सञ्चालित घरदैलो नर्सहरूले साधारण रोगको उपचार, प्राथमिक उपचार र आवश्यक परेको खण्डमा उच्चस्तरका स्वास्थ्य सेवाहरूको लागि सिफारिस गर्दछन् । यसका साथै मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग, थाइराइड, कोलेस्टोरोल, हाडजोर्नी, नशारोग, क्यान्सर, पाठेघरको क्यान्सर, पत्थरी, पक्षघात, क्षयरोग आदि रोगहरूको तथ्याङ्क सङ्कलन गरी व्यवस्थापनमा सहयोग गरिएको हुन्छ । जस्तैः– शिक्षा प्रदान गर्ने, बिरामीहरूको नियमित अनुगमन र स्वास्थ्य प्रदायकहरूसँग समन्वय गर्ने । सामुदायिक नर्सहरूले प्रायः घरदैलो पुगेर वृद्ध, अपाङ्ग, नवजात शिशु, बालबालिकाहरूको नियमित वृद्धि अनुगमन गर्ने गर्दछन् । यसरी घरदैलो नर्सिङ सेवा सञ्चालन गरेको भक्तपुर नगरपालिकाले नगरवासीको समग्र स्वास्थ्य र कल्याणमा आवश्यक पूर्वाधारको व्यवस्था गरी स्वस्थ समाजको कल्पना गरेको छ ।
आ.व. २०८०/८१ को घरदैलोको तथ्याङ्कअनुसार भक्तपुर नगरपालिकामा सर्नेभन्दा नसर्ने रोगहरू बढी देखिएको छ । त्यसमध्ये पुरुषमा भन्दा महिलामा धेरै रोग दखिएको छ । यस्तो हुनुको कारण पुरुषहरूले रोग लुकाएको वा चेकजाँच नगरेको वा घरदैलो जाने क्रममा नभेटिएको हुनसक्ने अनुमान छ । यस आर्थिक वर्षभित्र सङ्कलित तथ्याङ्कको आधारमा क्रमशः उच्च रक्तचाप, मधुमेह, दम, कोलेस्टोरोल, हाडजोर्नी, मुटुरोग, थाइराइड, नशा रोग, मानसिक, मृगौला रोग, क्यान्सर र अन्यमा पक्षघात, पत्थरी, जन्डिस, क्षयरोग, सुस्त मनस्थिति आदि पर्छन् ।
यसरी नियमितरूपमा प्रत्येक वर्ष सङ्कलन गरिएको तथ्याङ्कअनुसार भक्तपुर नगरपालिकामा विभिन्न किसिमका दीर्घकालीन नसर्ने रोगहरूको सङ्ख्या धेरै रहेको देखिन आएको छ । यसरी देखिएका सम्पूर्ण रोगहरूको रोकथाम र नियन्त्रणका लागि अहम् भूमिका खेल्न सकिन्छ । यसका लागि घरदैलो नर्सिङले विभिन्न रोगको जनचेतनामूलक तालिम, अभिमुखीकरण, कक्षा र नियमित अनुगमनले पनि साथ सहयोग पुगेको छ । कतिपय मानिसहरू समयमै राम्रो सल्लाह र सुझाव पाएको कारण समयमै उपचार पाएको र आफ्नो स्वास्थ्यप्रति सजग भएका छन् । यति हुँदाहँुदै पनि नगरका शिक्षित र सचेत मानिसहरूले समेत आफ्नो नियमित खानपान र रहनसहनको व्यवहारमा परिर्वतन र चासो दिन खोजिरहेको पाइँदैन । कतिपय मानिसहरूलाई रक्तचाप र चिनी जाँच गर्दा खराबी देखिएको तथा रोगबारे विस्तृत विवरण बताउँदा पनि जाँच्न मन नपराउने र त्यस्ता रोगहरूको उपचारमा ढिलाइ भएको कारण यस्तो दीर्घकालीन रोगहरू बढी मात्रामा देखिन आएको हो र अकाल मृत्युको कारण बनेको पनि छ । नगरमा अझै धेरै नगरवासीहरू कार्य व्यस्तताको कारण आफ्नो स्वास्थ्य सम्बन्धमा सचेत हुन सकेका छैनन् । नगरका न्यून जनसङ्ख्या मात्रै पनि साक्षरता अभावका कारण यस्ता दीर्घकालीन रोगबाट ग्रसित देखिन्छन् ।
भक्तपुर नगरपालिकाले यी सबै तत्व र कारणहरूको विस्तृत अध्ययन गरी ती समस्याको समाधानको लागि प्रक्रियाहरू अघि बढाउँदै आएको छ । मानिसहरूको खानपान र रहनसहनबारे जनचेतना कार्यक्रम, सरसफाइ, नियमित खाद्य उत्पादनको निरीक्षण, औषधि तथा औषधिजन्य कम्पनी तथा पसलहरू नियमित अनुगमनका साथै बालबच्चाहरूलाई खेल्नलाई खेल उद्यान र बगैँचा निर्माण, युवा विद्यार्थीहरूका लागि विभिन्न खेलहरूको नियमित प्रशिक्षण, छिकोङसम्बन्धी चाइनिज व्यायाम, वडावडामा खुला व्यायामस्थल आदि स्थापना गरी भनपाले मानिसहरूलाई स्वस्थ रहन र आफ्नो स्वास्थ्यप्रति सजग रहन अभिपे्ररित गरेको छ । एकदम जटिल र कठिन रोगहरूको लागि भक्तपुर नगरपालिकाले विशेष कोषहरूको व्यवस्था गरेको छ । रोगले धनी गरिब भन्दैन । त्यही भएर आफ्नो र परिवारलगायत समाजका आफू पनि जिम्मेवार र सचेत हुन जरुरी छ । मानिसहरू तन, मन र धन लगाएर स्वस्थ समाज बनाउन, जागृत बन्न अति आवश्यक भइसकेको छ । आफ्नो स्वास्थ्य र समाजको लागि सधैँ अरुको मुख ताकेर बस्ने समय छैन । नियमित व्यायाम, स्वस्थकर खानपान नियमित चेकजाँच तथा अङ्ग्रेजीको एउटा भनाइ “Prevention is better than cure.” लाई आत्मसात गरि अघि बढ्नुपर्ने देखिन्छ ।
भक्तपुर नगरपालिकाले जस्तै देशका सम्पूर्ण नगर र जिल्लाले पनि स्थानीय बासिन्दाहरूको स्वास्थ्यबारे सोच्ने हो भने स्वस्थ समाज र समृद्ध मुलुकको लक्ष्यको पूरा हुनेछ ।
विगतका वर्षहरूमा जस्तै आगामी वर्षहरूमा पनि यस्ता दीर्घकालीन रोगहरूको रोकथाम र न्यूनीकरणको लागि थप सामाजिक जनचेतना र अभिमुखीकरण कार्य तथा निदानात्मक उपचार गरी त्यस्ता रोगहरूको न्युनीकरण गर्ने योजना नपाको रहेको छ ।
Leave a Reply