भर्खरै :

सुसंस्कृत समाज निर्माणमा शिक्षकको योगदान महत्वपूर्ण हुने

नयाँ समाज निर्माण गर्न योग्य र असल नागरिक तयार गर्नु एक्काइसाँै शताब्दीको आवश्यकता हो । यस्तो सुसंस्कृत समाज निर्माण गर्न शिक्षकको महत्वपूर्ण हात हुन्छ । प्रत्येक नागरिकलाई समाजवादी चेतना दिने तथा संस्कृति जगाउने काममा शिक्षकहरू जुटिरहनुपर्छ । सैद्धान्तिक, राजनीतिक, वैचारिक र सांस्कृतिक स्तर भएन भने जतिसुकै पढेलेखेका भए पनि उनीहरू जनतामाझ भिज्दैनन् । विद्यालय र कलेजमा आफ्नो विषय पढाउँछन्, रोजगारी पनि पाउँछन् । तर, नागरिकहरू देशभक्त हुँदैनन्, देश र जनताको सेवामा जुट्दैनन् । तिनीहरू जागिर पकाउने हिसाबले मात्र काम गर्छन् । तिनीहरूमा समाजको निम्ति शिक्षा वा प्राज्ञिक क्षेत्रमा ठुलो योगदान गर्ने, जनताको सांस्कृतिक स्तर उठाएर समाज परिवर्तन गर्ने भावना हुँदैन, न त उनीहरूको त्यो उद्देश्य नै हुन्छ । अनि आत्मकेन्द्रित शिक्षकहरू बढी भएरै के गर्ने ?
शिक्षकहरू नदेखिने क्रान्तिकारी हुन् । समयको गतिसँगै समाजलाई अघि बढाउन, शिक्षाको किरण गाउँ गाउँ र बस्ती बस्तीसम्म पु¥याउन शिक्षकहरू लाग्नुपर्ने हुन्छ । शिक्षकहरूले जनतामाझ माक्र्सवाद र लेनिनवादका मूल सिद्धान्तलाई पथ प्रदर्शकको रूपमा किन उपयोग गर्ने भन्नेबारे बुझाउनुपर्छ । भनिन्छ, शिक्षकहरू बढी जानकार, समाज परिवर्तनका बाहक, अन्धविश्वास र कुरीतिविरोधी, बाटो देखाउने मार्गदर्शक हुन् । राजनीतिमा लागेका शिक्षकहरू त अझ क्रान्तिक्रारी, परिवर्तनकामी र समाज बदल्ने अगुवा हुन् । तर, जीवनको मूल्य र जीवनलाई उपयोग गर्ने विषयमा जानकारी तथा सचेतताकै अभावमा शिक्षकहरू घरधन्दामा व्यस्त भएर समाजबारे चासो राख्दैनन् । आफ्नो व्यक्तिगत स्वार्थ या सेवा सुविधामा मात्र पल्कने शिक्षकहरू समाजका प्रिय हुँदैनन् । अर्थशास्त्र, राजनीतिशास्त्र, सामाजिकशास्त्रका जानकार शिक्षकहरूको ज्ञान, अनुभव, सीप, कला, विद्यालय र कलेजका विद्यार्थीलाई मात्र बाँडेर पुग्दैन । विद्यालयको प्रमाणपत्र मानिस सुशिक्षित र सुसंस्कृत बनाउने साधन होइन ।
शिक्षकहरूले जागिरलाई परिवार पाल्ने वस्तु मात्र ठान्नु हुँदैन । समाजमा खानपान र लुगाफाटामा कम खर्च गरेर पनि ज्ञान–विज्ञान, कला–साहित्यको बारेमा थाहा पाउनुपर्छ । मीठो मीठो खाएर, पसलमा चियागफ गरेर समाज बदलिँदैन । समाज बदल्न शिक्षित र सचेतवर्गले हरेक पक्षका पुस्तकहरू गहिरिएर अध्ययन गर्नुपर्छ । त्यसबारे जनतालाई जानकारी दिनुपर्छ । देशको स्वतन्त्रता र मुक्ति अनि विकासमा शिक्षकहरूको ठुलो योगदान हुन्छ । यस अर्थमा देशको स्वतन्त्रताका आधारहरू शिक्षकहरू हुन; जनतालाई जागरूक बनाउने, आन्दोलित बनाउने शिक्षकहरू हुन् । अमेरिकी स्वतन्त्रता आन्दोलनको बेला शिक्षकहरू कक्षामा आन्दोलनबारे चर्चा गर्थे । शिक्षकले बेलायती साम्राज्यवादभन्दा विद्यार्थीहरूले मुर्दावाद भन्थे । अमेरिकी आक्रमणको बेला भियतनामी शिक्षकहरूले गुफाजस्तो ठाउँमा विद्यालय सञ्चालन गरेर अमेरिकी वमवर्षक विमानलाई गोली हानी खसाल्ने ज्ञान दिन्थे । चिनियाँ जनताका नेता माओ त्सेतुङ शिक्षक हुनुहुन्थ्यो । अफ्रिकी स्वतन्त्रता आन्दोलननमा पनि धेरै नेता शिक्षक थिए । नेपालमा पनि पटकपटक आन्दोलन भयो । उक्त आन्दोलनमा शिक्षकहरू सहभागी भए† शिक्षकहरूले मजदुर, किसान, विद्यार्थी, युवा, महिला तथा सर्वसाधारणलाई उत्साहित गरे, आन्दोलित या सचेत पारेका थिए । त्यस्तो काम आन्दोलन र चुनावको बेलामा मात्र भएर पुग्दैन । शिक्षकहरू जो जहाँ रहे पनि आदर्श समाज स्थापना गर्न, शोषणरहित समाज स्थापना गर्न जहिले पनि परिवर्तनका बाहक भएर जनतामाझ भिजिरहनुपर्छ ।
कामदार जनताको सांस्कृतिकस्तर नउठेसम्म, सचेत र सङ्गठित नभएसम्म कुनै पनि देशमा परिवर्तन सम्भव छैन । परिवर्तन भए पनि त्यो स्थिर हुनेछैन । अतः कामदार जनताको सांस्कृतिक स्तर उठाउने काम पार्टी नेता र कार्यकर्ताले झैँ शिक्षकहरूले पनि गर्नु जरूरी छ । शिक्षकहरू जुनसुकै विषय अध्ययन गरे पनि विदेशीको ज्यामी बन्ने या परिवार पाल्ने उद्देश्यमात्र राख्नु हुँदैन । देश र जनताको हितमा काम गर्छौँ भन्ने भावनाले अध्ययन गर्नुपर्छ । अनि मात्रै आफूले उच्च शिक्षा हासिल गरेको मानिन्छ । अध्ययन नगरी किताब दराजभित्र थन्काउनु र आफ्नो ज्ञान समाजमा नबाँड्नु या पत्रपत्रिकामा लेख लेखेर सचेत पार्ने काम नगर्नु उस्तै हो । दराजमा किताब थन्काएर पढेलेखेको ठान्नु र डिग्री हासिल गरेर आफूलाई सभ्य, शिक्षित र विद्वान ठान्नु पनि उस्तै हो । त्यसरी विद्वताको बयान गरेर समाज बदल्दैन, जनता क्रान्तिकारी हुँदैन । अतः क्रान्तिकारी शिक्षकहरूको उद्देश्य दिन कटाउने माना पचाउनेमा सीमित हुनुहुँदैन । आफ्नो पेसाको कामबाहेक कसले कति देश र जनताको निम्ति समय खर्च गरे समीक्षा गर्ने बेला आएको छ । यस्ता कुरा शिक्षक सम्मेलनमा शिक्षकहरूले छलफल गर्नु आवश्यक छ । वादेवादे जायते तत्व बोध भनेझैँ अन्ततः सार तत्व पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *