भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
हालैमात्र भक्तपुर नगरपालिकाले सार्वजनिक गरेको भक्तपुर नगरपालिका भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या लगभग २ लाख ५० हजारलाई नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या लगभग १० लाखसँग दाँज्दा झन्डै २२ वर्षअगाडि मैले स्नातकोत्तर तहको लागि बुझाउनुपर्ने शोधपत्र तयार गर्दाताकाको कुरा याद आयो । शोधपत्रको शीर्षक ‘भक्तपुर नगरपालिका प्रवेशमा लगाएको शुल्कले पर्यटकको सङ्ख्यामा पारेको असर’ थियो । शोधपत्र तयारीको निम्ति बनाइएको प्रश्नावलीमध्ये एउटा प्रश्न थियो, ‘नेपाल भ्रमणमा भक्तपुर किन परिएन ?’ । यो प्रश्न नेपाल भ्रमण गरेर भक्तपुर नआउने पर्यटकको निम्ति थियो । भक्तपुर नआइकनै नेपाल भ्रमण सकाएर फर्केका केही पर्यटकलाई भक्तपुर किन नआएको भनेर शोधदा त्यसमध्ये एक पर्यटकले “भक्तपुर सहर काठमाडौँ र पाटनजस्तै भएको सुनेको, त्यसैले आफू भक्तपुर नगएको” भनेर जवाफ दिए । एकैजना पर्यटकले भनेको भए पनि यो विचारले धेरै पर्यटकको विचारलाई प्रतिनिधित्व गरेको हुनुपर्छ ।
हुन पनि भक्तपुरको पर्यटन विकासमा प्रमुख चिन्ताको विषय भनेको भक्तपुर देशको राजधानी काठमाडौँबाट निकै नजिक रहेको भए पनि नेपाल भित्रिने पर्यटकमध्ये एकचौथाइ मात्रै भक्तपुर आउनु हो । यही विषयलाई सम्बोधन हुने किसिमले ढिला नगरी भक्तपुर नगरपालिकाले भिन्नै किसिमको अभियानबारे सोच्नु पर्ने हो कि ?
यो सत्य हो, भक्तपुर, काठमाडौँ र पाटनले उपत्यकाको समृद्ध नेवाः सम्पदाको हिस्साको रूपमा सांस्कृतिक समानतालाई साझा गर्दछ तर पाटन र काठमाडौँभन्दा भक्तपुर फरक रहेको अनुभव गर्न सकिने थुप्रै विशेषताहरू छन् । मध्ययुगीन कला र शान्त वातावरणयुक्त भक्तपुरलाई प्रायः तीनमध्ये सबैभन्दा राम्रोसँग संरक्षित सहर मानिन्छ । काठमाडौँ र पाटनको विपरीत भक्तपुरका सडकहरू हडबड, कोलाहल र सवारीसाधनको हलचलबाट धेरै हदसम्म मुक्त छन्, जसले गर्दा यहाँका अनुपम वास्तुकला, परम्परागत शिल्प र स्थानीय जीवन शैलीको अन्वेषणको लागि उपयुक्त छ । काठमाडौँ र पाटनमा प्रायः पाइने भिडयुक्त आधुनिक अवरोधबाट मुक्त भक्तपुरका विशेष आकर्षणहरू बिस्का जात्रा र सापारुजस्ता सहरका अनुपम चाडपर्वहरू र यहाँको प्रसिद्ध माटोको भाँडाले सांस्कृतिक सम्पदाले समृद्ध भक्तपुरलाई आफैमा छुट्टै र मूल्यवान गन्तव्य बनाएको छ । त्यसैले समानताहरू हुँदाहुँदै पनि अद्वितीय सांस्कृतिक धरोहर बोकेको भक्तपुर अन्य सहरहरूभन्दा भ्रमण गर्न लायक छुट्टै सहर रहेको छ ।
काठमाडौँ उपत्यकाका तीन पुरातन सहरहरूमध्ये एकको रूपमा युनेस्को विश्व सम्पदामा सूचिकृत लाय्कु समेटिएको भक्तपुरलाई प्रायः खुला सङ्ग्रहालय मानिन्छ । यहाँको प्यागोडा शैलीका मन्दिरहरू, मल्लकालीन दरबार र ५५ झ्याल दरबार तथा ङातापोल मन्दिरको लागि भक्तपुर सहर प्रसिद्ध छ । सहरको सांस्कृतिक सम्पदा र कलात्मक विरासतले यसलाई नेपालको सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाएको छ । यति हुँदाहुँदै पनि भक्तपुरलाई पाटन र काठमाडौँजस्तै छ भन्ने धारणा विदेशी पर्यटकहरूमा हुनु हाम्रो प्रचार प्रसारमा कमी भएको हो कि भनेर घोत्लिनु आवश्यक छैन र ?
भक्तपुरलाई काठमाडौँ र पाटनजस्तै सांस्कृतिकरूपमा एउटै नजरले हेर्ने पर्यटकहरूलाई अन्य सहरहरूभन्दा फरक भएको विश्वस्त पार्न भक्तपुरले प्रदान गर्ने अनौठो र रमाइलो अनुभवलाई विशेष जोड दिनुपर्छ । भक्तपुरको अद्वितीय गुणहरूलाई जोड दिनुका साथै परम्परागत शिल्पहरूमा केन्द्रित विशेष भ्रमणहरू, नेवारी खानाहरू प्रस्तुत गर्ने खाना पकाउने कक्षाहरू, सूर्योदय वा सूर्यास्तमा सहरको पुरातन वास्तुकला कैद गर्ने फोटोग्राफी कार्यशालाजस्ता क्रियाकलापलाई भक्तपुरमा मात्र उपलब्ध हुने भनी विशेष महसुस गराउनुपर्छ । स्थानीय कालीगडहरूसँग मिलेर पर्यटकहरूले माटोको भाँडा बनाउने वा काठ कुँद्नेजस्ता अनुभवहरू पाउँदा सहरको संस्कृतिसँग ठोस सम्बन्ध बनाएर भक्तपुर बसाइँलाई लामो बनाउन सकिन्छ । कम अन्वेषण गरिएका क्षेत्रहरूसँग जोड्ने विषयगत भ्रमणहरू वा सांस्कृतिक पदमार्गहरू विकास गर्नाले पर्यटकहरूले यस क्षेत्रमा नयाँ दृष्टिकोण पाउनेछन् । यसलाई घुम्नैपर्ने गन्तव्यको रूपमा देखाउँदै सकारात्मक समीक्षा, आकर्षक सामग्री र यात्रा ब्लगरहरूसँग साझेदारीको माध्यमबाट अनलाइन दृश्यता बढाए काठमाडौँ र पाटनसँग भक्तपुर मिल्दोजुल्दो छ भन्ने धारणालाई परिवर्तन गर्न मद्दत मिल्नेछ । आफ्नो सांस्कृतिक पहिचान र गौरवलाई बलियो बनाउन सांस्कृतिक सहर भक्तपुरले आफ्नो अद्वितीय सम्पदा, कला र परम्परालाई विश्वसामु पाटन र काठमाडौँभन्दा फरक रहेको सन्देश पु¥याउन सके पर्यटन विकासलाई निश्चय नै सकारात्मक असर पार्नेछ ।
सांस्कृतिक कार्यक्रमहरूको व्यापक दायरालाई आकर्षित गर्ने चाडपर्वहरू व्यवस्थित र प्रवद्र्धन गर्दै लानुपर्छ । सांस्कृतिक रातको व्यवस्थापन गर्दै अद्वितीय अनुभवहरू खोजिरहेका पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । त्यसैगरी, वातावरणप्रति सचेत पर्यटकहरूलाई आकर्षित गर्न होमस्टेको प्रवद्र्धन गर्दै भक्तपुरको अनुभव लिने दिगो तरिकाहरू अपनाउन पनि सकिन्छ ।
लक्षित मार्केटिङ अभियानहरूमार्फत भक्तपुरलाई हेर्नैपर्ने गन्तव्यको रूपमा सन्देश प्रवाह गर्नुपर्छ । सामाजिक सञ्जाल, ट्राभल ब्लगहरू र अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूसहित विभिन्न प्लेटफर्महरूमा परम्परागत चाडपर्वहरू, स्थानीय शिल्प कौशल र वास्तुकला चमत्कारजस्ता यसको अद्वितीय सांस्कृतिक सम्पदालाई सक्दो प्रचार गर्नुपर्छ । टुर अपरेटरहरूसँग मिलेर एकीकृत प्याकेजहरू सिर्जना गर्दा भक्तपुरलाई काठमाडौँ उपत्यकालाई समेट्ने यात्रा कार्यक्रममा प्रमुख गन्तव्यको रूपमा समावेश गर्न सकिन्छ । भक्तपुरको सौन्दर्य र सांस्कृतिक महत्वलाई प्रदर्शन गर्न युट्युव, फोटोग्राफरहरू र मिडिया आउटलेटलाई उपयोग गर्दा विश्वव्यापीरूपमा व्यापक पर्यटकसम्म पुग्छ ।
चीनको राजधानी पेचिङको नामबाट आएको चिनियाँ परिकार ‘पेचिङ डक’ विश्व प्रख्यात छ । यो हाँसको परिकार उक्त ठाउँको परिचय भएको छ । पेचिङ भ्रमण गर्नेले यो परिकारको स्वाद चाख्छ नै । त्यसरी नै भक्तपुरको सन्दर्भमा जुजु धौलाई भक्तपुरको परिचय बनाउन सकिन्छ । अहिले बजारमा जस्तोसुकै दही जुजु धौको नाममा बिक्री भइरहेको छ । खास विशेषता भएमात्र जुजु धौको नाम राख्न पाइने नियम बनाउनमा थोरै चासो नगरपालिकाले दिँदा भक्तपुरको पहिचानमा अर्को विशेषता थपिन्छ । पेचिङ डकजस्तै ‘जुजु धौ’ लाई अन्तर्राष्ट्रिय मान्यता दिन बहुआयामिक दृष्टिकोण अपनाउन सकिन्छ । जुजु धौलाई विश्वव्यापी खाद्य उत्सवहरू, पाक कला आदानप्रदान र पर्यटन अभियानहरूमार्फत प्रवद्र्धन गर्नाले यो परिकारलाई थुप्रै पर्यटकमाझ परिचित गराउन सकिन्छ । जुजु धौलाई मेनुमा सबभन्दा पहिला आउने बनाउन प्रख्यात शेफहरूसँगको सहकार्यले यसको आकर्षण बढाउन सक्छ । यसको अतिरिक्त दहीको सांस्कृतिक महत्व, परम्परागत तयारी विधि र अद्वितीय स्वाद वरिपरि आकर्षक कथाहरू सिर्जना गर्नाले विश्वभरका खानाका पारखीहरूलाई आकर्षित गर्न सकिन्छ जसले जुजुधौलाई बिस्तारै विश्वव्यापीरूपमा मान्यता प्राप्त परिकार बन्न मद्दत गर्छ ।
यसरी विभिन्न खाले नवीनतम सोचमार्फत सांस्कृतिक सहर भक्तपुर पाटन र काठमाडौँभन्दा फरक रहेको विदेशी पर्यटकलाई अनुभूति गराएर भक्तपुरले काठमाडौँको निकटता र यहाँको समृद्ध सांस्कृतिको फाइदा उठाउँदै नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्याको एक चौथाइबाट हाललाई एकतिहाइ पु¥याउने लक्ष्य बनाउन सकिन्छ कि ?
Leave a Reply