भर्खरै :

मध्यपूर्वमा हत्याको भूतले अझ बढी वैचारिक अराजकता बढाउने

मध्यपूर्वमा हत्याको भूतले अझ बढी वैचारिक अराजकता बढाउने

जुलाई २० देखि जुलाई ३० सम्म मैले लेबनान भ्रमण गरेँ र त्यहाँका मानिसहरूसँग घुलमिल भएँ । आर्थिक र राजनीतिक सङ्कटको बाबजुद मैले त्यहाँका मानिसहरू धेरै मिलनसार भएको पाएँ र आनन्द लिएँ । तिनीहरूको देश २०१९ देखि आर्थिक रूपमा सङ्कटमा छ । म एक हप्ता बसेँ । त्यहाँको जीवन कस्तो छ भन्ने झलक पाउन म बेरुतको एउटा दक्षिणी उपनगर, अल–ओजाइ नामको फ्ल्याटमा बसेँ । यी दक्षिणी उपनगरका बासिन्दाहरू (सामूहिक रूपमा अरबी शब्द ‘उपनगर,“ दहियाहले चिनिन्छ) ध्वस्त ब्लकहरूमा बस्छन्, जसमध्ये धेरैजसो विगतका युद्धहरूका दागहरू हुन् ।
दहियाहमा हिजबुल्लाहको सैन्य र राजनीतिक प्रभाव छ र बलियो पकड कायम राख्छ । त्यहाँ लेवनान सरकारद्वारा लागु गरिएको कानुनको शासन छैन र विभिन्न पहिचानका करिब १० लाख मानिसहरू (लेबनानी, सिरियाली र प्यालेस्टिनीहरूसहित) गम्भीर परिस्थितिमा बसिरहेका छन् ।
लेबनानमा मुख्यतया शिया दहियाहका बासिन्दाहरूले गरिबी र असुरक्षा कायम रहनेजस्ता धेरै चुनौतीहरू सामना गरिरहेका छन् । यद्यपि, केहीले मलाई यो क्षेत्र खतरनाक हुनसक्छ भनी चेतावनी दिए । मैले यसका धेरै मानिसहरू जस्तै हिज्बुल्लाह सदस्यहरूले सक्रियरूपमा र निरन्तररूपमा यसको सुरक्षा कायम राख्नुको कारणले गर्दा दहियाहमा बसोबास सुरक्षित भएको पाएँ । हिजबुल्लाहले दहियाहमा सफलतापूर्वक शैक्षिक, स्वास्थ्य र मिडिया संस्थाहरू स्थापना र सञ्चालन गरिरहेको छ ।
दहियाह अटल गरिबीमा डुबेको बेला, सहरी क्षेत्र बेरुत जुन दहियाहबाट केही किलोमिटरको दूरीमा अवस्थित छ – अग्ला अग्ला घरभवन र फ्यान्सी कारहरूले भरिएको छ जसले हामीलाई बेरुतमा हिँड्दा हामी एउटा धनी युरोपेली सहरमा भएको महसुस गराउँछ । यो सामाजिक विभाजनले देशको अर्थतन्त्रमा भार थपिरहेको छ ।
जुलाई ३० मा इजरायलले दहियाहमा आक्रमण गरी वरिष्ठ हेजबुल्लाह सैन्य कमान्डर फाउद शोकोरको हत्या ग¥यो । उनीमाथि तीन दिनअघि इजरायली–नियन्त्रित गोलान हाइट्समा १२ जनाको मृत्यु हुने गरी भएको रकेट आक्रमणको लागि जिम्मेवार व्यक्ति भएको आरोप लगाइयो । हिजबुल्लाहले निस्सन्देह, प्रतिशोधात्मक हमला सुरु गरेर आक्रमणको बदला लिनेछ† जे भए पनि, गत अक्टोबरदेखि इजरायल–लेबनानी सीमामा लगभग दैनिक, टिट–फर–ट्याट (जस्तालाई तस्तै) आक्रमणहरू भइरहेका छन् ।
हमास पोलिटब्युरो प्रमुख इस्माइल हनियाको गएको बुधबार गरिएको हत्याले यस क्षेत्रमा बढ्दो तनावलाई झन् बढायो । यसले मध्य पूर्वलाई खतरनाक द्वन्द्वको नयाँ चरणमा धकेलेको छ । किनभने, इरान समर्थित हिजबुल्लाह र हमासबिच बलियो सम्बन्ध रहेको छ जसलाई इरानले प्रायः ‘प्रतिरोधको अक्ष’ को रूपमा प्रचार गर्दछ ।
हानियाको हत्याअघि गाजापट्टीमा इजरायली हवाई आक्रमणमा जुलाई ३१ मा दुई अल जजीरा पत्रकारको हत्या र अक्टोबर ७ देखि इजरायली अधिकारीहरूले हिरासतमा राखेका प्यालेस्टिनीहरूले यातना र दुव्र्यवहारको सामना गर्नुपरेको दस्ताबेजको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनको विमोचनसँगै थप बढ्दै गएको छ । बेन्जामिन नेतान्याहुको कट्टरपन्थी सरकारसँगको सम्बन्ध तोड्न इजिप्टका जनताले आफ्नो सरकारलाई आह्वान गर्दै गर्दा अरब संसारमा आक्रोश व्याप्त छ ।
सामान्य लेबनानीहरू एक सर्वाङ्गीण क्षेत्रीय युद्ध थालनी हुनसक्ने भनी डराउँछन् जसले उनीहरूको देशको सङ्कटग्रस्त अर्थतन्त्रलाई थप पतनतिर धकेल्नेछ । यद्यपि, तिनीहरू प्यालेस्टिनी ध्येयको समर्थनमा दृढ रहन्छन् र प्रायः इजरायलीहरूलाई ‘विश्वासघाती’ मानिसहरूको रूपमा निन्दा गर्छन् ।


सन् १९९८ मा मिसौरीको सेन्ट लुइसस्थित एउटा रेस्टुरेन्टमा पश्चिमी सञ्चारमाध्यममा अरबहरूको नकारात्मक स्टिरियोटाइपहरूविरुद्ध लड्ने लोकप्रिय अरब–अमेरिकी शिक्षाविद् ज्याक शाहिनसँग खाजा खाँदा मैले उहाँसित सोधेँ कि भविष्यमा हिजबुल्लाहले इजरायली बमबारीबाट बच्न सक्छ कि सक्दैन ? शाहीनले मलाई जवाफ दिनुभयो कि इजरायलले कहिल्यै हिजबुल्लाहलाई ‘मेटाउन’ सक्षम हुनेछैन किनभने यो समूह एक ‘विचार’ र ‘विश्वास’ हो जुन इजरायल जतिसुकै शक्तिशाली भए तापनि सधैँ जीवित रहनेछ ।
आज शाहीनका शब्दहरूमाथि विचार गर्दा, मलाई अरब प्रतिरोधी समूहहरूविरुद्ध इजरायली प्रतिशोधात्मक कारबाहीको लागि अमेरिकाको निरन्तर आशीर्वाद मूर्खताजस्तो लाग्छ ।
विगत नबुझेसम्म हामी लेबनानको वर्तमान परिवर्तनलाई आकलन गर्न सक्दैनौँ । लेबनानीहरू सुधार र सरकारको एक स्थिर प्रणाली चाहन्छन्, तर तिनीहरू आफ्नो देशको मामिलामा अमेरिकी हस्तक्षेप चाहँदैनन् किनभने उनीहरूले यसलाई सहुलियत दिने दिशामा एक कदमको रूपमा हेर्छन् । जबसम्म प्यालेस्टिनी मुद्दाको समाधान पहिले नै हस्ताक्षर गरिएका अन्तर्राष्ट्रिय सम्झौताहरूमा आधारित हुँदैन, लेबनानी र मध्यपूर्वका जनता सधैं द्वन्द्वको साक्षी बनिरहनेछन् ।
कूटनीतिक समाधानको तत्काल आवश्यकता छ किनभने पूर्णस्तरको युद्धले कसैलाई फाइदा गर्दैन । हमास र इजरायलको बिचमा युद्धविराममा पुग्न ध्यान केन्द्रित हुनुपर्छ, किनकि हिजबुल्लाहले आफ्नो ध्येय हासिल गरेपछि इजरायलमा गोली चलाउन बन्द गर्ने बताएको छ ।
जबसम्म प्यालेस्टिनीहरूको मातृभूमि हुँदैन र सिरियाले गोलान हाइट्सको स्वामित्व प्राप्त गर्दैन, हामी अझै धेरै ज्यान गुमाएको देख्नेछौँ । एक पटक न्यायसङ्गगत र दिगो अरब–इजरायली शान्ति सम्झौता पुगेपछि, लेबनानी जनताले बलियो सरकारको स्थापना, उत्पादन र निर्यात गर्न सक्ने कारखानाहरूको निर्माण र आफ्नो कृषि प्रणालीको पुनःस्थापनाको साथ आफ्नो देशको पुनर्निर्माण गर्न सक्छन् ।
(सम्पादकको नोट : मोहम्मद एल–बेन्डरी, सीजीटीएनका लागि समसामयिक मामिलाहरूमा विशेष टिप्पणीकार, एक कायरोमा बसोबास गर्नुहुने स्वतन्त्र लेखक र स्वतन्त्र अनुसन्धानकर्ता हुनुहुन्छ । उहाँका टिप्पणीहरू प्रमुख अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूमा प्रकाशित भइरहन्छन् ।)

अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *