भर्खरै :

काभ्रेको विभिन्न नगरमा गाईजात्रा

काभ्रेको विभिन्न नगरमा गाईजात्रा

काभ्रे, ४ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा (सापारु) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरियो । वर्षभरि मृतकको सम्झनामा परिवारले श्रद्धाञ्जलीस्वरूप दिवङ्गत हुनेहरूको फोटोसहित गाईको प्रतिमा राखी परिक्रमा गराउने प्रचलन छ ।
कतै गाईको मुखाकृत फोटो शिरमा राखी मानिसलाई सजाएर परिक्रमा गराइन्छ । त्यस्तै डोकोमा कपडाले सजाएर मृतकको र गाईको फोटोका साथ परिक्रमा गराइन्छ । बाँसको ताहासा बनाएर परालको सिङ, चमर, गाईको मुखाकृत, महिला वा पुरुषअनुसारको भेषभूषा र छाता ओढाएर बाजागाजाका साथ परिक्रमा गरिन्छ । त्यसैगरी रिक्सा, गाडा, गाडीमा पनि मृतकको तस्वीरसहित सजाएर भजन किर्तनका साथ परिक्रमा गरिन्छ ।
ताहासा पनि ठाउँअनुसारको बनाइन्छ । कतै हातसहितको बनाइने रहेछ भने कतै हात नराखी बनाइन्छ । काभ्रे जिल्लाको पनौतीमा हात भएको ताहासा परिक्रमा गराइएको छ । त्यसैगरी जुम्लामा पनि हात भएको ताहासा हुँदो रहेछ । पनौतीको मौलिक घुममा गाईको मुखाकृत राखेर परिक्रमा गर्ने गरिँदो रहेछ ।
लाखे नाच र घिन्ताङघिसी नाच पनि गाईजात्राको परम्परागत सांस्कृतिक प्रदर्शन विभिन्न ठाउँमा प्रदर्शित गरियो । बनेपाको मौलिक प्राचीन राजारानी नृत्य (चंचंथुकु) यस वर्ष कोसा दाफा भजनको सक्रियतामा प्रदर्शन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *