हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
सन् १९७३ को सेप्टेम्बर ११ को दिन हामी अस्थिरताले गाँजेको देशमा ब्युँझियौँ । धेरै मानिसले अनुमान गरेको कुरा वास्तवमै भइरहेको थियो ः चिलीको सेनाले प्रजातान्त्रिक तरिकाबाट निर्वाचित राष्ट्रपति साल्भाडोर एयेन्डेलाई सत्ताच्युत गर्न सैनिक कू गरेको थियो । मोनेडा राष्ट्रपति कार्यालयमा बमबारी भइरहेको हामीले सुन्यौँ । तर, रेडियोले निकै थोरै सूचना मात्र प्रसारण गरिरहेको थियो । बरू एकपछि अर्को सैनिक सूचनाहरू आइरहेका थिए । सैनिकहरूको परेड देखिरहेका थियौँ । सेप्टेम्बर १३ को साँझपख एक जना कप्तानको नेतृत्वमा एक हुल सिपाही मेरो घरमा आए । उनीहरू मेरो घरमा हातहतियार खोज्नतिर लागे । उनीहरूले खोजेको केही नभेटिएपछि मेरो बुबालाई सँगै लिएर गए । सिपाहीहरूले समाजवाद वा वामपन्थी राजनीतिसम्बन्धी हामीसँग भएका पुस्तक पनि लिएर गए । पछि हामीले थाहा पायौँ, ती सबै पुस्तक जलाइएको थियो । एक घण्टापछि सिपाहीहरू फेरि आए । योपटक उनीहरूले मेरो दाइलाई लिएर गए । दाइलाई निर्घात पिटेर फेरि घरमा छाडेर गए । सिपाहीको कप्तानले आमालाई भन्यो, “लौ तेरो छोरो । तेरो लागि यसले केही काम गर्न सक्छ भनी हामीले यसलाई फर्काएका हौँ । तेरो बुढालाई हामीले मारिसक्यौँ ।”
झन्डै दुई महिनापछि एकजना पिलन्धरे मान्छे रिकार्डो फ्रेड्सको घरमा आए । सुरूमा परिवारका कसैले पनि उनलाई चिनेन । उनी फ्रेड्सका बुबा हेक्टर ‘टिटो’ फ्रेड्स थिए । चिलीको सेनाले बनाएका धेरै यातना गृहमध्ये उनलाई पनि एउटामा थुनिएको थियो । चिलीका धेरै जनताको लागि यो अनुभवपछिको लामो पीडा, यातना, दुःख र निर्वासनको सुरूआत बन्यो । चिलीको इतिहासमा त्यो समय चुक घोप्टिएजस्तै औँसीको रात थियो ।
“जब उनीहरूले ला मोनेडा भवनमाथि बमबारीको कुरा गर्दै थिए, हामीले त्यसलाई बिदा नभएको कुनै दिन न्युयोर्कको ४२ औँ सडकमा रहेको न्युयोर्कको सार्वजनिक पुस्तकालय वा पाँचौँ एभेन्युमा हमला गरेको समान भएको सोच्नु उपयुक्त हुन्छ ।”
सैनिक सत्ता कब्जाको एक वर्षपछि सन् १९७३ को त्यो दिन सर्वसाधारण चिलीका जनताले अनुभव गरेको आतङ्कको प्रभावबारे संरा अमेरिकी जनतालाई बुझाउँदै जोसे युग्लेसियसले भनेका थिए । अर्को सेप्टेम्बर ११ को त्यो अनुभव केहीको लागि अविश्वसनीय हुनसक्थ्यो । तर, सन् २००१ को सेप्टेम्बर ११ मा संरा अमेरिकामा भएको हमलापछि गुमाएका आफन्तका तस्बिर बोकेका न्युयोर्कका जनतालाई देख्दा चिलीका जनताले त्यो डरलाग्दो दृश्य चिलीको सेप्टेम्बर ११ को घटनासँग मिल्दोजुल्दो भएको अनुभव गरे । एरिल डोर्फम्यानले टिप्पणी गरेका छन्, “बितेका २८ वर्षदेखि नै सेप्टेम्बर ११ मा मजस्ता लाखौँ मानिसको लागि दुःखको दिन बन्दै आएको छ ।”
इतिहासको सम्झनाको लागि मात्र होइन बरू सन् १९७३ को सेप्टेम्बर ११ को बिहान चकनाचुर बनेका हजारौँ हजार सपनाको लागि पनि यो पुस्तक प्रकाशन गरिएको हो । डोर्फम्यानको शब्दमा ‘उनीहरू धेरैको लागि संसार कहिल्यै पनि उस्तै रहेन ।’ दुवै घटना (सन् १९७३ र सन् २००१) मा आतङ्क, अन्योल र अन्त्यहीन भय बाक्लो थियो । चिलीमा त्यो भयानक समय सत्र वर्षसम्म अविछिन्न चल्यो । सैनिक सत्ताकब्जापछि चिलीका एक युवकले टिप्पणी गरेका थिए, “जे भइरहेको थियो, त्यो कुनै डरलाग्दो सपना होइन, वास्तविक नै हो भन्ने कुरा बोध गर्न मलाई लामो समय लाग्यो ।”
एरियल डोर्फम्यानले सेप्टेम्बर ११ मा भएका दुई वटा घटनालाई ज्यादै सशक्त तरिकाले जोडेका छन् । साथै, पुस्तकमा प्रकाशित सबै सामग्रीबारे समीक्षा गरेका छन् ।
पाब्लो नेरूदाका कवितालाई मूलधारले सधैँ राजनीतिको जामा लगाइदिने गरेको छ । उनले आफ्नो कविता ‘निक्सनको सत्यानाश र चिली क्रान्तिको जयको लागि आह्वान’ मा ‘उसको आतङ्कले उसले मारेका मृतकका शिथिल हातहरू’ लाई न्याय दिलाउन माग गरेका छन् ।
हाम्रो देशमा संरा अमेरिकाको लगातारको संलग्नताको परिणामस्वरूप चिलीका जनताले सामना गरेको आतङ्कको प्रस्ट र सान्दर्भिक सम्झनाको लागि यो पुस्तकमा समावेश सामग्री निकै महत्वपूर्ण छन् । चिलीमा संरा अमेरिकी हस्तक्षेप सन् १९७०–७३ सम्म सत्तासीन साल्भाडोर एयेन्डेको पपुलर युनिटी पार्टीको सरकारको बेला उत्कर्षमा पुग्यो । जेम्स ककक्रोफ्टले तयार गरेको समयक्रम मात्र पनि सन् १९६० को दशकदेखि सैनिक विद्रोहसम्म चिलीमा संरा अमेरिका र उसको केन्द्रीय गुप्तचर विभाग सीआईएको सघन हस्तक्षेप प्रस्ट हुन्छ । चिलीमा सैनिक विद्रोह भएको केही दिनपछि क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोले त्यो घटनाबारे दिएको भाषणले सैनिक विद्रोहको पृष्ठभूमिमा भएका घटनाक्रमको निर्भिक र शक्तिशाली राजनीतिक विश्लेषण गरेका छन् ।

पुस्तकले कालान्तरमा सैनिक विद्रोहमा संलग्न भएका चिली र संरा अमेरिकी शक्तिको फासीवादी चरित्रबारे सुरूदेखि विश्लेषण गर्दै आएकाहरूको भनाइलाई पुष्टि गरेको छ । चिलीका लोकप्रिय सङ्गीतकार र गायक भिक्टर हाराले कुख्यात नेसनल स्टेडियममा कैद रहँदा यी पङ्क्ति लेखेका थिए :
“फासीवादको अनुहारले कस्तो भय सिर्जना गर्छ !
उनीहरू चक्कुको धारबाट आफ्नो योजना कोर्छन् ।
उनीहरूलाई कसको के मतलब !
उनीहरूको लागि रगत भनेको पदक बराबर हो ।
मानिसको हत्या गर्नु नायक बन्नु हो ।
भयको गीत गाउनुपर्दा मलाई कति असजिलो लाग्छ ।
कति गा¥हो हुन्छ, आइतबार म बाँचिरहेको त्रासमा बाँच्न ।
कति कष्टपूर्ण हुन्छ, आइतबार म मरिरहेको आतङ्कले मर्न ।”
भिक्टर हारालाई त्यही नेसनल स्टेडियममा हत्या गरिएको थियो ।
संरा अमेरिकाको पैसा र उपदेशविना ‘चक्कुको धार’ ले कोरेको त्यो सैनिक विद्रोह सम्भव थिएन । सन् १९७० मा चिलीमा भएको चुनावमा एयेन्डेले जित्ने सम्भावनाप्रति असन्तोष व्यक्त गर्दै संरा अमेरिकाका तत्कालीन विदेश सचिव हेनरी किसिङ्गरले सफा शब्दमा भनेका थिए, “मलाई थाहा छैन, कुनै एउटा देश कम्युनिस्ट बन्दै गरेको हामी कसरी सहन र टुलुटुलु हेरेर बस्न सक्छौँ । यो त त्यहाँका जनताप्रतिको गैरजिम्मेवारी हो ।”
एयेन्डेले सरकार सम्हालेको समयसम्म चिलीमा संरा अमेरिकाका एक सत्न्दा बढी कम्पनी थिए । तीमध्ये केही त संरा अमेरिकाकै सबभन्दा माथिल्लो स्थानका बहुराष्ट्रिय कम्पनीहरू थिए । जस्तै, संरा अमेरिकी ब्रान्डका बहुराष्ट्रिय कार कम्पनी, तेल कम्पनी, डो एन्ड डुपोन्ट केमिकल र इन्टरनेसनल टेलिफोन एन्ड टेलिग्राफ (आईटीटी) आदि । संरा अमेरिकी कम्पनीहरूले चिलीमा गरेको लगानी कुल १ अर्ब अमेरिकी डलर थियो । सबभन्दा बढी लगानी आईटीटीको थियो । सन् १९७१ को अप्रिल १० मा बिजिनेस वीकमा प्रकाशित समाचारअनुसार आईटीटीको मात्र २० करोड अमेरिकी डलर बराबरको लगानी चिलीमा थियो । अमेरिकी कम्पनीहरूमध्ये सबभन्दा धेरै लगानी गर्ने कम्पनी त्यही थियो ।
चुनावमा एयेन्डे निर्वाचित भएपछि अमेरिकी केन्द्रीय गुप्तचर निकाय सीआईएले व्यापक स्तरमा चिलीमा अस्थिरता फैलाउने प्रयास ग¥यो । वासिङ्टनले कुनै पनि ल्याटिन अमेरिकी देशलाई आफ्नो भविष्य आफैले निर्णय गर्न कदापि दिनेछैन । ‘समाजवादको शान्तिपूर्ण बाटो’ रोजेको कुनै पनि देशलाई कदापि सहनेछैन । एयेन्डेले सम्भावित भविष्यतिर औँल्याउँदै भनेका थिए, “विदेशी पुँजी र साम्राज्यवाद प्रतिक्रियावादी तत्वसँग मिलिभगत गरेर सेनालाई (संविधानको सम्मान गर्ने) उनीहरूको परम्पराबाट विमुख बनाउन खोजिँदै छ ।”
संसारभर बसेका चिलीका जनताको लागि सेप्टेम्बर ११, सन् २००१ को दिन चिलीमा आफूलाई भोगेको आतङ्कको स्मरण गराउने दिन बन्यो । उनीहरूले त्यो दिन आफ्नो प्रियजन मात्र गुमाएनन्, आशा पनि गुमाएका थिए । उनीहरूको लागि त्यो दिन एउटा नमिठो सपनाको सुरूआत थियो । चिलीका जनताले आफ्नो भविष्य आफैले निर्धारण गर्ने हिम्मत गरेका थिए, आफ्नो समाज आफैले निर्माण गर्न खोजेका थिए । त्यसको बदलामा चिलीका जनतालाई दशकौँ दशकसम्म अन्धकार खाल्डोमा जाकियो । त्यो खाडलबाट उनीहरू अझै पनि माथि आउन सकेका छैनन् । त्यो सैनिक विद्रोहको कुप्रभाव अझै पनि चिलीले भोगिरहेको छ । चिलीले त्यस्तो इतिहास त्यसअघि कहिल्यै सामना गरेको थिएन । सन् १९७३ मा पिनोचेले त्यो कालो इतिहास मेट्ने दुष्प्रयास गरे । नयाँ पुस्तालाई आफ्नो देशको इतिहासमा भएको त्यो कालो समय थाहा नहोस् भन्ने उनको सोच थियो । प्याट्रिसिओ गुजमानले सन् १९९७ मा ‘नमेटिने सम्झना’ (अब्स्टिनेन्ट मेमोरी) नामको वृत्तचित्र बनाएका थिए । त्यो वृत्तचित्रमार्फत सेप्टेम्बर ११ को सैनिक विद्रोहको दिन राष्ट्रपति भवनमाथि भएको हमलाका तस्बिर चिलीका विश्वविद्यालयका विद्यार्थीलाई पहिलोपटक देखाइएको थियो । आफ्नो देशको दबाइएको इतिहास देखेर विश्वविद्यालयका विद्यार्थीले पत्याएका समेत थिएनन् । त्यो कुरूप इतिहासले उनीहरूलाई आक्रोशित बनाएको थियो ।
केही मानिस आतङ्कको त्यो विगत सम्झन चाहन्नन्, कोही त्यसबाट अछुतो रहन खोज्छन् भने कोही त्यसलाई बिर्सन चाहन्छन् । तर, हामीले हाम्रो विगतको सामना नगरी सुखै छैन । त्यसबाट सिकेर सत्यको खोजी गर्नुपर्छ । अब ‘त्यो देशद्रोही निर्मम र तीतो समयमाथि जितेर’ आफ्नो अन्तिम समयमा चिलीका जनताको नाममा राष्ट्रपति एयेन्डेले दिएको रेडियो सन्देशमा निकै सुन्दर तरिकाले व्याख्या गरेको सपना पूरा गर्ने दिशातिर अघि बढ्नुपर्छ । एयेन्डेले भनेका थिए, “इतिहास हाम्रो हो र जनताले नै इतिहास बनाउनेछन् ।”
‘Chile : The Other September 11’ पुस्तकको भूमिका
Leave a Reply