यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपाल मजदुर किसान पार्टीको तत्कालको उद्देश्य जनताको प्रजातन्त्र हो । जनताको प्रजातन्त्र पुँजीवाद होइन । तर, त्यो पूर्ण समाजवादी व्यवस्था पनि होइन । यो समाजवादी क्रान्ति गर्ने क्रममा पुँजीवादलाई ढालिसकेपछि हुने सङ्क्रमणकालीन व्यवस्था हो । कामदार जनताको नेतृत्वमा गठन हुने समाजवादउन्मुख व्यवस्था नै जनताको प्रजातन्त्र हो । यस अर्थमा यो अस्थायी व्यवस्था हो । काम गरी खाने मजदुर र किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिवर्गको साथ र समर्थनमा क्रान्तिबाट यो व्यवस्था स्थापना हुन्छ । यस क्रान्तिको नेतृत्व कामदार जनताले गर्नेछन् भने प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिवर्ग क्रान्तिका सहायक शक्ति हुन्छन् । यस व्यवस्थामा राष्ट्रिय पुँजीपतिवर्गले विदेशी पुँजी र विदेशी दलाल पुँजीपतिवर्गलाई विस्थापित गर्छ । पुँजीवादमा पुँजीपतिवर्गले पुँजीपतिवर्गको हितमा शासन गर्छ । भारतको लगानीमा कमिसन खाने नेपालीहरू वास्तवमा विदेशी दलाल हुन् । अहिलेको राजनीतिक परिवेशमा कामदार जनताले मात्र विदेशी पुँजी र विदेशी दलालविरुद्ध आर्थिक सङ्घर्ष गर्न नसकिने भएकोले राष्ट्रिय पुँजीपतिवर्गलाई पनि साथमा ल्याउनु आवश्यक हुन्छ ।
जनताको प्रजातन्त्रमा सञ्चारका माध्यमहरू सरकारको नियन्त्रणमा हुन्छ । शोषक, अपराधी एवम् विदेशी पुँजीका दलालहरूलाई जेलमा कोचिएको हुन्छ । देशका बैङ्क, ठुलठुला उद्योगधन्दा, हवाई सेवा, टेलिकमजस्ता सेवा सरकारी नियन्त्रणमा हुन्छ । विदेशी कम्युनिस्ट पार्टी, क्रान्तिकारी एवम् प्रगतिशील मजदुर किसानसँग सम्बन्ध हुन्छ । पुँजीवादी देशहरूसँगको सम्बन्ध अहिलेको जस्तो मनपरी या खुकुलो हुँदैन । जातजाति, भाषाभाषी र लिङ्गको आधारमा भेदभाव हुँदैन । विकेन्द्रीकरणको सिद्धान्त लागु हुन्छ । जनताको धार्मिक आस्थामाथि राज्यले सम्मान एवम् संरक्षण गर्छ । जनताको प्रजातन्त्रमा महिला र पुरुषबिच समानता हुन्छ; स्थानीय तहलाई जातजाति, भाषाभाषीहरूको कला र संस्कृतिको संरक्षण, संवद्र्धन र विकास गरिन्छ ।
जनताको प्रजातन्त्रमा कसैले कसैलाई शोषण गर्नेछैन । आर्थिक समानतामा जोड दिइन्छ । देशले गर्ने हरेक आर्थिक गतिविधिले देश र समाजको विकासमा टेवा पु¥याउने छ । शिक्षा र स्वास्थ्य उपचारको सुविधा दिनु राज्यको दायित्व हो । यस व्यवस्थामा शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ । भ्रष्टाचार र अनियमितता रोक्न सकियो भने शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गर्न सकिन्छ । जनताको प्रजातन्त्रमा युवाहरूलाई आफ्नो योग्यता र क्षमताअनुसार रोजगारीको बन्दोबस्त गरिएको हुन्छ । उनीहरूको श्रमको शोषण हुँदैन । उनीहरूको व्यक्तित्व विकासमा समान अवसर प्राप्त हुन्छ । गरिबलाई रोजगारी र उचित ज्याला, जनताका छोराछोरीलाई निःशुल्क शिक्षा तथा सबैलाई निःशुल्क स्वास्थ्य सुविधा जनताका प्रजातन्त्रका आधारभूत विशेषता हुन् । यी सबै नेमकिपाको तत्कालीन उद्देश्य हो ।
एक्काइसौँ शताब्दी समाजवादको विजयको शताब्दी हुने कुरा राजनीतिक विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन् । विश्वमा साम्राज्यवाद, विस्तारवाद र राजतन्त्रको पतन तथा समाजवादी या वामपन्थी शक्तिहरूको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा जनताको प्रजातन्त्रको निम्ति संसारका स्वाधीनताप्रेमी, सार्वभौम सम्पन्न देशका जनता परिवर्तनका निम्ति जुटिरहेका छन् । अहिलेको प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र हो । सरकार पुँजीपतिवर्गको सञ्चालक समिति हो । पुँजीवादी सरकारले पुँजीपतिवर्गको सेवा गर्छ; मजदुर र किसानवर्गको होइन । यसकारण, नेमकिपा तत्काल जनताको प्रजातन्त्र चाहन्छ । नेमकिपा जनताको प्रजातन्त्र ल्याउन चाहन्छ; ल्याउन लागिरहेको छ । जनताको प्रजातन्त्रमा मजदुर र किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधित्व गर्छ ।
Leave a Reply