नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
२३ सेप्टेम्बर १९७३ मा चिलीका विश्वविख्यात लेखक पाब्लो नेरूदाको निधन भयो । आजसम्म संसारलाई उनको निधनका कारण बताइएको थियो– प्रोस्टेट क्यान्सर । तर, संसार त्यतिबेला आश्चर्यचकित बन्यो जब नेरूदाका अङ्गरक्षक म्यानुयल अरायाले आठ वर्षअघि नेरूदाको हत्या भएको दाबी गरे । नेरूदाको अन्तिम घडीसम्म उनको निकट रहेका अरायाले तत्कालीन अगस्टो पिनोचे तानाशाही शासनले नेरूदालाई विषालु सुई दिएर हत्या गरेको ‘रहस्योद्घाटन’ गरे ।
सन् १९७३ सेप्टेम्बर ११ अर्थात् नेरूदाको निधन हुनु बा¥ह दिनअघि चिलीमा तात्कालीन प्रगतिशील राष्ट्रपति साल्भाडोर एयेन्डेको सरकार अपदस्थ गरी संरा अमेरिकी गुप्तचर विभाग सीआईएको सहयोगमा सैनिक जनरल अगस्टो पिनोचेले सैनिक विद्रोह गरेका थिए । त्यसताका नेरूदा नोबेल पुरस्कार विजेता कविका साथै एयेन्डे सरकारका खम्बा थिए । नेरूदा एयेन्डेको कम्युनिस्ट पार्टीका सदस्य थिए । सन् १९७० को राष्ट्रपति निर्वाचनका एकजना सम्भावित उम्मेदवार थिए उनी । पछि उनले एलेन्डेलाई समर्थन गरे र एयेन्डे राष्ट्रपति बने । त्यसताका उनले विभिन्न देशमा राजदूतका रूपमा पनि योगदान गरे ।
अगस्टो पिनोचेको तानाशाही शासनका लागि नेरूदाका प्रगतिशील विचार सह्य हुने कुरै भएन । त्यसमाथि नेरूदाको धारिलो कलमबाट जन्मिने साहित्यले पनि पिनोचे शासन ढाल्न सहयोग पुग्थ्यो । त्यसैले अरायाका अनुसार सैनिक विद्रोहपछि मेक्सिकोमा स्वनिर्वासित हुने तयारीमा रहेका नेरूदालाई पिनोचेका केही चिकित्सकले विषालु सुई दिएर मारेका थिए ।
नेरूदाको निधनबारे मुद्दा परेपछि सन् २०११ जूनमा चिलीका एक न्यायाधीशले सो विषयमा अनुसन्धान थाल्न आदेश दिए । त्यही वर्षको डिसेम्बर महिनामा चिलीको कम्युनिस्ट पार्टीले न्यायाधीश मारियो कारोजालाई नेरूदाको चिहान उत्खनन् गरी अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । त्यही अनुसन्धानको सिलसिलामा सन् २०१३ मा चिहान खन्ने काम सुरू भएको थियो ।
आरायाको बयान
चिलीका लागि तत्कालीन मेक्सिकाली राजदूत गोन्जालो मार्टिनेज कोर्बालाले नेरूदालाई मेक्सिको पठाउने बन्दोबस्त मिलाएका थिए । नेरूदाले मेक्सिको जान आफ्नो निवासस्थान इस्ला निग्राबाट केही लुगाफाटा, किताब, पैसा र आफ्नो आत्मवृत्तान्तको पाण्डुलिपि ल्याउन अरायालाई पठाएका थिए । एक दिनअघि अस्पतालमा नेरूदालाई भेटेका राजदूत मार्टिनेजले पनि उनको अवस्था ठीकठाक पाएका थिए ।
सेप्टेम्बर २३ का दिन राजदूतले निर्वासन जाने अरू एक सयसँग नेरूदालाई पनि पठाउन डीसी–८ विमानको बन्दोबस्त गरेका थिए । तर, अन्तिम समयमा आएर नेरूदाले अर्को दिन मात्र जाने निर्णय गरे । नेरूदाले आइतबार (२३ सेप्टेम्बर) बिहान ४ बजे अरायालाई फोन गरे र तुरून्त अस्पतालमा आउन भने । फोनमै उनले आफूलाई चिकित्सकहरूले सुई दिएको र असाध्यै पीडा भइरहेको बताएका थिए ।
नर्सले ‘सर्गियो ड्रापर’ नामका चिकित्सकले जोरो कम गर्न डिपिरोन सुई दिएको बताइन् । तर, सुई दिने चिकित्सक को हो यकिन हुन सकेको थिएन । मात्र यति थाहा भयो उनको हातमा खोपेको नामको थर भने प्राइस थियो । चिलीका अनुसन्धान प्रहरीले त्यतिबेलाका चिकित्सकहरूको नामावली अध्ययन गर्दा ‘प्राइस’ थरका कोही पनि भेट्टाउन सकेनन् ।
अराया नेरूदालाई औषधि किन्न अस्पतालबाहिर जाँदा उनलाई चारजना पुरूषले समातेर कुटपिट गरेका थिए । उनको खुट्टामा गोली हानी घाइते बनाएका थिए । त्यसपछि उनलाई चिलीको राष्ट्रिय रङ्गशाला पु¥याइएको थियो, जहाँ तानाशाही शासनकालमा धेरै वामपन्थीलाई यातना दिने र मार्ने काम भएको थियो मानवअधिकारकर्मी राउल सिल्भा हेनरिकको पहलमा पछि अरायालाई मुक्त गरियो र उनी निर्वासित भए । “नेरूदाको अर्को दिनमात्र जाने आग्रहले नै उनको हत्या भयो,” अराया बताउँछन् ।
सत्यबाट झूटसम्म
समयान्तरमा भएको अनुसन्धानले नेरूदालाई विषालु सुई दिएर हत्या गरिएको प्रमाणित भयो । इतिहासमा स्थापित एउटा ‘सत्य’ झूट प्रमाणित भयो । चिली सरकारले नेरूदाको पोस्टेट क्यान्सरबाट निधन भएको प्रचार गरेको थियो । सन् २०१७ मा विभिन्न देशका १६ जना विज्ञ वैज्ञानिकको टोलीले गरेको अनुसन्धानको निष्कर्षमा नेरूदाको निधन कुनै पनि हालतमा पोस्टेट क्यान्सरबाट नभएको प्रतिवेदन सार्वजनिक गरेका थिए । नेरूदाको मृत शरीरका अङ्ग डेनमार्क र क्यानाडाका फोरेन्सिक जेनेटिक ल्याबमा प्रयोगको लागि पठाइएको थियो । यसअघि सन् २०१५ मा चिली सरकारले आधिकारिकरूपमै नेरूदाको निधनमा कुनै ‘तेस्रो पक्ष’ जिम्मेवार भएको हुनसक्ने बताएको थियो ।
क्यानाडाको मेकमास्टर विश्वविद्यालयका प्राध्यापक देवी पोनियरले नेरूदाको शरीरमा माटोमा पाइने व्याक्टेरिया भेटिएको र तीमध्ये केही व्याक्टेरिया विषालुसमेत भएको बताए । नेरूदाको मृत्यु प्रमाणपत्रमा उल्लेख भएजस्तै उनको निधन कुनै क्यान्सर रोगबाट नभएको ती विज्ञ वैज्ञानिकहरूले पुष्टि गरे । नेरूदाको हत्या हुँदा उनी बसेको कोठामा सँगै थिए चिलीका पूर्व राष्ट्रपति इडुआर्डो फ्रेइ मोन्ताल्भा ।
उनी पनि पिनोचेको तानाशाही सरकारका विरोधी थिए । तर, उनको निधन पिनोचे सरकारको उत्कर्ष सन् १९८२ मा भएको थियो । त्यतिबेला नेरूदाको हत्याबारे उनले पनि केही बोल्न सक्ने अवस्था थिएन । मोन्ताल्भाको निधन हर्नियाको शल्यक्रियाको क्रममा भएको प्रचार गरियो । तर, उनको पनि हत्या भएको अभियोगमा सन् २००९ मा चिली प्रहरी प्रशासनले ६ जना अभियुक्तलाई पक्राउ गरेको थियो ।
यसअघि साल्भाडोर एयेन्डेको मृत्युबारे यस्तै रहस्योद्घाटन भएको थियो । सन् १९७३ को सैनिक विद्रोहमा एयेन्डेको हत्या भएको भनी संसारभर एउटा ‘स्थापित सत्य’ त्यतिबेला असत्य प्रमाणित भयो जब उनको लासको वैज्ञानिक अनुसन्धानले उनी आफैले आफैलाई गोली हानी आत्महत्या गरेको निष्कर्ष निकाल्यो । त्यस्तै घटना प्यालेस्टिनी नेता यासेर अराफातको निधनको सन्दर्भमा पनि भएको थियो । अराफातलाई फ्रान्सको अस्पतालमा उपचार गराइँदा विष प्रयोग भएको कालान्तरमा प्रमाणित भयो ।
एयेन्डे शासनमा चिलीमा तीनजना जनप्रिय व्यक्ति थिए, एक एयेन्डे स्वयम् जो सैनिक विद्रोहकै दिन मारिए, दोस्रो थिए– गायक भिक्टर हारा । उनी पनि घटनाको केही दिनपछि नै मारिए । बाँकी थिए पाब्लो नेरूदा । यी तृतीय चर्चित व्यक्तिलाई पनि निमिट्यान्न पार्न पिनोचे शासन लागेको हुनसक्ने अनुमानमा मात्र आधारित छैन । नेरूदाको मुद्दा हेरिरहेका चिलीका कानुन व्यवसायी भन्छन्, “एयेन्डेको बिरासत सम्हाल्न सक्ने एकै जना बाँकी व्यक्ति नेरूदालाई मारिएकोमा म विश्वस्त छु ।”
नेरूदा निर्वासित भएर मेक्सिकोमा पुग्दा उनलाई मेक्सिकाली राष्ट्रपतिले विशिष्ट अतिथिका रूपमा सत्कार गर्ने तयारी थियो ।
कम्युनिस्ट विचारप्रति बलियो अडान, राजदूतका रूपमा विभिन्न देशमा काम गरिसकेको छवि र विश्वव्यापी ख्यातिका कारण उनले निर्वासित सरकार बनाउन सक्ने सम्भावनाबाट पिनोचे डराएको हुनुपर्ने विश्लेषकहरूको मत छ । चिलीको राजधानी सान्टियागोस्थित अस्पतालमा नेरूदाको लास तुरून्तै सैनिक विद्रोहपछि सातादिनमै मारिएका एयेन्डेका सहयोगीहरूको नामावलीमा चढाइएको थियो ।
पिनोचे शासनकालमा चिलीमा नेरूदाका सम्पूर्ण साहित्य प्रतिबन्धित थिए । तानाशाही केसम्म गर्न सक्दा रहेछन् भन्ने कुराको एउटा ज्वलन्त दृष्टान्त बनेको छ नेरूदाबारेको यो रहस्योद्घाटन । जनताका प्रिय मानिसलाई सफाया गर्न तानाशाहीहरू कतिसम्म निकृष्ट व्यवहार गर्छन् भन्ने कुराको उदाहरणमा यो रहस्योद्घाटनले अर्को आयाम थपेको छ ।
अन्ततः सन् १९९० को दशकमा पिनोचे शासन अन्त्य भयो । जनताबाट अन्त्यहीन घृणा र बदनामीको भारी बोकेर पिनोचेको टिठलाग्दो मृत्यु भयो । आज पनि चिलीका जनता पिनोचेको नवउदारवादी शासनसत्ताको पछिल्लो संस्करणले जनतामाथि थोपरेका जनविरोधी कानुनविरूद्ध महिनौँ लडिरहेका छन् । चिलीमा प्रगतिशील व्यवस्थाका पक्षधर जनताले पिनोचेकाललाई कालरात्रिको संज्ञा दिन्छन् । पिनोचेले नेरूदा र अन्य हजारौँ कम्युनिस्टलाई सखाप पारेर आफूले अमरत्व पाउने सपना देखेका थिए तर मारिएको ४० वर्षपछि नेरूदा चिहानबाट उठेर न्याय खोज्दै छन् ।
स्रोत : चिलीमा फासीवादको प्रतिरोध
Leave a Reply