भर्खरै :

भेनेजुयलाका राष्ट्रपति माडुरोद्वारा चुनावी नतिजाको समीक्षा गर्न सर्वोच्च अदालतमा रिट निवेदन

भेनेजुयलाका राष्ट्रपति माडुरोद्वारा चुनावी नतिजाको समीक्षा गर्न सर्वोच्च अदालतमा रिट निवेदन

काराकस, १ अगस्ट, २०२४ (भेनेजुयला एनालाइसिस) । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले जुलाई २८ को राष्ट्रपति चुनावको नतिजाको न्यायिक समीक्षा गर्न देशको सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको छ । राष्ट्रिय निर्वाचन परिषद् (सीएई) को अन्तिम नतिजाले उहाँको नयाँ ६–वर्षको कार्यकाल सुरक्षित गरेको देखाएको थियो ।
विपक्षीले मतदानको नतिजालाई मान्यता दिन अस्वीकार गरी देशव्यापी हिंसात्मक विरोध प्रदर्शन गरेपछि राष्ट्रपति माडुरोले देशमा फैलाइएको अशान्ति अन्त गर्न बुधबार सर्वोच्च अदालतको निर्वाचन इजलास (टीएसजे) मा चुनावी नतिजा समीक्षाको रिट बुझाउनुभएको हो ।
देशको निर्वाचन प्राधिकरणले सोमबार मध्यरातमा घोषित निर्वाचन परिणाममा माडुरोले गोन्जालेजको ४४.२ प्रतिशतको विरूद्ध ५१.२ प्रतिशत मत ल्याएर निर्वाचन जितेको घोषणा गरेको थियो । भेनेजुयलाको नेसनल इलेक्टोरल काउन्सिल (सीएनई) ले भोलिपल्ट औपचारिक रूपमा निकोलस माडुरोलाई विजयी घोषणा गरेको थियो ।
माडुरोले कराकसस्थित सर्वोच्च अदालतको निर्वाचन इजलासको प्रधान कार्यालयबाट निस्कने क्रममा भन्नुभयो, “हामी हाम्रो कब्जामा रहेको शतप्रतिशत मत परिणामका चुनावी ट्यालीहरू प्रस्तुत गर्न तयार छौँ । म आफ्नो गठबन्धनले प्राप्त गरेको मत सङ्ख्या अदालतमा प्रमाण पेस गर्न इच्छुक छु । अन्य राष्ट्रपति उम्मेदवारहरूलाई पनि त्यसै गर्न चुनौती दिन्छु ।”
भेनेजुयलाको कट्टर दक्षिणपन्थी विपक्षीले आफ्नो उम्मेदवार एडमन्डो गोन्जालेजले आइतबारको चुनाव जितेको र यसलाई प्रमाणित गर्ने चुनावी ट्याली भएको दाबी गरिरहेकोे छ ।
मतदानको अवधिमा भेनेजुयलामा रहनुभएका स्पेनी राजनीतिक विश्लेषक जुआन कार्लोस मोनेडेरोले विपक्षीको दाबीको कडा विरोध गर्नुभएको छ र सीएनईलाई नतिजाहरू प्रशोधन गर्न समय दिइनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय निर्वाचन परिषद् (सीएनई) ले मतदानको विस्तृत विवरण जारी गरेको छैन । निर्वाचन परिषद्का अधिकारीहरूले ढिलाइको निम्ति ‘साइबर आक्रमण’ कारण भएको बताएका छन् । साइबर आक्रमणले डाटा प्रसारणमा असर गरेको उनीहरूले बताएका छन् ।
धेरै विश्लेषक र राजनीतिक शक्तिहरूले नतिजासम्बन्धी तनाव कम गर्न सीएनईलाई पूर्ण परिणाम प्रकाशित गर्न आग्रह गरेका छन् ।
मतदानको पर्यवेक्षण गरेका भेनजुयलामा उपस्थित नेसनल लयर्स गिल्डलगायत अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरूले ‘भेनेजुयलाको निर्वाचन प्रक्रियाको निष्पक्षता, पारदर्शिता’ को प्रशंसा गरेका छन् ।
“ती संस्थाका प्रतिनिधिहरूको टोलीले वैधता, निर्वाचनमा पहुँच र बहुलवादमा ध्यान दिएर पारदर्शी, निष्पक्ष मतदान प्रक्रिया अवलोकन ग¥यो”, समूहको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिनिधिमण्डलले भेनेजुयलाको लोकतन्त्रको स्थिरतालाई कमजोर पार्ने आरोप लगाएको नतिजा अस्वीकार गरेकोमा अमेरिकी समर्थित विपक्षीहरूको आलोचना गरेको छ । आइतबारको मतदानको पर्यवेक्षण गरेको कार्टर सेन्टरले एक विज्ञप्तिमा भनेको छ कि चुनावमा ‘चुनावको अखण्डताको अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेको पाइयो ।’
आइतबारको निर्वाचन कुनै घटनाबिना नै सम्पन्न भयो । यद्यपि, ढिलाइ भएको अन्तिम नतिजाले भेनेजुयलाका केही छिमेकीलगायतले थप पारदर्शिताका लागि आह्वान गरेका छन् ।
माडुरोका सहयोगीका रूपमा हेरिएका कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले नतिजाको ‘व्यावसायिक अन्तर्राष्ट्रिय परीक्षण’ को लागि आह्वान गर्नुभएको छ । त्यस्तै ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोन कल गरी छलफल गरेका छन् । ती दुई राष्ट्रपति ‘भेनेजुयलाको निर्वाचनले मतदान केन्द्र स्तरमा पूर्ण, पारदर्शी र विस्तृत मतदान डाटाको तुरुन्तै सार्वजनिकीकरणको आवश्यकतामा सहमत भएका छन् । तर, भेनेजुयलाका अधिकारीहरूले आफ्नो देशको आन्तरिक मामिलामा कुनै विदेशी सरकार र संस्थाको चासो र हस्तक्षेपलाई नस्वीकार्ने बताएका छन् ।
यद्यपि, अन्य क्षेत्रीय नेताहरूले भेनेजुयलाका संस्थाहरूको निर्णयलाई सम्मान गर्न आह्वान गर्नुभएको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले विशेषगरी अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) को प्रयासमा यस विषयमा हस्तक्षेप नगर्न आह्वान गर्दै आइएएसकै विश्वसनीयता र निष्पक्षतामा प्रश्न उठाउनुभएको छ ।
“ओएएसले किन हस्तक्षेप गर्नुप¥यो ? त्यो देशमाथिको हस्तक्षेप हो”, मेक्सिकाली राष्ट्रपतिले मङगलबार आफ्नो पत्रकार सम्मेलनमा भन्नुभएको थियो । उहाँले निर्वाचनमा धाँधली वा धोखाधडीको कुनै प्रमाण नभएको विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति माडुरोले निर्वाचन परिणाममाथिको आशङ्का हटाउने प्रयासको रूपमा सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको हो ।
भेनेजुयला आइतबारको राष्ट्रपति निर्वाचन नतिजालाई बदनाम गर्न तीव्र मिडिया अभियानको विषय बनेको छ† सामाजिक सञ्जाल गलत जानकारीले भरिएको छ । माडुरोले भेनेजुयलामा ‘गृहयुद्ध’ भड्काउन खोजेको पश्चिमी सञ्चारमाध्यमहरूमाथि आरोप लगाउनुभयो र आफ्ना विरोधीहरूले निर्वाचन परिणामविरुद्ध आधारहीन बयानबाजी गरेको आरोप लगाउनुभयो ।
“यदि अमेरिकी साम्राज्यवाद र फासिस्ट अपराधीहरूले हामीलाई जबरजस्ती गरे, म जनतालाई अन्य विशेषताहरूसहित नयाँ क्रान्तिको लागि आह्वान गर्न हिच्किचाउने छैन”, माडुरोले बुधबार पत्रकार सम्मेलनमा घोषणा गर्नुभएको थियो ।
आफ्नो सम्बोधनमा, नेता माडुरोले हालैका दिनहरूमा भएका हिंसात्मक प्रदर्शनहरूका लागि चिन्ता व्यक्त गर्नुभयो । ती हिंसात्मक प्रदर्शनहरूले २०१४ र २०१७ मा राष्ट्रलाई हल्लाएको कथित ‘गुआरिम्बा’ हिंसात्मक विरोधको सम्झना गराएको छ । राष्ट्रपतिले विद्यालय, अस्पताल, सार्वजनिक भवन र पूर्वाधारमा आक्रमणको रिपोर्ट गरिएको प्रमाणसमेत देखाउनुभएको थियो । बिहीबार, भेनेजुयला प्रदर्शन र सुरक्षा बलहरूसँगको हिंसात्मक झडपपछि सामान्य अवस्थामा फर्किएको देखिएको छ । ह्युमन राइट्स वाचले विरोध प्रदर्शन र भिडन्तको क्रममा २० जना प्रदर्शनकारीको मृत्युको विश्वसनीय रिपोर्टहरू प्राप्त भएको जनाएको छ । रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले एक नेसनल गार्ड सार्जेन्टसहित ४८ जना घाइते सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *