भर्खरै :

पाब्लो नेरुदाको शवयात्रा

पाब्लो नेरुदाको शवयात्रा

पाब्लो नेरूदालाई जो कोहीले खुसीसाथ बाँच्ने मानिस भन्न सक्छन् । उनले लेखेका जुनसुकै सामग्रीबाट पनि यो टुङ्गोमा पुग्न सकिन्छ । उनी बिरामी परेर ओछ्यानबाटै लेखेका कुराले पनि त्यस्तै भान पार्दछ ।
पाब्लो भर्खरै रोग निको भएर तङ्गिँ्रदै थिए । तर, सत्ता विप्लवको दिन उनको निम्ति निकै कष्टसाध्य भयो । साल्भाडोर एयेन्डेको निधनको खबर पाएपछि डाक्टरसँग मेरो फोनमा कुराकानी भयो । उनले भने, “सबै खबर पाब्लोलाई नसुनाउनुहोला । त्यसले उनलाई निको हुन गा¥हो पर्ला !”
पाब्लोको खाटकै अघि टेलिभिजन थियो । गाडीको चालकलाई बोलाएर सबै पत्रपत्रिका खोजेर ल्याउन पठाइसकेका थिए । अर्जेन्टिनाको रेडियो स्टेसन मेनबोजाबाट हामीले एयेन्डेको निधनबारे खबर पाएका थियौँ । रेडियोले एयेन्डेको निधनको घोषणा गरिसकेको थियो । हो, उनको निधन भइसकेको थियो ।
एयेन्डेको निधन भएको अर्को दिन बिहान बिउँझँदा पाब्लोलाई हनहनी ज्वरो थियो । तर, स्वास्थ्य उपचारको निम्ति कहीँ जान र कसैलाई गुहार्न सकिने अवस्था थिएन । मुख्य चिकित्सक नै गिरफ्तार भइसकेका थिए । उनका सहायकहरूले इस्ला नेग्रा (जहाँ पाब्लो बसेका थिए) सम्म आउने आँट गरेका थिएनन् । त्यसकारण, हामीले कुनै चिकित्सकीय सहायता पाउन सकिने अवस्था थिएन ।
दिन बित्दै गए । पाब्लोको स्वास्थ्य अवस्था क्रमशः खराब बन्दै थियो । पाँचौँ दिन मैले एक जना चिकित्सकसँग सम्पर्क गरेँ र भनेँ, “पाब्लोलाई क्लिनिकमा लानुपर्ने भयो । उनी निकै बिरामी छन् ।”
सारा दिन पाब्लो रेडियो सुन्नमै व्यस्त थिए । घरी भेनेजुयला, घरी अर्जेन्टिना त घरी सोभियत सङ्घका रेडियो स्टेसनका समाचार सुनिरहेका थिए । सबैतिरका समाचार सुनेर उनले अवस्थाको आकलन गरिसकेका थिए । उनको दिमागमा प्रस्ट चित्र बनिसकेको थियो । अवस्थाबारे गुन्दा गुन्दै उनी भुसुक्क निदाए ।
पाँचौँ दिनको राति मैले एउटा निजी एम्बुलेन्स बोलाएर उनलाई सान्टियागोको एउटा क्लिनिकमा लिएर गएँ । बाटोमा एम्बुलेन्सको पूरै खानतलासी लिइएको थियो । पाब्लोलाई उनीहरूको व्यवहार मन परेन । सडकमा उनले अरू पनि निर्मम घटनाहरू देखे । उनलाई ती दृश्यहरूले बिथोलिरहेको थियो । उनी बसेकैतिर त्यस्ता घटना भइरहेका थिए ।
खानतलासीको क्रममा सिपाहीहरूले मलाई एम्बुलेन्सबाट तल झारे, मेरो खानतलासी गरे । एम्बुलेन्सका सबै कुनाकाप्चा नियाले । पाब्लोका निम्ति त्यो सहन गा¥हो भइरहेको थियो । सिपाहीहरूलाई मैले पटक–पटक भन्दै थिएँ, “उनी पाब्लो नेरूदा हुन् । उनलाई सन्चो छैन । हामीलाई जान देऊ !” अवस्था निकै डरलाग्दो थियो । निकै गम्भीर अवस्थामा हामी क्लिनिक पुग्यौँ ।
पाब्लोको राति १०ः३० बजे निधन भयो । कफ्र्यु भएकोले क्लिनिकमा कोही पनि जान सकेनन् । उनलाई मैले सान्टियागोको घरमा लगेँ । घर पूरै ध्वस्त बनिसकेको थियो । पुस्तकहरू सबै खरानी बनिसकेका थिए । त्यहाँ केही समय उनीप्रति अन्तिम श्रद्धा व्यक्त गर्न चाहने शुभचिन्तकको लागि उनको शव राख्यौँ । समष्टयागोले वास्तवमै प्रतिकूल परिस्थिति भोगिरहेको थियो । तथापि, धेरै मानिस उनीप्रति श्रद्धा व्यक्त गर्न त्यहाँ पुगेका थिए ।
