भर्खरै :

चीनको लु सुन सांस्कृतिक प्रतिष्ठानका प्रतिनिधिमण्डल भक्तपुर नगरपालिकामा

चीनको लु सुन सांस्कृतिक प्रतिष्ठानका प्रतिनिधिमण्डल भक्तपुर नगरपालिकामा

भक्तपुर, १४ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग लु सुन सांस्कृतिक प्रतिष्ठानका महासचिव चउ लिङफेईको नेतृत्वमा आएको १७ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलले शनिबार नगरपालिकाको सभाकक्षमा भेट ग¥यो । नगर प्रमुख प्रजापतिले प्रतिनिधिमण्डललाई सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्नुभयो ।
चीनका प्रसिद्ध लेखक एवम् साहित्यकार लु सुनको नाउँमा स्थापित लु सुन कल्चर एकेडेमीका प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले लु सुन चीनको मात्र नभई संसारका काम गरी खाने वर्गको पक्षमा साहित्य कोर्ने एक क्रान्तिकारी साहित्यकार भएको बताउनुभयो । उहाँले यसप्रकारको भ्रमणले दुई देशबिचको सम्बन्ध थप प्रगाढ बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ साहित्यकार लु सुनले चिनियाँ समाजलाई कुरीति, अन्धविश्वासबाट मुक्त पार्न र जनतामा राजनीतिक चेतनास्तर उठाई समाजवादी क्रान्तिको वातावरण तयार गर्न अतुलनीय योगदान गरेको स्मरण गर्दै लु सुनका साहित्यको नेपालीमा अनुवादले नेपाली पाठकहरू पनि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सांस्कृतिक नगर भक्तपुरको सङ्क्षिप्त परिचय सुनाउँदै नेपालका वरिष्ठ वामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको रुपरेखा कोर्दै लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई मार्गनिर्देशनको रूपमा लिएर भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, पर्यटनलगायत विभिन्न विकास निर्माणका कार्यहरू गर्दै आएको बताउनुभयो ।
हरिबहादुर श्रेष्ठको नाउँले परिचित उहाँ राजनेताको साथै एक प्रतिष्ठित प्रगतिशील लेखक र साहित्यकार पनि हुनुहुन्छ भन्दै प्रमुख प्रजापतिले नेपाली जनताको राजनीतिक चेतनास्तर उठाउन अध्यक्ष रोहितले थुप्रै प्रगतिशील साहित्य र राजनीतिक पुस्तकहरू लेख्नुभएको बताउनुभयो ।
भक्तपुरको शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका गतिविधिबारे प्रस्ट पार्दै उहाँले भक्तपुरमा वार्षिक ३६ हजारभन्दा बढी चिनियाँहरूले भक्तपुर भ्रमण गरेको तथ्याङ्क प्रस्तुत गर्दै नेपाल भ्रमणमा आउने चिनियाँ नेताहरू, सरकारका विभिन्न तहका उच्च पदाधिकारीहरूले भक्तपुरलाई प्राथमिकता दिएर बरोबर भक्तपुर भ्रमण गर्नुभएको स्मरण गर्नुभयो ।
भक्तपुर नगरपालिका र चीनको सि च्याङ प्रान्तको सान्नान नगरपालिकाबिच भगिनी सम्बन्ध र स्छुवान प्रान्तको लसान नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन समझदारी पत्रमा हस्ताक्षर भइसकेको अवगत गराउँदै उहाँले चीनको उच्चस्तरीय नेताहरूको भ्रमण, भक्तपुर नगरपालिका र चीनका सान्नान नगर तथा लसान नगरपालिकाबिचको सम्बन्ध, सहयोग र सहकार्यसम्बन्धी सबै विवरणहरूको सँगालो ‘चिनियाँ मित्रहरू भक्तपुरमा’ पुस्तक नेपालीमा प्रकाशित गरेको विषय अवगत गराउनुभयो ।
नेपाल सधँै एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पार्दै प्रमुख प्रजापतिले चीनले गरिरहेको तीव्र आर्थिक विकासले चिनियाँ विशेषतासहितको समाजवादको निर्माण चीनमा सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभयो । उहाँले चीनले गरेको भौतिक विकास र आर्थिक प्रगति देखेर विश्वका जनता आश्चर्यमा परेको बताउँदै छिमेकी देश चीनले गरेको विकास र समृद्धिबाट नेपाल र नेपालीलाई पनि फाइदा पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
लु सुन एकेडेमीसँग भक्तपुरका साहित्यिक संस्थाहरूले सम्बन्ध बढाउन पाए राम्रो हुने आशा व्यक्त गर्दै लु सुनको जन्मजयन्ती मनाउने क्रममा पञ्चायती शासनकालमा प्रहरी हस्तक्षेप भएको तितो अनुभव सुनाउनुभयो ।
लु सुन सांस्कृतिक प्रतिष्ठानका महासचिव चउ लिङफेइले सन् २०१५ मा आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै लु सुन सांस्कृतिक प्रतिष्ठान स्थापना भएको १५ वर्ष भइसकेको जानकारी दिनुभयो ।
प्रतिष्ठानको मुख्य उद्देश्य साहित्यका माध्यमबाट दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको बताउँदै उहाँले लु सुन चिनियाँ आधुनिक साहित्यका शिखर व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।
लु सुनको जन्मको १४० औँ वार्षिकोत्सवका अवसरमा चीनमा विभिन्न साहित्यिक गतिविधि सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले लु सुन चीनका मात्र नभई विश्वकै प्रसिद्ध साहित्यकार भएको बताउनुभयो ।
लु सुनका रचनाबाट सङ्घर्षशीलता र निर्णय क्षमता विकास गर्न सिक्न सकिने उल्लेख गर्दै उहाँले विदेशी मित्रहरूले समेत लु सुनका साहित्य पढेर आफूलाई बुझ्ने र आत्ममूल्याङ्कन गर्ने गरेको बताउनुभयो । भक्तपुरमा लु सुनसम्बन्धी गतिविधिहरू हुँदै आएको जानकारी पाउँदा खुसी लागेको बताउँदै उहाँले लु सुनकै कारण आजको भेट सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिँदै भक्तपुरका साहित्यकारहरूसँग सम्बन्ध विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो ।
सोही क्रममा देवकोटा लु सुन एकेडेमी अध्यक्ष सुनिलकुमार पौडेलले भक्तपुरसँगको पुरानो सम्बन्ध स्मरण गर्दै उहाँले २०६८ सालमा स्थापित देवकोटा–लु सुन एकेडेमीले साहित्यका माध्यमबाट नेपालमा लु सुन र चीनमा देवकोटालाई चिनाउने कार्य गर्दै आएको बताउनुभयो ।
देवकोटा र लु सुनका साहित्यिक कृतिहरू अनुवाद गर्ने अनुवादकहरूलाई समेत पुरस्कृत गर्दै आएको उल्लेख गर्दै उहाँले एकेडेमी भक्तपुरसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभयो ।
भेटमा लु सुन सांस्कृतिक प्रतिष्ठानका उपमहासचिव छयु जियाङलिङ र सहायक झोउ जिङसुआन, चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत साहित्य संस्थानका उपनिर्देशक झाङ झोङगाङ, अनुसन्धान अध्येताहरू छेङ काई, तान जिया र ली ना, सहप्राध्यापक अनुसन्धान अध्येता झेङ हाइजुआन तथा अनुसन्धानकर्ता छाओ वेइपिङको उपस्थिति रहेको थियो ।
त्यसैगरी, शाओशिङ विश्वविद्यालयको अन्तर्राष्ट्रिय आदानप्रदान तथा सहकार्य कार्यालयका निर्देशक लिङहु वेन्शेङ, लु सुन मानविकी विश्वविद्यालयका प्राध्यापक गु दायोङ र याङ सिन, शाओशिङ स्टोमाटोलोजिकल अस्पतालका चिकित्सक झुओ जोङलियाङ, वरिष्ठ साझेदार लु लिपिङ, व्यवस्थापक जियाङ छाओ तथा वरिष्ठ साझेदार छेन छेन र छाओ फाङयुआन पनि भेटमा सहभागी हुनुहुन्छ । साथै उक्त भेटघाट कार्यक्रममा देवकोटा– लु सुन एकेडेमीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
नगर प्रमुख प्रजापतिले लु सुन सांस्कृतिक प्रतिष्ठानका महासचिव चउ लिङफेईसहितको टोलीलाई मयुरको झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।
प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप अस्पतालको अवलोकन भ्रमण तथा भक्तपुरका सांस्कृतिक तथा ऐतिहासिक विश्व सम्पदा स्थलहरूको अवलोकन भ्रमण ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *