अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपाल क्रान्तिकारी महिला सङ्घ देश र जनताको निःस्वार्थ सेवामा समर्पित नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन हो । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा आत्मसात गर्दै समाजवाद स्थापना गर्ने पार्टीको उद्देश्य पूरा गर्न यो सङ्घ क्रियाशील छ । किसान, मजदुर, विभिन्न पेसागत कार्यमा संलग्न महिला र शोषितपीडित महिलालाई राजनीतिक र सैद्धान्तिकरूपमा शिक्षित बनाउन र समाजमा विद्यमान अन्धविश्वास, छुवाछूत, भेदभावविरुद्ध सचेत पार्ने काममा यो निरन्तर अघि बढ्दै छ ।
व्यवस्था परिवर्तन भए पनि काम गरी खाने वर्गका महिलाहरूको अवस्था उस्तै छ । अन्धविश्वास र कुरीति अझै व्याप्त छ । शिक्षा र स्वास्थ्यमा महिलाहरूको पहुँच न्यून छ । कैयौँ महिला स्वास्थ्य उपचार नपाएर बाटामा सुत्केरी भएका घटना धेरै छन् । राम्रो स्वास्थ्य उपचार नपाएर सुत्केरी र शिशुको मृत्यु भइरहेको छ । यातायातका साधनको अभावमा कैयौँ बिरामीहरू बाटामा मर्न बाध्य छन् ।
कैयौँ महिलाहरू नारकीय जीवन जिउन बाध्य छन्; होस्टेलमा बसेकी बालिका बलात्कार र हत्याको सिकार हुन परेको छ । बाल अपराध, यौन शोषणका घटना, महिला हिंसा, घरेलु हिंसाका घटना दिनप्रतिदिन बढ्दो छ । उजुरी दिए पनि कार्यान्वयन नहुने, गरिबको पहुँच नहुनु, डर धम्कीले गर्दा कैयौँ घटनाहरूमा गरिब, किसान र पीडितले न्याय पाइरहेका छैनन् । सरकारमा बसेका शासक दलहरू आफ्नो सत्ता लम्ब्याउनमा व्यस्त छन्, जनताको समस्या ज्यूँकात्यूँ छ । अपराधी, बलात्कारी र हत्याराहरू सरकार र शासक दलहरूकै संरक्षणमा छन् । शिक्षित महिलाहरू पनि सामाजिक कुप्रथाकै कारण शारीरिक र मानसिक तनाब र यातना भोग्न बाध्य छन् । शिक्षित एवम् जनप्रतिनिधि महिलाहरू नै परम्परागत मान्यताका कारण छाउपडी प्रथा अँगाल्न बाध्य छन् । गाउँ घरमा छाउगोठ भत्काए पनि केही घटना घटिहालेमा अनिष्ट भएको भनी महिलाहरूलाई नै दोष दिइरहेको पाइन्छ ।
छाउगोठमा बस्ने महिलाहरू सर्पदंशका कारण अकालमा मृत्युवरण गरिरहेका छन् । यस्ता मान्यतालाई न्यूनीकरण गर्न शिक्षा र चेतनाको आवश्यकता छ । तर, धनीमानी भनिएका महिलाहरू महिला स्वतन्त्रताका नाममा एनजीओ तथा आईएनजीओभित्र पसेर रकम कुम्ल्याएर गरिब महिलाका आवाजलाई पाखा लगाउने काम गर्दै छन् ।
नेपाल क्रान्तिकारी महिला सङ्घले महिलाहरूको व्यक्तित्व विकासमा समान अवसर पाउन र सम्पूर्ण शिक्षा एवम् स्वास्थ्य उपचार निःशुल्क हुने बन्दोबस्तको निम्ति आवाज उठाउँदै छ । यो सङ्घ छोरीलाई सम्पत्ति होइन, उच्च शिक्षा दिनमा जोड दिन्छ । महिलाहरूको मुक्ति, सम्मान, सुरक्षा र न्याय समाजवादी व्यवस्थामा हुन्छ । अतः कामदारवर्गका महिलाहरूलाई राजनीतिक र सैद्धान्तिकरूपमा सचेत र सक्रिय बनाउन नेपाल क्रान्तिकारी महिला सङ्घ निरन्तर लागिरहेको छ । नेपाली महिला दिदीबहिनीहरूलाई राजनीतिकरूपमा सक्रिय र गोलबद्ध बनाउने एउटा महत्वपूर्ण कार्यक्रम सम्मेलन पनि हो ।
गत साउन २५ गते नेपाल क्रान्तिकारी महिला सङ्घको सातौँ नगर सम्मेलनको उद्घाटन समारोह भयो । समारोहमा सहभागी महिलाहरू निकै उत्साहित देखिन्थे । नयाँ पुस्ताका बहिनीदेखि अग्रज महिलाहरू, विभिन्न पेसागत महिलाहरू, गृहिणी, शिक्षिका र आमाहरूको उत्साहपूर्ण सहभागिताले उद्घाटन समारोह उत्साहजनक देखियो ।
“पहिला बिहेअगाडि सङ्गठनमा लाग्यौँ । २०४५ को ‘भक्तपुर काण्ड’ को बेला सङ्घर्ष ग¥यौँ । बिहेपछि नहिँडेको धेरै भयो । आज यो उद्घाटन कार्यक्रमा सहभागी हुन पाउँदा खुसी भयो,” एक अग्रज महिलाले भनिन् ।
एक महिला कार्यकर्ताले भनिन्, “राजनीतिक चेतना भयो । शोषण, अन्याय र अत्याचारको निर्धक्क खुलेर विरोध गर्न सिकेँ । हाम्रा अग्रजहरूले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नुभयो । २०४५ सालको ‘भक्तपुर काण्ड’ को बेला अहिलेजस्तो पढेलेखेका महिलाहरू कम भए पनि राजनैतिक विचार र चेतनाले गर्दा राज्यस्तरद्वारा रचिएको काण्डको विरोधमा महिला दिदीबहिनीहरूले सङ्घर्ष गरे । त्यतिबेला विद्यालय र कलेज नदेखेका नचिनेका महिला दिदीबहिनीहरू निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा होमे, लडे र सङ्घर्ष गरे । त्यही महिला आन्दोलनको जगमा अहिलेको स्वतन्त्रता र सुविधा प्राप्त भएको हो ।”
अर्की महिलाले शोभा भाउजूलाई सम्झेर भनिन्, “पञ्चायती राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोधमा डटेर लड्ने, महिलाहरूको स्वास्थ्य समस्या समाधान गर्न स्वास्थ्य शिविर सञ्चालनमा अग्रसर भएर हिँड्ने, महिलाहरूको हक अधिकारको लागि लड्ने एक उत्साही, सङ्घर्षशलि र सरल व्यवहारकी धनी भाउजू आज हामीसामु हुनुभएको भए उहाँ यस कार्यक्रममा हुनुहुने थियो ।
कार्यक्रमका अतिथि नारायणमान बिजुक्छेँ (रोहित) लाई सबैले स्वागत गरे । सबैले ताली बजाए । चारैतिरको वातावरणले कार्यक्रमलाई थप उत्साह प्रदान गरिएको थियो । उद्घाटन समारोहमा शुभकामना मन्तव्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलगायत स्वास्थ्यसम्बन्धी जानकारी दिइयो । यसरी नै महिला दिदीबहिनीहरूले सङ्गठनमा आबद्ध भएर विगतका महिलाहरूको कठोर सङ्घर्षबारे अहिलेको नयाँ पुस्तालाई बुझाउन र अग्रज महिलाहरूको सङ्घर्षबारे लिपिबद्ध गर्न आवश्यक छ । यसले नयाँ पुस्ताका महिलाहरूलाई समाजसेवाको लागि ऊर्जा प्रदान गर्नेछ ।
Leave a Reply