समाधिस्थलमा पु¥याउँदा विभिन्न क्षेत्रका मजदुरहरू पाब्लोप्रति अन्तिम श्रद्धा व्यक्त गर्न आएका थिए । मजदुरहरूको अनुहार गम्भीर र कठोर थियो । उनीहरूमध्ये आधाजति चिच्याउँदै थिए–पाब्लो नेरूदा । बाँकीले साथ दिँदै भन्दै थिए–अमर रहून् । सेनाको चर्को दमनबिच पनि मजदुरहरू ‘अन्तर्राष्ट्रिय गीत’ गाउँदै समाधिस्थलभित्र प्रवेश गरेका थिए ।
जोएन हारा
सडकमा सिपाहीहरूको बाक्लो र कडा पहराबिच नेरूदाप्रति सम्मान व्यक्त गर्न सयौँ मानिस भेला भएका थिए । मेसिनगनहरू तेर्साइएका थिए । मानिसको भिडमा गुप्तचरहरूले आफूले खोजी गरिरहेका मानिसको अनुहार खोज्दै थिए । कुइना र म शोक ¥यालीको अघिल्लो भागमै समाहित भएका थियौँ । तर, हाम्रो हिँडाइ सुस्त हुँदा हामी क्रमशः पछाडि पर्यौँ । बाटोमा पाइला राख्न मुस्किल थियो । मूल सडकबाट समाधिस्थलतिर मोडिँदा एकजना व्यक्तिले नेरूदाको कविता वाचन गरेको सुनेँ । उनलाई अर्का व्यक्तिले साथ दिए । क्रमशः मानिसको हुलमा नेरूदाका कविताका पङ्क्ति गुञ्जिरह्यो । मानिसहरूले यसरी नरूदाका कविताका पङ्क्ति दोहो¥याउँदै गर्दा वरपर सैनिक बर्दी लगाएका सिपाहीको कति पनि डर मानेनन् । भवन निर्माणस्थलमा मजदुरहरू उचाइबाट नेरूदाप्रति श्रद्धास्वरूप टाउकोमा लगाएको पहेँला हेलमेट हातमा लिएर मौन धारण गर्दै गरेको देखेँ । ¥यालीलाई निगरानी गर्दै गरेका सिपाहीहरूसँगै सडकको पेटीमा उभिएर पनि केही मानिसहरूले नेरूदालाई अन्तिम बिदाइ गरे ।
‘मसँगै जन्मिन जाग ए ! मेरा बन्धुजन’ र ‘आऊ र हेर सडकमा पोखिएको रगत’ जस्ता कवितांश अझ मुखररूपमा गुञ्जियो । फासीवादको अनुहार साक्षात्कार गरिरहेका मानिसहरू यस्ता कवितांश निकै चर्को स्वरमा दोहो¥याइरहेका थिए । म हिँड्दै थिएँ, मलाई थाहा थियो म एक्लै हिँड्दै थिइनँ । मलाई थाहा थियो, त्यो शोकयात्रा पाब्लोको मात्र थिएन, मेरो भिक्टरको पनि थियो । सेनाले हत्या गरेका अरू धेरै–धेरै हाम्रा कामरेडहरूको त्यो शोकयात्रा थियो । कति ती कामरेडहरूलाई एकै चिहानमा गाडिएको थियो ।
शोकयात्रामा केही दर्जन विदेशी पत्रकार, चलचित्र निर्माता टोली र टेलिभिजनका क्यामराको पनि उपस्थिति थियो । उनीहरूको उपस्थितिले पनि सेनाले हामीमाथि कुनै हमला गरेनन् । यात्रामा हस्तक्षेप गरेनन् । तथापि, जब शवयात्रा समाधिस्थलको मूलद्वारमा पुग्यो, सेनाको बख्तरबन्द ट्रकसहित आएर विपरीत दिशाबाट ¥यालीलाई घेरा हालिसकेका थिए । त्यतिबेला हुल ठुलो आवाजमा गुञ्जियो–पाब्लो नेरूदा अमर रहून् । पाब्लो नेरूदा अमर रहून् । अनि सुनियो, अन्तर्राष्ट्रिय गीत । सुरूमा मसिनो स्वरमा सुनिएको गीत क्रमशः चर्को सुनियो । सहभागी सबैले पूरा ऊर्जाका साथ त्यो गीत गाए । त्यो नै पपुलर युनिटीको अन्तिम सार्वजनिक प्रदर्शन थियो र फासीवादी शासनको प्रतिरोधमा पहिलो सार्वजनिक प्रदर्शन पनि ।

स्रोत : चिलीमा फासीवादको प्रतिरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *