नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
११ सेप्टेम्बर, १९७३
सदाको बिहानझैँ त्यो बिहान पनि म सखारै ब्युझेँ । भिक्टर अझै निदाएकै थियो । म चुपचाप उठेँ र चाँडै विद्यालय जाने तयारी गर्न मान्युलालाई उठाउनतिर लागेँ । चमेना सकाएर मान्युला र म विद्यालय जान तयार भयौँ । कारबाट जाँदा विद्यालय त्यति टाढा होइन तर आकलझुकलमात्र भेटिने सार्वजनिक यातायातका साधनमा जान गा¥हो थियो । खुसीको कुरा, हामीसँग थोरै पेट्रोल बचेको थियो । बाटो सुनसान प्रायः थियो, बाहिर निस्कने हामीमात्र हौँ कि भन्ने भान भइरहेको थियो । भिक्टर हारा किराना पसलमा पाउरोटी किन्न बिहानै बाहिर निस्कने घरमा काम गर्ने महिलाहरू (मेड) बाहेक सबैले घरभित्रै बस्ने निर्णय गरेजस्तो महसुस गर्दै थियौँ । एयेन्डेको कार आफ्नो नियमित सुरक्षा व्यवस्थासहित अभेनिदा कोलोनतर्फ हुइँकिएको खबर लिएर मोनिका घर फर्किन् । राष्ट्रपतिको आगमन सामान्य समत्न्दा चाँडो थियो । पाउरोटीका लागि लाइन बसेका र पत्रिका पसलमा अखबार पढिरहेका मानिसहरू त्यो बिहानको अवस्था देखेर लख काट्दै थिए आज पक्कै केही हुँदै छ ।
मान्युएल डि सालास विद्यार्थीले भरिभराउ थियो । त्यहाँ बन्दको कुनै सङ्केत थिएन । त्यहाँका विद्यार्थीमध्ये थोरैका परिवारमात्र पपुलर युनिटी पार्टीका समर्थक थिएनन् । घर फर्किँदै गर्दा बाटोमा मैले कारको रेडियो खोलेँ र भाल्पारायसो क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको समाचार सुनेँ । सिपाहीहरूको सक्रियता अस्वाभाविकरूपमा बढिरहेको थियो । मजदुर सङ्गठनहरूले सबै मजदुरहरूलाई आ–आफ्ना कार्यस्थलमा भेला हुन आकस्मिक उर्दी जारी गरेका थिए ।
भिक्टरलाई सबै खबर सुनाउन म हतारमा घर पुगेँ । ऊ उठिसकेको थियो र पपुलर युनिटी पार्टीलाई समर्थन गर्ने रेडियो मागालेन्सलगायतका रेडियो सुन्न फ्रिक्वेन्सी बटारिरहेको थियो । “त्यो क्षण आए जस्तो छ, साँच्चै सुरु भएछ,” हामीले एक–अर्कालाई भन्यौँ ।
त्यो बिहान प्राविधिक विश्वविद्यालयमा गृहयुद्ध र फासीवादको त्रासदीसम्बन्धी विशेष प्रदर्शनी आरम्भ हुँदै थियो । प्रदर्शनीको उद्घाटन समारोहमा भिक्टरले गीत गाउने कार्यक्रम पनि निर्धारित थियो । समारोहमा एयेन्डेले सम्बोधन गर्ने कार्यक्रम पनि थियो । मैले भनेँ, “त्यो कार्यक्रम पनि हुँदैन होला । तर, म त्यहाँ जान्छु । तिमी गएर विद्यालयबाट मान्युलालाई लिएर आउनू । यस्तो बेला तिमीहरू सबै घरमा हुनु जाती हुनेछ । म खासमा के भइरहेको छ बुझ्न केही टेलिफोन कल गर्छु,” भिक्टरले भन्यो ।
म आँगनमा निस्किँदा हाम्रा छिमेकीहरू पनि आ–आफ्ना आँगनमा जम्मा भइरहेका थिए । उनीहरू उत्साहित भएर ठुलठुलो स्वरमा बोलिरहेका थिए । मानौँ, उनीहरूले उत्सव मनाउन थालिसकेका थिए । मैले उनीहरूलाई हेर्दै नहेरी खुरुखुरु बाहिर निस्केँ तर कारको ऐनामा त्यहाँ भेला भएका महिलामध्ये एउटीले बसेर चिलियाली साङ्केतिक हाउभाउमा मलाई धारे हातले सरापिन् ।
विद्यालय पुग्दा सबै स–साना केटाकेटीलाई घर फर्किने सूचना दिएको जानकारी पाएँ । शिक्षक–शिक्षिका र माथिल्ला कक्षाका विद्यार्थीलाई विद्यालयमै रहने सूचना थियो । म मान्युलालाई लिएर घर फर्केँ । फर्किँदै गर्दा बाटोमा मैले रेडियोमा एयेन्डेको सम्बोधन सुनेँ । उनको आवाज त्यति प्रस्ट भने सुनिएको थिएन । मोनेडा दरबारबाट एलेन्डेको आवाज सुन्दा मन अलि ढुक्क पनि भयो….तर उनको वक्तव्य बिदाइ मन्तव्यजस्तो थियो ।
भिक्टर रेडियो सुनिरहेको थियो । पपुलर युनिटी समर्थित सबैजसो रेडियो बन्द भएकाले एकप्रकारको अन्योल पनि व्याप्त थियो । ती रेडियो स्टेसनका एरियल या त बमले ध्वस्त भइसकेका थिए नभए सेनाले त्यहाँ कब्जा जमाइसकेको थियो । एयेन्डेको आवाजलाई सैनिक घुनले विस्थापित गरिसकेको थियो । एयेन्डे भन्दै थिए, “… तपाईँहरूलाई सम्बोधन गर्ने पक्कै पनि यो मेरो अन्तिम मौका हो … म कदापि राजीनामा गर्दिनँ ¤… जनताको बफादारिताप्रति म मेरो जीवन अर्पण गर्नेछु .. हजारौँ–हजार चिलीका जनताको आत्मसम्मानपूर्ण स्वविवेकमा हामीले छरेको बीज त्यति सजिलै नष्ट गर्न नसकिनेमा म विश्वस्त छु… न त आपराधिकता न दमनले नै इतिहासको गति रोक्न सकिनेछ । इतिहास हाम्रो हो र जनताले इतिहास निर्माण गर्नेछन् ।..”
आफ्नो मृत्युबारे जानेको एक जना वीर मानिसको भाषण थियो त्यो तर त्यतिबेला हामीले त्यो भाषण टुक्रा–टुक्रामा मात्र सुन्न सक्यौँ । बिचमा भिक्टरको फोन आयो.. मलाई एयेन्डेको भाषण सुन्न गा¥हो भइरहेको थियो ।
भिक्टर घरमा मलाई नै कुरिरहेको थियो ताकि ऊ बाहिर निस्कन सकोस् । मजदुर महासङ्घ (CUT) को उर्दीबमोजिम उसले आफ्नो कार्यस्थल प्राविधिक विश्वविद्यालयमा जाने निर्णय ग¥यो । उसले चुपचाप हामीसँग बचेको पेट्रोलको अन्तिम भाँडो कारमा खन्यायो । कुनै आकस्मिक समयको लागि त्यो पेट्रोल जोगाएका थियौँ । उसले पेट्रोल खन्याइरहँदा हाम्रो एक जना छिमेकी नेसनल एयरलाइन्सका विमान चालकले आफ्नो घरको बालकोनीबाट हेपेर भिक्टरलाई केही भन्दै थियो । जवाफमा भिक्टर मुसुक्क मुस्कुरायो मात्र ।
त्यतिबेला राम्ररी बिदा गर्न पनि असम्भव थियो । यदि त्यसो गरेको भए म उसलाई छोड्ने थिइनँ र कहिल्यै जान दिने पनि थिइनँ । त्यसकारण, हामी संयमित थियौँ । “ममिता, म सकेसम्म चाँडो फर्किनेछु… तिमीलाई थाहा छ मलाई जानु छ … धैर्य गर ।”
“काओ…” भिक्टरलाई बोलाउँदै बाहिर हेर्दा ऊ गइसकेको थियो । एउटा सैनिक परेडपछि अर्को परेडको आवाजबिच म रेडियो सुन्दै थिएँ । त्यही बेला मैले सुनेँ, ‘Bando Numero Uno…… Bando Numero Vwo…..’ जनरल अगस्टो पिनोचे नेतृत्वका कमान्डरहरूले आत्मसमर्पण गर्न एयेन्डेलाई अल्टिमेटम दिइँदै थियो मध्य दिनसम्म आत्मसमर्पण नगरे मोनेडा दरबारमा बमबारी गर्ने चेतावनी दिइँदै थियो ।
जेट विमान बेतोड उडेको गर्जन र विस्फोटनका डरलाग्दो आवाज सुनिँदा बच्चाहरू आँगनमा खेलिरहेका थिए । यस्तो लाग्दै थियो, युद्ध अब सुरु हुँदै छ…. म हतार–हतार बाहिर निस्केर छोरीहरूलाई घरभित्र ल्याएँ, सबै झ्याल–ढोका ढ्याम्म बन्द गरेँ र बच्चाहरूलाई बाहिर कुनै खेल अभ्यास भइरहेको भनी सम्झाएँ । तर, जेट विमानहरू उड्न बन्द भएको थिएन । यस्तो लाग्यो, रकेटहरू हाम्रैमाथि नजिकको पहाडमा खस्दै छन् । त्यतिबेला मसँग भएका सबै भ्रमहरू मभित्रै ओइलाएर गएको भान भयो मलाई । हाम्रो अवस्था त्यस्तो थियो भने हामी के नै पो आशा गर्न सक्थ्यौँ र !
त्यसपश्चात् हेलिकप्टरहरू आँगनको रूखको टुप्पा छोइएलाझैँ गरी उडाइए । मेरो शयनकक्षबाट मैले ती हेलिकप्टरहरू कुनै स–साना कीराहरू उडिरहेजस्तो देखेँ । तिनीहरू एयेन्डेको घरमा मेसिनगन चलाइरहेका थिए । तिनको माथि एउटा विमान घुमिरहेको थियो । हामीले घण्टौँसम्म त्यो विमानको घुमिरहेको पङ्खाको आवाज सुनिरहेका थियौँ । पक्कै पनि त्यो सबै हमला अनुगमन र नियन्त्रण गरिरहेको विमान हुनुपर्छ ।
केही बेरमा टेलिफोनको घण्टी बज्यो । म फोन उठाउन हुत्तिएँ र रिसिभर उठाएँ । भिक्टर बोलिरहेको थियो, “ममिता, तिमीहरूलाई कस्तो छ ? मैले फोन नै भेटाइरहेकी थिइनँ … म यहाँ प्राविधिक विश्वविद्यालयमा छु । … के भइरहेको छ, तिमीलाई थाहा छ नि ?”, मैले उसलाई बम हमलाबारे भनेँ अनि हामी सकुशल भएको खबर पनि दिएँ । “तिमी कहिले घर फर्किन्छौ ?”, मैले सोधेँ । “म तिमीलाई पछि फोन गर्छु । यहाँ फोनको काम पर्यो,” भिक्टरले भन्यो ।
त्यसपछि रेडियो सुन्नेबाहेक अरू काम भएन । एउटा सैनिक परेडपछि अर्को परेडबिच लगातारको सैनिक घोषणाहरू । छिमेकीहरू आँगनमा ज्यादै उत्साहित भाकामा कराइरहेका थिए । कोही–कोही एयेन्डेको घरमाथि भइरहेको हमला अझ राम्ररी हेर्न बालकोनीमा थिए । … उनीहरू बाहिर बसेर पेय पदार्थ घुट्काउँदै थिए … एउटा घरले त बाहिर झन्डा फहराइहाल्यो !
हामी मोनेडा दरबारमा बमबारी र आगजनी भएको समाचार सुनिरह्यौँ । … एयेन्डे बाँचेका छन् कि छैनन् भन्ने विषयमा पीर पर्यो । त्यसबारे केही जानकारी फुकिरहेको थिएन । कफ्र्यु आदेश थोपरियो । हाम्रो हालचाल बुझ्न क्वेनाले फोन गरिन् । मैले भिक्टर घरमा नरहेको, विश्वविद्यालय गएको बताएँ । “हे भगवान् !,” उनी चिच्याइन् र फोन राखिन् ।
त्यतिन्जेल सबै फोन कल टेप गरिरहेको अनुमान गरियो तर साँझ ४ः३० बजे भिक्टरले फेरि फोन ग¥यो । “मलाई यहीँ रहनुपर्ने भयो… कफ्र्युका कारण फर्किन गा¥हो हुने भयो । म कफ्र्यु खुल्नासाथ भोलि बिहानै घर फर्किन्छु … ममिता म तिमीलाई प्रेम गर्छु ।”
“म पनि !” मैले सुक्सुकाउँदै भनेँ तर फोन राखिसकिएको थियो ।
त्यो रात म सुत्न खाटमा त पल्टै तर रातभरि आँखा खुलै रहे । वरपर चारैतिर अँध्यारो थियो, अचानक बन्दुक पड्केको मात्र सुनिन्थ्यो । रातभर भिक्टर सुत्यो कि सुतेन, उसलाई जाडो लाग्यो कि, ऊ जहाँ भए पनि उसले एउटा न्यानो ज्याकेट भेट्टाओस् भनी कामना गर्दा गर्दै बिहान भयो । कफ्र्यु फेरि साँझसम्म लम्बिने घोषणा गरियो । भिक्टर विश्वविद्यालय छोडेर कतै कसैको घरमा पुगेको होस् भनी कामना गरिरहेँ ।
अर्को बिहानमात्र कफ्र्यु अन्त्य भयो र घरमा काम गर्ने महिलाहरू पाउरोटी किन्न किराना पसलहरूमा लाइन बस्न गए । तर, आज त्यस्ता पङ्क्ति सेनाहरूले मिलाइरहेका थिए । ती सिपाहीहरू जनतालाई बन्दुकको कुन्दाले हान्दै थिए र तर्साउँदै थिए । म भिक्टर घर फर्किने बाटो हेरिरहेँ । उसको कारको आवाज सुन्न मेरा कान व्यग्र थिए । विश्वविद्यालयबाट घर आइपुग्न भिक्टरलाई लाग्ने समयको म लेखाजोखा गर्न थालेँ । प्रतिक्षा गर्दै गर्दा मलाई घरमा सुक्को पैसा बाँकी नरहेको याद आयो । त्यही भएर म केही घर परको अल्बार्टीको पसलमा गएँ । उसले मसँगको चेक साटिदिने आशा बोकेर त्यहाँ गएकी थिएँ ।
बाटोमा दुई वटा ट्रकले मलाई घुरेर हे¥यो । ट्रक राइफल र मेसिनगन बोकेका सैनिक पोशाक नलगाएका सिपाहीले खचाखच भरिएको थियो । मलाई लाग्यो, उनीहरू स्थानीय फासीवादीहरू हुन् । जो दिनको उज्यालोमा आफ्ना अँध्यारा गुफामा लुक्न जाँदै छन् ।
अल्बर्टो नराम्ररी डराए र त्यसको कारण थियो । साता दिन अघिमात्र उनको पसलअघि दुई–चार वटा बम विस्फोट भएको थियो । तर, उनी मेरो चेक साटिदिन राजी भए र भिक्टरबारे सोधे । म हतारमा घर फर्केँ । बाटोमा पर्ने चिली लोकगीत समूह (Inti–Illi mani) को एक सदस्यकी श्रीमती, मेरी सङ्गीलाई भेट्न गएँ । उनी पनि चिन्ताग्निमा जलिरहेकी थिइन् । श्रीमान् युरोपमा गएकाले उनी एक्लै थिइन् । आपसी सल्लाहपश्चात् उनी मेरो घरमा मसँगै आइन् र केही दिनसम्म हामीसँगै बस्यौँ । अघिल्लो दिन बिरामी परेकीले उनी आफू काम गर्ने सरकारी विभागमा गएकी थिइनन् । आफू काम गर्ने कार्यालय र सहकर्मीहरूको पिरले उनलाई सताएको थियो ।
हामीले सँगै प्रतिक्षा गरिरह्यौँ तर भिक्टर आएन । चिलीबाट ‘माक्र्सवादी क्यान्सरका जीवाणु उन्मूलन गर्ने’ ढ्वाङ फुकिरहेका सैनिक जनरलका अनुहार टीभीमा हेर्दै गर्दा भाउन्न होलाजस्तो भयो । टीभीमा एयेन्डेको निधनको औपचारिक घोषणा फुकिरहेको थियो । मोनेडा दरबार र एयेन्डेको घरका भग्नावशेष बारम्बार देखाइरहेको थियो । एयेन्डेको शयनकक्ष, स्नानकक्ष, अरू बचेखुचेका सबैका रूग्ण अवस्था पटक–पटक प्रशारण गरिँदै थियो । एयेन्डेलाई आतङ्कवादी हमलाबाट जोगाउन उनका अङ्गरक्षकहरूले प्रयोग गरेका हातहतियारभन्दा फासीवादीहरूले प्रयोग गरेका हतियार ज्यादै विशाल र अत्याधुनिक थिए । त्यो साँझ ढिलामात्र प्राविधिक विश्वविद्यालय कब्जा गरिएको खबर सुनेँ । विश्वविद्यालय परिसरमा सैनिक ट्याङ्कहरू पसेर ठुलो सङ्ख्यामा ‘अतिवादी’ हरूलाई गिरफ्तार गरिएको खबर फैलियो ।
जसोतसो चलेको भए तापनि मेरो जीवन्त हुनुको प्रमाण थियो– टेलिफोन । क्वेनाले भिक्टरबारे सोधखोज गरिरहेको जानकारी पाएँ । मैलेभन्दा उनले सावधानीपूर्वक सूचना पाउन सक्थिन् । सैनिक प्रशासनले भिक्टरलाई चिन्ने डरले म केही गरिहाल्न अनकनाइरहेकी थिएँ । म उसप्रति ध्यानाकर्षण गर्न चाहन्नथेँ … विश्वविद्यालयमा हमला हुनुपूर्व नै भिक्टर त्यहाँबाट निस्किसकेको होस्, म त्यही आशामा थिएँ ।
बुधबारको रात बित्यो, अर्को चिसो रात आयो, सेप्टेम्बर महिनाको ठिहि¥याउने चिसो रात । खाट ठुलो थियो तर थियो । मेरो छेउ एउटा पीडादायी शून्यताले राज गरेको थियो । म बेला–बेलामा झसङ्ग ब्युँझन्थेँ । सपनामा मेलै भिक्टरको स्पर्श महसुस गरेँ, उसका न्याना खुट्टा मेरा खुट्टासँग बटारिएका थिए । म झसङ्ग ब्युँझेँ, रित्तो अन्धकार र त्रासद पीडामात्र … मैले भिक्टरसँगका रात सम्झेँ ।
अर्को बिहान, अझ पनि कुनै खबर आएन । प्राविधिक विश्वविद्यालयमा के भएको हो, थाहा हुनसक्ने केही मानिसलाई मैले फोन गरेँ । कसैलाई केही थाहा थिएन … फेरि क्वेना–उनले विश्वविद्यालयबाट गिरफ्तार गरिएका सबैलाई इस्टेडियो चिलीमा लगिएको पत्ता लगाइन् । त्यो बक्सिङ खेलिने ठुलो हलमा भिक्टरले धेरै पटक गीत गाएको थियो र त्यहीँ गीत मेलाहरू हुने गथ्र्याे । तर, क्वेना भिक्टरलाई त्यहाँ लगिएको–नलगिएको विषयमा निश्चित थिइनन् । विश्वविद्यालयबाट गिरफ्तार गरिएका महिला (जसमध्ये अधिकांशलाई रिहा गरिसकिएको थियो) हरूले उनलाई त्यो खबर दिएका थिए …. ती महिलाहरूलाई पुरुष कैदीहरूबाट अलग पारिएकोले भिक्टरलाई अन्य पुरूषहरूसँग लगियो वा लगिएन, निश्चित हुन सकेको थिएन ।
त्यो साँझ फोनको घण्टी बज्यो । मुटु जोडले धड्कियो । हतारिएर फोन उठाएँ । उताबाट आत्तिएको अपरिचित आवाजले “कामरेड जोयन हो ?”, भनी सोध्यो । … “हो, हो ¤”, मैले भनेँ । उताबाट स्वर सुनियो, “कामरेड तपाईँले मलाई चिन्नुहुन्न तर मसँग तपाईँको लागि तपाईँको श्रीमान्को सन्देश छ । म भर्खर इस्टुडियो चिलीबाट रिहा भएको छु … भिक्टर त्यहाँ छ … उनले तपाईँलाई धैर्यवान् भएर बच्चाहरूसँग घरमा रहनू भनेका छन् … उनले प्राविधिक विश्वविद्यालयको कार पार्किङस्थलमा कार छोडेका छन्, कसैलाई भनेर खोज्न पठाउनू … रङ्गशालाबाट उनलाई छोड्ने विषयमा उनी आशावादी छैनन् ।”
“कामरेड, फोनको लागि धेरै धेरै धन्यवाद ¤ तर, उनी आशावादी नहुनुको अर्थ के हो ?”
“उनले मलाई यही सन्देश पठाएका छन् । राम्ररी बस्नुहोस्, कामरेड ¤” उनले टेलिफोन बन्द गरे ।
केही सेकेन्डपछि क्वेनाले फोन गरिन् । मैले उनलाई त्यही खबर सुनाएँ । थप जानकारी पाउन उनले गर्नसक्ने सबै प्रयास गरिन् । भिक्टरलाई बाहिर ल्याउने ठुलो प्रयास प्रयत्न गर्दै रहिन् । पहलकदमी गर्न उनी पटक–पटक रोमन क्याथोलिक गिर्जाघरका पादरी सिल्मा हेनरिकुजकोमा घाइन् । फासीवादीहरूले भिक्टरको पहिचान नगरिसकेका भए, उसलाई चिन्ला भन्ने मेरो सबभन्दा ठुलो डर थियो । कम्युनिस्ट पार्टीको शक्ति र सङ्गठनप्रति मेरो अविचल निष्ठाका कारण भिक्टरले मलाई दिने गरेका प्रशिक्षण उत्कृष्ट थियो र त्यसकारण पनि ऊ जस्तो मान्छेलाई जोगाउन आवश्यक थियो ।
त्यतिबेलाको त्रासदी सम्झेर अहिले पनि मेरो आङ जिरिङ हुन्छ । हामीलाई हरेक समाचार र सूचनाबाट विमुख पारिएको थियो । तर, हल्ला र भ्रम भने छ्यापछ्याप्ती थिए ।
एकजना जिम्मेवार राजनीतिक नेताले मलाई पपुलर युनिटी पार्टीका जनरल प्राट्स उत्तर दिशाबाट सेनासहित अघि बढिरहेको बताए ।… त्यो हामीले चेतावनी दिँदै आएजस्तो गृहयुद्धको आरम्भ हुनसक्थ्यो । (पछिमात्र हामीलाई थाहा भयो– एयेन्डे सरकारलाई समर्थन गर्ने सम्भावना भएका सबै सैनिक अधिकारीहरूलाई सत्ता विप्लव सुरु हुनु एकदिन अघि सेप्टेम्बर १० को राति नै गिरफ्तार गरिएको रहेछ ।)
शुक्रबार छोटो समयका लागि कफ्र्यु आदेश हटाइयो । त्यही मौकामा कार खोज्न म सान्टियागो जाने निर्णय गरेँ । हतारमा कहीँकतै जानुपरे कारको आवश्यकता पर्ने भएकोले पनि म कार खोज्न जान लागेकी थिएँ । हाम्रो छिमेकभन्दा पर पहिलोपटक म कतै जान लागेकी थिएँ र मध्य दिनको पारिलो घाममा सबै कुरा अस्वाभाविकरूपमा सामान्य देखिएका थिए ः गाडीहरू दौडिरहेका थिए, पसलमा खाद्य पदार्थ भरिएका थिए । एउटै मात्र असामान्य कुरा के थियो भने बजारभरि सिपाहीहरू थिए, हरेक चोक चोकमा उनीहरू तैनाथ थिए । मानिसहरू हतारमा हिँडिरहेका थिए र उनीहरूका मुहार भावशून्य थिए । अलामेडामा गाडी केही धिमा गतिमा गुड्यो, हामी मोनेडा दरबार छिचोल्दै अघि बढ्यौँ, अझ भर्नी डोरीले अलग्याइएको दरबारको भग्नावशेष हुँदै अघि बढ्यौँ । बमबारी र आगजनीको परिणाम हेर्ने उत्सुकताले हुनुपर्छ, धेरै मानिस त्यता आउजाउ गरिरहेका थिए तर कसैको पनि अनुहारमा न आक्रोश न दुःखको न त सन्तुष्टिकै भाव पोखिएको थियो ।
केन्द्रीय स्टेसन र पसलहरू पहिलेजस्तै व्यस्त थिए । म बसबाट ओर्लेर सतर्कतापूर्वक इस्टिडियो चिलीको बाटोतर्फ हिडेँ । तम्तयार राखिएका मेसिनगन बोकेका सुरक्षाकर्मीहरूको हुल हेर्न एकक्षण म टक्क रोकिएँ । उनीहरूको नजिक जान असम्भव थियो, म के गर्न सक्थेँ र ? म केही घर पर हिँडेर प्राविधिक विश्वविद्यालय पुगेँ … क्याम्पस र नयाँ आधुनिक भवनहरू नराम्ररी ध्वस्त गरिएका थिए … भित्र पुगेर देखेँ– विश्वविद्यालयका सबै ठुलठुला झ्याल र ढोका पूरै चकनाचुर पारिसकेछन् । अघिल्लो भागको भवन ध्वस्तप्रायः थियो र गोलीले सबै भित्ता छेडिएको थियो । प्रायशः भरिभराउ हुने गरेको कार पार्किङ त्यो दिन रित्तो थियो । त्यसबिच हाम्रो कार एक्लै बिचमा थुचुक्क बसिरहेको थियो । त्यहाँ वरपर सिपाहीहरू हुनुपर्छ तर मैले याद गरिनँ । मैले केही पर पर्खालमा एक जना बुढो मानिस बसिरहेको देखेँ । म एकपछि अर्को पाइला उचाल्दै कार भएको ठाउँसम्म पुगेँ, म कारको साँचो निकाल्न अनकनाइरहकी थिएँ । कार मुन्तिरबाट बगिरहेको रगतको भलमा मैले कुल्चिरहेकी रहेछु ¤ … कारको झ्याल हुनुपर्ने ठाउँमा केही पनि थिएन … कार पूरै सिसाका टुक्राले भरिएको थियो । ‘यो हाम्रो कार होइन कि’ सोच्दै मैले मसँग भएको साँचो मिल्छ मिल्दैन, जाँचेँ । त्यतिन्जेल बुढो मानिस मतिर आइरहेको देखेँ । “को हौ तिमी ?”, मैले उसलाई जवाफ दिएँ, “यो मेरो श्रीमान््को कार हो । उसले यहाँ छोडेको हो ।”
“त्यस्तो भए ठीक छ,” बुढो मानिसले भन्यो । “भिक्टर महोदयको निम्ति मैले यो कारको हेरचार गरिरहेको थिएँ । हेर, मैले भुइँमा उनको परिचयपत्र भेट्टाएको थिएँ तिमी राख यो परिचयपत्र,” यति भनेर उसले मलाई परिचयपत्र थमायो ।
“यो रगत कहाँबाट आयो यहाँ ? कसको रगत हो यो ?,” मैले सोधेँ ।
“अहो ¤ कुनै चोरले यो कार चोर्न खोज्दा कसैले छुरा हान्दा यो रगत बगेको हुनुपर्छ । यहाँ धेरै रगत बगिसकेको छ । बरू तिमी सकेसम्म चाँडो यहाँबाट निस्क । यहाँ सुरक्षा छैन,” अनि उसले मलाई कारका सीटमा असरल्ल छरिएका काँचका टुक्रा सफा गर्न मद्दत ग¥यो । ऊ म कार चढेर आफ्नो बाटो लागेको हेर्न चाहन्थ्यो सायद ।
त्यो शुक्रबारको घटना थियो । मलाई थाहा छैन शनिबारको दिन मैले कसरी बिताएँ । आफन्तजनले मलाई फोन गरे, मैले पनि आफन्तजनलाई फोन गरेँ । मार्टा मलाई भेट्न आइन् । एन्जेललाई पनि गिरफ्तार गरी नेसनल स्टेडियम लगिएको रहेछ । अरू मित्रहरूका नराम्रा खबर पनि आइरहे । पपुलर युनिटी पार्टीका सबै नेताहरू कोही गिरफ्तार गरिए भने कोही भूमिगत भएका थिए । उनीहरूलाई कुनै अपराधीलाई जस्तै खोजिँदै थियो । अरू साथीहरू बेपत्ता थिए ।
शनिबार राति सुत्न खाटमा पल्टेँ तर आँखामा पटक्कै निद्रा थिएन । घण्टौँसम्म कोठाको सिलिङमा टोलाइरहेँ – एकोहोरो । अनेकथरीका चिसा निराशाले मलाई झयाप्पै छोपेको थियो । अचानक मेरो मुटुको ढुकढुकी छिटोछिटो बढ्यो, म जुरूक्क उठेँ । भिक्टर त्यहाँ थिएन ।
झिसमिसे उज्यालो हुनेबित्तिकै म लुगाफाटा राखिएको दराज खोलेर धेरै समयदेखि मैले साँचेर राखेको पोशाक निकाल्नतिर लागेँ … सम्मानित मार्कस एन्ड स्पेनसर पोशाक, त्यो लगाउँदा म ठ्याम्मै विदेशीजस्तो देखिन्छु । मैले मेरो कपाल खुला छोडेँ र कालो चस्मा लगाएँ । भिक्टरको लागि सहयोगको याचना गर्न म बेलायती दूतावास अर्कै भएर जान लागेकी थिएँ । पक्कै पनि आकाशमा सूर्य राम्ररी ब्युँझिसकेको थिएन । म कफ्र्यु समय अन्त्यको प्रतिक्षा गर्न थालेँ । त्यो दिन आइतबार भएकाले मलाई राजदूतावासभन्दा राजदूतको निजी निवास पुग्नु थियो । बेलायती दूतावास विशाल फलामे गेट र रेलिङभित्र रहेको बारियो अल्टो (Barrio alto) मै सबभन्दा ठुलो भवन थियो ।
ढोका प्रायः बन्द रहन्थ्यो र बाहिर प्रहरी तैनाथ रहन्थ्यो । त्यहाँ जीवन्तताको कुनै सङ्केत थिएन । मैले घण्टी बजाएँ र कोही सहयोगी आउने प्रतिक्षा गर्दै बसेँ । “म बेलायती नागरिक हुँ मलाई सहयोगको खाँचो पर्यो,” भित्रबाट कोही आउने बित्तिकै मैले भनेँ ।
मलाई ढोका खुल्छ भन्ने लाग्यो तर अहँ ढोका खुलेन । त्यो मानिसले मलाई पर्खन भनेको थियो, म पर्खेर बसेँ । नजिकको प्रहरीले मलाई नियालिरहेको थियो । मलाई आफू बेलायती देखिन्छु वा देखिन्न भनी पिर प¥यो । त्यसपछि दूतावासको ढोका खुल्यो र एक जना बेलायती युवक बाहिर देखापर्यो । “विलम्बको लागि माफी पाऊँ । माथिको आदेश यस्तै थियो । भन्नोस् म तपाईँको कसरी मद्दत गर्न सक्छु ?”
मैले टुटेफुटेको असङ्गत अङ्ग्रेजीमा मेरो श्रीमान्लाई इस्टिडियो चिलीमा कैद बनाइएको र ऊ ज्यादै असुरक्षित भएकोले सुरक्षाको लागि केही गर्न अनुरोध बिसाएँ । बन्द रेलिङ भित्रबाट मलाई नियालेर हेरेपछि त्यो युवकले भन्यो, “ए, तर के उनी बेलायती नागरिक हुन् ? उनी बेलायती नागरिक नभए हामी केही पनि गर्न सक्दैनौँ ।”
“उनी चिलियन हुन् । तर, उनी प्रख्यात व्यक्ति भएकाले उनी विशेष खतरामा रहेको हुनसक्ने हाम्रो चिन्ता हो । तपाईँहरूले केही गर्न सक्नुहुन्छ कि, कृपया हेरिदिनुहोला … यदि उनीप्रति बेलायती दूतावासको रूचि भएको थाहा पाए, राम्रो हुनेछ ।”
“हामीले केही गर्न सकौँला जस्तो मलाई लाग्दैन तर यो परिस्थितिमा हाम्रा सैनिक सहचारीमार्फत सैनिक प्रशासनसँग सम्पर्कसम्म गर्नु उपयुक्त हुनेछ । म हामी के गर्न सक्छौँ विचार गर्छु … तर म तपाईँलाई केही आश्वासन दिन चाहन्नँ । केही भइहाले म तपाईँलाई फोन गर्नेछु ।”
अनि म घर फर्केँ । मैले ठीक गरेँ वा बेठीक, कतै मैले भिक्टरको विश्वासलाई धोका त दिइनँ, यस्तै–यस्तै कुरामा म चिन्तित थिएँ । उसले किन आफ्नो परिचयपत्र फाल्यो होला, पक्कै पनि आफ्नो परिचय नखुलोस् भनेर हुनुपर्छ– कम्तीमा उसको निधनपूर्व !
सोमबार त्यही रिक्तता लिएर आयो । म जीवित छु भन्ने जीवन्तताको केही गति किन मसामु आइपर्दैन । भोलि चिलीको स्वतन्त्रता दिवस (Fiestas Patrias) । सैनिक प्रशासनले प्रत्येक घर–घरमा झन्डा फहराउन उर्दी जारी गरेको छ ।

मङ्गलबार सेप्टेम्बर १८
कफ्र्यु आदेश फिर्ता भएको त्यस्तै एक घण्टापछि मैले घरको गेट बजेको आवाज सुनेँ, मानौँ कोही भित्र पस्न खोज्दै थियो । गेट अझै बन्द राखेको थिएँ… स्नान कक्षको झ्यालबाट बाहिर चियाएँ । एकजना युवक उभिएको देखेँ । उसको मुहारमा मैले कुनै खतरा महसुस गरिनँ, त्यसैले तल गएर गेट खोलेँ । उसले निकै मसिनो स्वरमा मतिर फुसफुसायो । “म भिक्टर हाराको परिवारको खोजी गर्दै छु । के यो उहाँको घर हो ? मलाई विश्वास गर्नोस् म तपाईँको मित्र हुँ,” यति भनेर उसले मलाई देखाउन परिचयपत्र निकाल्यो । “के म एक मिनेटको लागि भित्र पस्न सक्छु ? मलाई केही कुराकानी गर्नु छ,” ऊ केही आत्तिएको र हतास मानसिकतामा थियो । ऊ फेरि फुसफुसायो, “म कम्युनिस्ट युवा सङ्गठनको सदस्य हुँ ।”
मैले गेट खोलेर उसलाई भित्र पस्न दिएँ र सत्कार कक्षमा हामी एक–अर्काको आमनेसामने बस्यौँ । “मलाई क्षमा गर्नोस्, मलाई जसरी भए पनि तपाईँलाई भेट्नु थियो … मन मारेर मैले तपाईँलाई भन्नुपर्छ– भिक्टर अब यो संसारमा रहनुभएन … उहाँको शव हामीले शवगृहमा फेला पारेका छौँ । हामीसँगै काम गर्ने एकजना कामरेडले उहाँलाई चिनेका रहेछन् । कृपया आफूलाई सम्हाल्नुहोस्, उहाँ नै हो कि होइन निश्चय गर्न तपाईँ मसँग हिँड्नुपर्ने भएको छ के उहाँले भित्री पहिरन गाढा निलो रङ्गको लगाउनुभएको हो ? तपाईँ मसँग आउनुहोस् किनभने त्यो शव त्यहाँ राखिएको झन्डै ४८ घण्टा भइसक्यो र यदि त्यसप्रति दाबी गर्ने कोही नभए उनीहरूले लगेर संयुक्त चिहानमा गाड्नेछन् ।”
आधा घण्टापछि म सान्टियागो सहरमा कार हाँक्दै थिएँ र म जिउँदो लाससरि भइसकेकी थिएँ । अपरिचित युवक मेरो बगलमै बसेको थियो । उसले आफ्नो नाम हेक्टर बताएको थियो । अघिल्लो सातादेखि ऊ यो नगरको शवगृहमा काम गर्दै थियो । ऊ प्रत्येक दिन शवगृहमा ल्याइने पहिचान नखुलेका शवहरूलाई चिन्ने प्रयत्न गर्ने गथ्र्याे । युवक भद्र र संवेदनशील थियो र उसले मसम्म आइपुग्न ठुलो खतरा मोलेको थियो । शवगृहको कामदारको हैसियतमा ऊसँग विशेष परिचयपत्र थियो । त्यही परिचयपत्र देखाउँदै उसले मलाई शवगृहको छेउको सानो ढोकाबाट भित्र लग्यो । शवगृह सार्वजनिक चिहानघारीको मूलढोका छेउमा अवस्थित एउटा परित्यक्त भवनमा बनाइएको थियो ।
त्यो विस्मात्को क्षणमा पनि मेरो शरीरले काम गर्न भने छोडेको थिएन । बाहिरबाट म बिल्कुल सामान्य र संयमित थिएँ … मेरा आँखाहरूले हेरिरहेका थिए, मेरो नाकले सुधिरहेको थियो, मेरा खुट्टाले हिँडिरहेका थिए ….
एउटा अँध्यारो गल्ली हुँदै हामी एउटा ठुलो हलमा पुग्यौँ । त्यहाँको भुइँ पुरै नग्न लासहरूका पङ्क्तिहरूले छपक्कै छोपिएको थियो, हलका छेउछाउमा लासहरू थुपारिएका थिए । ती अधिकांश लासहरूमा भ्वाङ खुलेका घाउ थिए, कतिका त पछाडि बाँधिएका हात अझै फुकाइएका थिएनन् … ती सबै जवान र पाका थिए … सयौँ–सयौँ लास थिए त्यहाँ … अधिकांश लास श्रमिकहरूको जस्तो देखिन्थ्यो … सयौँ लासहरू क्रमशः छुट्याउँदै, खुट्टा समातेर तान्दै एउटा न एउटा लासको थुप्रोमा हुत्याउँदै थिए– कुहिएर गन्हाएका लासका दुर्गन्धबाट बच्न मुख छोपिने गरी मास्क लगाएका शवगृहका ताजुबलाग्दा मौन कर्मचारीहरू । मेरा नयाँ मित्रले म नआत्तियोस् भनेर हुनुपर्छ, सुस्तरी मेरो कुममा हात राखे । म हलको माझमा उभिएकी थिएँ । म हेर्दै थिएँ तर भिक्टरलाई त्यहाँ हेर्ने मेरो चाहना थिएन । अनि एउटा ठुलो हुँडरी मभित्र उर्लियो । मलाई थाहा थियो मेरो मुखबाट असङ्गत विरोधका आवाज निस्किए तर तत्कालै हेक्टरले प्रतिक्रिया दिए, “स्स ¤ तपाईँले यहाँ कुनै पनि सङ्केत गर्नु ठीक होइन … अन्यथा हामी समस्यामा पर्नेछौँ … केही बेर चुपचाप बस्नोस् । हामीले खोजेको शव कहाँ छ, म सोध्छु । मलाई लाग्छ यो ठाउँमा पक्कै छैन ।”
त्यहाँबाट हामी माथिल्लो तला उक्लियौँ । शवगृह पूरै लासहरूले भरिभराउ थियो । जताततै प्रशासनिक कार्यालयहरूसमेत लासहरूले भरिएका थिए । एउटा लामो गल्ली, ढोकाहरू लस्करै थिए र भुइँमा लासहरू लहरै पल्टाइएका थिए । यिनीहरूसँग कपडा थियो । यिनीहरूमध्ये धेरैजना विद्यार्थीजस्ता देखिन्थे । १०, २०, ३०, ४०, ५० … र त्यहीबिच मैले भिक्टरलाई भेट्टाएँ ।
पातलो र शिथिल देखिए तापनि ऊ भिक्टर नै थियो … एकै सातामा तिमीलाई खेर जाने गरी तिनीहरूले के गरे ? उसका आँखाहरू खुलेकै थिए र ती आँखाहरूले आक्रोश र प्रतिरोध भावका साथ कतै हेरिरहे जस्तो भान पार्थे । उसको टाउकोमा एउटा चोट थियो र गालाभरि डरलाग्दा दागहरू थिए । उसको लुगा च्यातिएको थियो, च्यातिएर उसको पाइन्ट घुँडासम्म ह्वाङ परेको थियो, स्वीटर काखीसम्म धुजा–धुजा भइसकेको थियो । उसको च्यातिएको निलो पेन्टी उसको कम्मरमा झुन्डिएको थियो, मानौँ चकु वा सङ्गीनले काटिएको हो । … उसको छातीमा प्वालहरू थिए र पेटमा ह्वाङ परेको घाउ थियो । उसका हातहरू अस्वाभाविक कोण बनाएर झुन्डिएका थिए, लाग्छ उसका कुमहरू भाँचिएका थिए – तर, ऊ भिक्टर थियो, मेरो श्रीमान््, मेरो प्रेमी ¤
त्यो क्षण मेरो पनि केही हिस्सा मरेतुल्य भयो । त्यहाँ उभिरहँदा यस्तो लाग्यो कि म पनि अब मरिसकेँ । स्थिर र मौन, चलमलाउन असमर्थ, बोल्न बक नफुटेको ऊ कतै बिलाइदिएको भए हुन्थ्यो बरू ती सयौँ अपरिचित लासहरूबिच उसको गुहार कसैले नचिनेको भए सबैलाई जस्तो कुनै सामूहिक चिहानमा उसलाई पनि हुत्याइन्थ्यो र मलाई के भएको थियो, कहिल्यै थाहा हुँदैनथ्यो । उसप्रति ध्यान पु¥याउने कर्मचारीप्रति म धेरै–धेरै आभारी छु । भर्खर १९ वर्ष टेकेका हेक्टरप्रति आभारी छु । जसले मलाई भेटाउन त्यत्रो जोखिम उठाए । उनले परिचय कार्यालयका कर्मचारीहरूसँग सहयोग मागेर परिचय अभिलेखबाट मेरो नाम र ठेगाना भेटाउन सफल भए । सबैजनाले सहयोग गरे ।
अब कानुनीरूपमा भिक्टरको शवमाथि दाबी गर्नु थियो । एउटै उपाय भनेको तत्काल शवगृहबाट शव बुझेर चिहानघारीमा लगी गाड्नु थियो … त्यस्तै नियम थियो । उनीहरूले मलाई घर गई हाम्रो विवाह दर्ता प्रमाणपत्र ल्याउन भने । फेरि एकपल्ट म एक्लै सान्टियागोमा कार हाँक्दै थिएँ । सान्टियागो सहरमा स्वाधीनता दिवसको अवसरमा राखिएका झन्डा फरफराइरहेका थिए । मेरा केटाकेटीलाई म के नै पो भन्न सक्थेँ र ¤ … उनीहरूलाई शवगृहमा लान म कसरी सक्थेँ र ¤ हाम्रो अवस्थाबारे बुझ्न मेरा साथीहरू, विद्यार्थीहरू फोन गरिरहेका थिए । तीमध्ये एकजना असल मित्र मसँग आउन कर गरिरहेका थिए … संयोगले उनको पनि नाम हेक्टर थियो ।
सबै नियमअनुसार लेखापढी गर्दा गर्दै केही घण्टा बिते । साँझ ३ः०० बजे शवगृहको भुइँतला जाने चोकमा अझै प्रतीक्षा गरिरहेकी थिएँ । मलाई भिक्टरको शव दिइने सूचना दिइएको थियो । त्यहाँ अरू महिलाहरू बाहिर टाँसिएका निरर्थक नामावलीमा गहिरिएर हेर्दै थिए । ती नामावलीमा नम्बर, लिङ्ग र कुन ठाउँ वा क्षेत्रमा भेटिएको भनी मात्र लेखिएका थिए तर कसैको नाम लेखिएको थिएन । म त्यहाँ कुर्दै बस्दा प्रत्येक मिनेट–मिनेटमा सहरबाट आउने गेटबाट छेउमा रातो रङ्गको प्लस चिह्न पोतिएका बन्द सैनिक गाडीहरू शवगृहको भुइँतलामा हुइँकिरहे । त्यहाँ अर्को लासको रास थुपारेर थप लास जम्मा गर्न बाहिर हुइँकिरहे ।
अन्ततः सबै तयारी सकियो । एउटा ट्रलीमा कफिन राखेर हामी चिहानघारीतिरको सडक काट्न तयार भयौँ । हामी गेटमा पुग्दा नपुग्दै केही लासहरू बोकेको एउटा सैनिक ट्रकभित्र पस्यो । हामी वा त्यो ट्रकमध्ये कसैले बाटो छोड्नुपर्ने भयो । ट्रकको चालकले ट्रकबाटै हामीलाई झर्केर करायो र आक्रोशित व्यवहार देखायो । तर, उसले ट्रक पछाडि लगेर भिक्टरको कफिनलाई बाहिर जान नदिउन्जेल हामी चुपचाप उभिरह्यौँ ।
भिक्टरलाई गाडिएको चिहानघारीको पुछारको ठाउँसम्म पुग्न हामीलाई २० मिनटदेखि आधा घण्टा लाग्यो । चिहानघारीको कच्ची बाटोमा ट्रली आवाज निकाल्दै थियो । हामी अघि बढिरह्यौँ । मेरा नयाँ मित्र हेक्टर मसँग हिँडिरहेका थिए । सँगै मेरा पुराना मित्र हेक्टर पनि मसँगै थिए । हाम्रा लागि तोकिएको ठाउँमा खनिएको खाल्डोमा भिक्टरलाई राखिएको कफिन पुरिन थालेपछि मात्र म भकानिन थालेँ । तर, म भावशून्य वा संवेदनाहीन भइसकेकी थिएँ । घरमा मलाई कुरिरहेका मानुएला र अमान्डाको चिन्ताले मात्र मलाई जीवित राखेको थियो ।
अर्को दिन ‘ला सिगुन्डा’ अखबारले भिक्टरको निधन भएको जनाउँदै मसिनो समाचार छाप्यो, मानौँ उसको आफ्नो कोठामा चुपचाप निधन भएजस्तो, “अन्तिम संस्कार पारिवारिक ढङ्गले भयो, त्यहाँ उनका आफन्तजनको मात्र उपस्थिति थियो ।” त्यसपछि सञ्चारमाध्यमहरूलाई उपरान्त भिक्टरबारे केही नलेख्न नछाप्न उर्दी जारी भयो । तर, कसैले आफ्नो जीवन दाउमा राखेर एउटा टेलिभिजनमा ‘ला प्लिगेरिया’ का केही श्रव्यदृश्य प्रसारण गर्ने साहस गरेको थियो ।
स्रोत : चिलीमा फासीवादको प्रतिरोध
Leave a Reply