भर्खरै :

इस्माइल हानिया : यहुदीवादी शासनको आँखाको कसिङ्गर रहेका हमास नेता

इस्माइल हानिया : यहुदीवादी शासनको आँखाको कसिङ्गर रहेका हमास नेता

तेहरान, ३१ जुलाई २०२४ (प्रेस टीभी) । प्यालेस्टिनी प्रतिरोधी आन्दोलन हमासका राजनीतिक ब्युरोका प्रमुख इस्माइल हानिया बुधबार बिहान तेहरानमा इजरायली शासनको कायरतापूर्ण आक्रमणमा मारिनुभयो ।
इस्लामिक रिभोलुसन गार्ड कोर्पस (आईआरजीसी) ले एक विज्ञप्तिमा इरानको राजधानीमा रहेको उनीहरूको निवासलाई निशाना बनाएर गरिएको क्षेप्यास्त्र हमलामा हानिया र उनका एक अङ्गरक्षकको हत्या भएको घोषणा गरेको छ । आईआरजीसीले आक्रमणको अनुसन्धान भइरहेको र विस्तृत विवरणपछि घोषणा गरिने बताएको छ ।
हमासले आफ्नो विज्ञप्तिमा आफ्नो नेताको कायरतापूर्ण हत्याको बदला लिने बाचा गरेको छ, जसलाई इरानको राजधानीमा विश्वासघाती यहुदीवादी आक्रमणको परिणामको रूपमा लिएको छ ।
इस्लामिक प्रतिरोध आन्दोलन हमासले हाम्रा महान् प्यालेस्टिनी जनता, अरब र इस्लामिक ‘राष्ट्र र विश्वका सबै स्वतन्त्र जनताका सन्तानहरूप्रति शोक व्यक्त गर्दछ’, बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको शपथग्रहण समारोहमा भाग लिन तेहरान पुग्नुभएको थियो । पेजेस्कियानले मङ्गलबार संसद्मा शपथ लिनुभएको थियो ।
जनवरी २ मा दक्षिणी बेरूतमा सलाह अल–अरौरीको हत्यापछि सन् २०२३ को अक्टोबर ७ मा अपरेसन अल–अक्सा स्ट्रोमपछि इजरायली शासनद्वारा मारिने उहाँ दोस्रो उच्च तहका हमास नेता हुनुहुन्छ ।
हानियाको जन्म गाजापट्टीको अल–शाती शरणार्थी शिविरमा १९६२ मा भएको थियो र गाजाको इस्लामिक विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो । उहाँले १९८७ मा अरबी साहित्यमा स्नातक गर्नुभएको थियो ।
प्यालेस्टिनमाथि इजरायली कब्जाविरूद्ध वर्षौंको राजनीतिक गतिविधिपछि, उहाँ १९९७ मा हमासका वरिष्ठ नेताहरूमध्ये एकको रूपमा निर्वाचित हुनुभयो, त्यसपछि उहाँ क्रमशः शीर्ष नेता बन्नका लागि विभिन्न पदहरूमार्फत अगाडि बढ्दै आउनुभएको हो ।
सन् १९९७ मा इजरायली जेलबाट रिहा भएपछि उहाँले हमासका संस्थापक अहमद यासिनको कार्यालयको पनि नेतृत्व गर्नुभएको थियो ।
हानियाले पहिलो र दोस्रो इन्तिफादा दुवैमा सक्रिय भूमिका खेल्नुभएको थियो र धेरै जेलमा रहेका कैदी बन्दीलाई पनि सहायता गर्नुभएको थियो । उहाँ सन् २००३ मा भएको इजरायली आतङ्ककारीहरूको आत्मघाती बम विस्फोटसहित धेरै हत्याका प्रयासहरूबाट पनि बच्न सफल हुनुभएको थियो ।
उहाँको नेतृत्वमा, हमासले २००६ मा प्यालेस्टिनको संसदीय निर्वाचन जितेको थियो र प्यालेस्टिन राज्यको प्रधानमन्त्री बन्नुभएको थियो । यद्यपि प्यालेस्टिन प्राधिकारका राष्ट्रपति महम्मुद अब्बासले उहाँलाई २००७ मा बर्खास्त गर्नुभएको थियो ।
हानियाले २००६ र २०१७ को बिचमा इजरायलले घेरामा राखेकोे गाजापट्टीमा हमास नेताको रूपमा पनि सेवा गर्नुभयो । त्यसपछि उहाँको स्थानमा हमासका उच्चस्तरीय सैन्य कमान्डर याह्या सिनवारल नियुक्त हुनुभयो ।
मे ६, २०१७ मा हानिया खालेद मशालको उत्तराधिकारी, प्रतिरोध आन्दोलनको राजनीतिक कार्यालयको अध्यक्षको रूपमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँको बसोबास प्यालेस्टिनबाट कतारमा सारिएको थियो ।
अक्टोबर ६, २०२४ को घटनापछि, हानियाले अवैध इजरायली कब्जाविरूद्ध प्यालेस्टिनी प्रतिरोध अभियानको रक्षा गर्न आफ्नो राजनीतिक कार्यलाई निकै सक्रिय पार्नुभएको थियो र लोकप्रिय आन्दोलनको सराहनीय नेतृत्व गरिरहनुभएको थियो ।
आफ्नो एक भाषणमा, उहाँले गाजामा प्यालेस्टिनी जनता आफ्नो स्वतन्त्रता र मर्यादाको निम्ति बहुमूल्य सबै त्याग गर्न तयार छन्’ भनेर जोड दिनुभयो र चेतावनी दिनुभएको थियो कि इजरायली कब्जाकारी शासनले ‘प्यालेस्टिनविरूद्ध उनीहरूको अपराध र आतङ्कवादको लागि ठुलो मूल्य चुकाउनेछ ।
नोभेम्बर १, २०२४ मा, हानियाले जबलिया शरणार्थी शिविरमा भएको भयानक आक्रमणपछि ‘निःशस्त्र नागरिकहरूविरूद्ध बर्बर नरसंहार’ गरेकोमा इजरायली शासनको निन्दा गर्नुभएको थियो ।
२०२३ को डिसेम्बरमा, एक जनमत सर्वेक्षणले देखाएको थियो कि हानियाले प्यालेस्टिनी प्राधिकारको राष्ट्रपति पदका लागि हुने निर्वाचनमा महमुद अब्बासलाई ठुलो अन्तरले पराजित गर्नेछन् । सर्वेक्षणले हानियाका लागि ७८ प्रतिशत र अब्बासका लागि १६ प्रतिशतसहित हमासका नेताको बढ्दो लोकप्रियतालाई औँल्याएको थियो ।
हानियाले प्यालेस्टिनको सबैभन्दा लोकप्रिय प्रतिरोधी समूहको नेताको रूपमा व्यक्तिगत बलिदान पनि दिएका थिए । अक्टोबरमा गाजा सहरमा रहेको उनको परिवारको घरमा इजरायली हवाई हमलामा उहाँको निकट परिवारका कम्तीमा १४ सदस्यहरू मारिएका थिए ।
नोभेम्बर २०२३ मा उहाँको नातिनी र नातिको पनि हत्या भएको थियो । अप्रिल २०२४ मा, एउटा ठूलो त्रासदीमा, हानियाले गाजापट्टीमा इजरायली हवाई आक्रमणमा आफ्ना तीन छोरा र तीन नातिनातिना गुमाउनुभएको थियो ।
जून २०२४ मा, गाजाको अल–शाती शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा उहाँकी ८० वर्षीया दिदीसहित उहाँको आफन्तको परिवारका थप दस सदस्यहरू मारिएका थिए ।
जुलाई ३१, २०२४ का दिन हानियाको पनि उही शत्रुद्वारा हत्या भएको छ । उहाँको निधन एक युगको अन्त्य जतिकै भएको छ । इस्माइल हानिया यहुदीवादी शासनको आँखाको कसिङ्गरसरह रहेका हमास नेता हुनुहुन्थ्यो ।
तथापि, उहाँको जीवन र विरासतले अमेरिका समर्थित इजरायली कब्जाविरूद्ध प्यालेस्टिनी प्रतिरोधी शक्तिहरूको लागि प्रेरणाको ज्योतिको रूपमा काम गरिरहनेछ ।
गत वर्ष अप्रिलमा प्रेस टीभीसँगको एक अन्तर्वार्तामा, हानियाले इजरायल ‘सबैभन्दा खराब अवस्थामा’ बाँचिरहेको कुरा पुष्टि गर्नुभएको थियो र यहुदीवादी शासनको पतन र मृत्युको कारणहरू उल्लेख गर्नुभएको थियो ।
अपरेसन अल–अक्सा स्ट्रोमको दस महिनापछि, लगभग ४० हजार प्यालेस्टिनीहरूको नरसंहारको बाबजुद आफ्नो कुनै पनि सैन्य उद्देश्यहरू प्राप्त गर्न असफल भएपछि इजरायली कब्जाकारी शासन पहिले नै शून्यतातर्फ उन्मुख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *