भर्खरै :

चिली घटना विवरण १९७०–७३ – २

चिली घटना विवरण १९७०–७३ – २

सन् १९७२
जनवरी १९ – संरा अमेरिकी राष्ट्रपति निक्सनले वक्तव्य जारी गरी कुनै देशमा रहेका संरा अमेरिकी कम्पनीका सम्पत्ति कब्जा गरिए र त्यसको क्षतिपूर्ति समुचित नभए त्यो देशलाई दिइने नयाँ द्विपक्षीय आर्थिक सहायतामार्फत सोधभर्ना गर्ने र बहुपक्षीय विकास बैङ्कलाई त्यस्तो देशलाई ऋण सहायता नगर्न अमेरिकाले पहल गर्ने घोषणा गरे ।
फेब्रुअरी २९ – न्यु योर्कको सर्वोच्च अदालतले चिलीका सरकारी निकायको न्यु योर्क बैङ्कमा रहेको खाता बन्द गरायो ।
मार्च २१–२२ – स्तम्भकार ज्याक एन्डरसनले एयेन्डेलाई सत्तामा आउन नदिन आईटीटीले नियमितरूपमा सीआईएसँग सम्बन्ध राख्ने गरेको गोप्य कागजपत्र (जोपछि सार्वजनिक भयो) र तथ्य सार्वजनिक गरे । आईटीटी र सीआईएबिच कदाचित एयेन्डे सत्तासीन भइहाले त्यो सरकारलाई असफल बनाउने सहमति भएको थियो । सन् १९७० को अक्टोबरमा आईटीटीले चिलीविरूद्ध आर्थिक युद्ध, दबाब र निषेध गर्ने १८ बुँदे योजना अमेरिकी राष्ट्रपति कार्यालयलाई बुझायो । ती योजना कार्यान्वयन गर्न राष्ट्रपति कार्यालयले विशेष कार्यदल बनाउने र सीआईएले त्यसलाई सहयोग गर्ने योजना तय गरिएको थियो । यो सहकार्यको मूल लक्ष्य चिलीमा आर्थिक विषमता फैलाउनु थियो । आर्थिक अवस्था धरासायी भएपछि चिलीको सेनालाई ‘अघि सारेर आर्थिक पुनः स्थापना गर्ने’ योजनाअन्तर्गत सबै तारतम्य मिलाइएको थियो । आईटीटीले किसिन्गरसमक्ष प्रस्तुत गरेका योजनामध्ये एउटा योजना चिलीलाई अन्तर्राष्ट्रिय र निजी संरा अमेरिकी बैङ्कले दिँदै आएको ऋण सहायता सबै बन्द गर्ने थियो । (एयेन्डे राष्ट्रपति भएपछि अन्तर–अमेरिकी विकास बैङ्क, विश्व बैङ्क कसैले पनि चिलीलाई कुनै सहायता गरेका थिएनन् । सन् १९७१ मा गएको भूकम्पको समयमा समेत आकस्मिक सहायता दिइएको थिएन ।) एयेन्डेको सरकार असफल बनाउन निक्सन सरकारले सहयोग गरे बापत आईटीटीले सन् १९७२ को संरा अमेरिकी राष्ट्रपति निर्वाचनमा निक्सनको चुनावी प्रचार अभियानको लागि लाखौँ डलर दिने सौदाबाजी गरिएको एन्डरसनले खुलासा गरेको कागतपत्रमा उल्लेख थियो ।
अप्रिल ११ – ‘कमिटी अफ ४०’ ले ‘इल मक्युरिओ’ नामको पत्रिकाको लागि थप ९ लाख ६५ हजार अमेरिकी डलर सहायता घोषणा गर्यो ।
अप्रिल २४ – ‘कमिटी अफ ४०’ ले पपुलर युनिटी कोलेसनमा विभाजन ल्याउनको लागि ५० हजार अमेरिकी डलर सहायता दियो ।
मे १२ – आईटीटीका सम्पत्ति सबै चिलीको टेलिफोन कम्पनीको नाममा नियन्त्रणमा लिने प्रस्तावसहित राष्ट्रपति एयेन्डेले चिलीको संसद्मा संविधान संशोधन प्रस्ताव प्रस्तुत गरे ।
जुलाई १६ – ‘कमिटी अफ ४०’ ले चिलीको एउटा मध्यावधि निर्वाचनमा विपक्षी उम्मेदवारको सहयोगमा ४६ हजार ५ सय अमेरिकी डलर सहयोग गर्यो ।
जुलाई २४ – राष्ट्रपति एयेन्डेले सन् १९७०–७२ मा चिलीको ऋण ‘खुलमखुला रोकेको’ र चिलीमाथि ‘अप्रत्यक्ष आर्थिक नाकाबन्दी’ थोपरेको भन्दै संरा अमेरिकाको आलोचना गरे । (सन् १९७२ मा केनिकोट तामा कम्पनीले चिलीका सबै तामालाई बाँकी विश्वमा निर्यात गर्न नसकिने गरी आर्थिक नाकाबन्दीको जाल बुन्न थालेको थियो । सन् १९७३ को सुरूतिर राष्ट्रपति निक्सनले संरा अमेरिकी संसद्मा संरा अमेरिकी तामाको भण्डार खपत गर्न कानुन बनाउनुपर्नेमा जोड दिए । त्यसले तामाको मूल्य निकै ओरालो लाग्यो । विश्व बजारमा तामाको छेलोखेलो भयो ।)
अगस्ट २१ – ठुलठुला पसलेहरूको आयोजनामा भएको एकदिने हडतालको क्रममा सान्टियागो प्रान्तमा हिंसा भड्केपछि एयेन्डेले त्यहाँ आपत्काल घोषणा गरे ।
सेप्टेम्बर २१ – ‘कमिटी अफ ४०’ ले एयेन्डेविरोधी व्यापारीहरूको सङ्गठनमा २४ हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्यो ।
अक्टोबर १० – विपक्षी पाटीहरूको सहयोगमा ट्रक मालिकहरूको महासङ्घले देशव्यापी हडतालको आयोजना ग¥यो । सरकार आपत्काल घोषणा गर्न बाध्य भयो । नयाँ सैन्य गृहमन्त्रालयका जनरल कार्लोस प्राट्सले वार्तामा हडताल टुङ्ग्याएपछि मात्र नोभेम्बर ५ मा आपत्काल फिर्ता भयो ।
अक्टोबर २६ – ‘कमिटी अफ ४०’ ले विपक्षी राजनीतिक पार्टी र निजी क्षेत्रका सङ्गठनहरूलाई सन् १९७३ को संसदीय चुनावको लागि मद्दत गर्न १४ लाख २७ हजार ६६६ अमेरिकी डलर निकासा ग¥यो ।
नोभेम्बर ४ – पपुलर युनिटी सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा आयोजित समारोहमा एयेन्डेले ‘फासीवादी धम्कीको प्रतिकार सुरू भएको घोषणा गरे ।
डिसेम्बर ४ – संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्दै राष्ट्रपति एयेन्डेले चिली ‘गम्भीर हमलाको सिकार बनेको’ चर्चा गर्दै भने, “हामीविरूद्ध ठुलो आकारको बाह्य दबाबको प्रभाव हामी महसुस गर्दै छौँ ।”
डिसेम्बर ८ – संरा अमेरिकाले सन् १९७२ को मेमा सी–१३० नामको हवाई सेना ओसार्ने यातायातको साधनका साथै अन्य सैनिक सामग्री सम्भवतः ट्याङ्क, हातहतियार जडित सेना ओसार्ने गाडी र ट्रकहरू खरिद गर्न चिलीको सेनालाई १ करोड अमेरिकी डलर बराबरको ऋण सहायता दिने सहमति भएको सार्वजनिक ग¥यो ।
सन् १९७३
जनवरी – चिलीको मुद्रास्फीति दर २०० प्रतिशत पुग्यो ।
फेब्रुअरी १२ – ‘कमिटी अफ ४०’ ले संसदीय चुनावमा विपक्ष राजनीतिक दललाई मद्दत गर्न २ लाख अमेरिकी डलर निकासा ग¥यो ।
मार्च ४ – संसदीय निर्वाचनमा एयेन्डे नेतृत्वको पपुलर युनिटी कोलेसनले ४३.४ प्रतिशत मत हासिल गरेर विजय प्राप्त गर्यो । सन् १९७० को राष्ट्रपति निर्वाचनभन्दा यो निर्वाचनमा एयेन्डेको पक्षमा ७ प्रतिशतले मत बढेको थियो ।
मार्च २२ – चिली र संरा अमेरिकाबिच आपसी राजनीतिक र आर्थिक समस्याबारे भएका वार्ता बिनानिष्कर्ष समाप्त भयो ।
मार्च १० – इल टेनिनटा तामा खानीमा भएको हडताल तीन सातासम्म चल्यो । सो क्षेत्रमा आपत्काल घोषणा भयो । हडतालको सबभन्दा अग्रपङ्क्तिमा व्यवस्थापन अधिकारी र प्रशासनिक कर्मचारीहरू थिए ।
जून ५ – खानीमा हडताल चालु भएपछि चिलीको तामा विदेशमा निर्यात गर्न रोकियो ।
जून १५ – एयेन्डेले हडतालमा संलग्न तामाखानीका मजदुरहरूसँग भेटे । अदक्ष कामदारमध्ये बहुमत एयेन्डेको प्रस्ताव मानेर काममा फर्किन तयार भए ।
जून २० – तामाखानीमा भएको हडताल ६३ दिन पुग्दा सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै एयेन्डेको विरोधमा हजारौँ स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थीलाई हडतालमा उतारियो । त्यसको भोलिपल्ट मजदुर महासङ्घले सरकारको समर्थनमा अर्को हडतालको आयोजना गर्यो ।
जून २१ – मजदुर महासङ्घको सरकार पक्षधर हडतालको क्रममा सरकारविरोधी र पक्षधरबिच गोली हानाहान, बमबारी र झडप भयो । सरकारले ‘इल मक्युरो’ अखबारविरूद्ध प्रचलित कानुनविपरीत काम गरेको मुद्दा दायर गरेपछि अदालतले सो अखबार ६ दिनको लागि बन्द गर्न आदेश दियो । आदेश भएको भोलिपल्ट उक्त आदेशविरूद्ध परेको पुनरावेदन खारेज गरियो ।
जून २८ – सैनिक कमान्ड अफिसर र सरकारविरुद्ध सेनाले ब्यारेक विद्रोह दबाउने घोषणा गर्यो ।
जून २९ – विद्रोही ट्याङ्क र हतियारधारी सैनिक गाडीले सान्टियागोको मुख्य क्षेत्रमाथि नियन्त्रण जमायो । उनीहरूले रक्षा मन्त्रालय र राष्ट्रपति भवनमा पनि हमला गरे । तर, एयेन्डे सरकारप्रति बफादार सेनाले ती कार्यालयलाई घेरा हालिसकेका थिए । उनीहरूले विद्रोही सेनालाई आत्मसमर्पण गर्न बाध्य बनाए । बितेका ४२ वर्षमा चिलीमा निर्वाचित सरकारलाई फाल्न सेनाले गरेको यो पहिलो प्रयास थियो । त्यो असफल विद्रोहको नेतृत्व कर्णेल रोबर्टो सुपरले गरेका थिए । एक दिनअघि ब्यारेक विद्रोह भनी सैनिक अधिकारीहरूले गरेको विद्रोहका नेता पनि उनी नै थिए । उनी झन्डै गिरफ्तारीमा परेका थिए ।
जुलाई २ – ७६ दिनको हडतालपछि तामाखानीका मजदुरहरू काममा जान सहमत भए । त्यसले सरकारलाई ६ करोड अमेरिकी डलरको क्षति भयो । चिलीको अर्थतन्त्र कमजोर बन्यो ।
जुलाई २६ – चिलीभरका ट्रक मालिकहरूले हडताल गरे । हडताल सीआईएको प्रायोजनमा भएको थियो । त्यसले चिलीको अर्थतन्त्रमा थप क्षति पुग्यो ।
अगस्ट – क्रिस्चियन डेमोक्रेटिक पार्टीले सत्ता कब्जाको प्रस्ट पक्षधरता देखाए । सो दलको अखबारले एयेन्डे सरकार ‘यहुदी–कम्युनिस्ट गुट’ को हातमा रहेको लेख्यो । ठुला व्यापारीसँगको सम्बन्ध सुधार गर्न एक हजारभन्दा बढी कार्यस्थलमा कार्यरत मजदुरलाई निष्काशन गर्न सरकारले अनुमति दियो । यसरी मजदुर निष्काशन गर्न केही कलकारखानामा त सेनासमेत प्रयोग गर्नुपर्यो । केही मजदुरहरू मारिए पनि ।
अगस्ट २ – १ लाख १० हजारभन्दा बढी बस र ट्याक्सीका मालिकहरू हडतालमा उत्रे ।
अगस्ट ३ – एउटा पत्रकार सम्मेलनमा एयेन्डेले एक साताअघि उनका जलसैनिक सुरक्षाकर्मीको हत्यापछि रेलमार्ग, राजमार्ग, पुल, पाइपलाइन, विद्यालय र अस्पतालमा १८० वटा आतङ्कवादी गतिविधि भएको तथ्य बताए ।
अगस्ट ७ – भाल्पाराइसोमा सैनिक जवानहरूको विद्रोह जलसेनाले दबाउने घोषणा ग¥यो ।
अगस्ट ८ – एयेन्डेले मन्त्रिमण्डल पुनः गठन गरे । नयाँ मन्त्रिमण्डलमा सेनाको तर्फबाट पनि तीन जना अधिकारी समावेश गरे । साथै, चिली प्रहरीका प्रमुखलाई पनि मन्त्रिमण्डल सदस्य बनाए ।
अगस्ट २० – चिलीका विपक्षी राजनीतिक दल र निजी क्षेत्रलाई सहायता गर्न ‘कमिटी अफ ४०’ ले १० लाख अमेरिकी डलर निकासा गर्यो ।
अगस्ट २३ – रक्षामन्त्री र प्रधानसेनापतिको पदबाट जनरल कार्लोस प्राट्सले राजीनामा दिए । राजीनामापत्रमा उनले आफू मन्त्रिमण्डलमा हुँदा सेनाभित्र वामपन्थी र दक्षिणपन्थी भनी दुई खेमामा विभाजन भएको भन्दै ‘सेनाभित्रको एउटा समूह’ को दबाबको कारण पदबाट राजीनामा दिएको बताए । अगस्ट २४ मा जनरल अगस्टो पिनोचे उगार्ते प्रधानसेनापति पदमा नियुक्त भए । प्राट्सको राजीनामाको मूल्य एयेन्डेको लागि चर्को परेको बताइन्छ ।
अगस्ट २७ – चिलीका पसलेहरूले अर्को सरकारविरोधी हडताल गरे ।
सेप्टेम्बर ४ – राष्ट्रपति निर्वाचनमा एयेन्डे निर्वाचित भएको तीन वर्ष पुगेको अवसर पारेर सान्टियागो सहरमा ७ लाख ५० हजार एयेन्डे समर्थकहरूले प्रदर्शन गरे । उनीहरूले नारा लगाएका थिए–एयेन्डे । एयेन्डे । जनताले तिमीलाई जोगाउनेछन् । रेडियो र टेलिभिजनबाट दिएको सन्देशमा एयेन्डेले भने, “सावधान रहनुहोला । निकै सावधान । धैर्यता नगुमाउनुहोला !” पेसागत कर्मचारीहरूको महासङ्घ पनि अनिश्चितकालीन हडतालमा उत्रियो ।
सेप्टेम्बर ५ – सत्तारूढ पपुलर युनिटी कोलेसनले वामपन्थी विचारप्रति आस्था राख्ने जलसेनाका सिपाहीलाई जलसेनाले कैदी बनाउने र यातना दिने गरेको आरोप लगायो । अर्को दिन एयेन्डेले सो वक्तव्य फिर्ता लिए ।
सेप्टेम्बर ८ – हवाई सेनाका सिपाहीहरू र वामपन्थी कारखाना मजदुरहरूबिच दुई घण्टा चलेको गोली हानाहानबारे टिप्पणी गर्दै यातायात मन्त्रालयका पूर्वसहायकमन्त्री जैम फैभोविचले घोषणा गरे, “सेनाले मजदुरहरूलाई उक्साइरहेको छ… सैनिक सत्ताविप्लवको तयारी सुरू भइसकेको छ ।”
सेप्टेम्बर ११ – चिलीको सेनाले एयेन्डे सरकार अपदस्थ ग¥यो । राष्ट्रपति भवनलाई चारैतिरबाट ट्याङ्क, हतियारबद्ध गाडी, राइफल बोकेका सेनाले घेरेका थिए । आकाशबाट बमवर्षक लडाकू जेट विमानले घेरे । सेनाले एयेन्डेलाई राजीनामा गर्न वा आत्मसमर्पण गर्न भने । एयेन्डे दुवै विकल्प मान्न तयार भएनन् । बरू उनी लड्दा लड्दै मृत्युवरण गर्न तयार भए । सैनिक विद्रोहको अर्को दिन हजारौँ चिलीका जनताको हत्या भयो । अरू धेरै ‘बेपत्ता’ बनाइए । सेनाले चिलीमा पूर्ण नियन्त्रण स्थापित गर्यो ।
सेप्टेम्बर १३ – नयाँ सैनिक सरकारले प्रधानसेनापति अगस्टो पिनोचेलाई राष्ट्रपति घोषणा गर्यो । संसद् विघटन गर्यो । सबै प्रजातान्त्रिक सङ्घ–संस्था र निकाय भङ्ग गरियो । पिनोचे सरकारले एयेन्डे सरकारले घोषणा गरेका सबै कार्यक्रम खारेज ग¥यो । पूर्णतः खुला बजार अर्थतन्त्र लागु गरियो । निर्वाचन गर्ने सबै प्रावधान खारेज गरियो । हडताल र सङ्घ–सङ्गठन बनाउन पाउने अधिकारलाई गैरकानुनी घोषणा गरियो । पुस्तक, पत्रपत्रिका र विद्यालयको पाठ्यक्रममा कडा सेन्सर लागु गरियो । विश्वविद्यालयका सबै विभाग (समाजशास्त्रसमेत) बन्द गरियो ।
सेप्टेम्बर–अक्टोबर – सैनिक सरकारले सबै माक्र्सवादी सङ्गठनलाई अवैध घोषणा गरियो । सबै राजनीतिक दललाई अनिश्चितकालको लागि गतिविधि गर्न नपाउने बनाइदियो । पत्रपत्रिकामाथि सेन्सर लागु गरियो । नयाँ सत्ताका सबै विपक्षीलाई जेलमा कोचियो । हजारौँ मानिस मारिए । कतिको हत्या भयो, कति ‘बेपत्ता’ पारियो । धेरै वर्षपछि मात्रै विभिन्न ठाउँमा सामूहिक चिहानहरू फेला परे ।
अक्टोबर – ‘कमिटी अफ ४०’ ले एयेन्डेविरोधी रेडियो चलाउन र सैनिक सरकारपक्षधरहरूको भ्रमण खर्च व्यहोर्न ३४ हजार अमेरिकी डलर निकासा गयो ।
(यो घटना विवरण सन् २००० मा ओसिएन प्रेसले प्रकाशन गरेको जेम्स डी. ककरोफ्ट र जेम्स केनिङद्वारा सम्पादित ‘साल्भाडोर एयेन्डे रिडर : चिलीज भ्वाइस् अफ् डिमोक्रेसी पुस्तकबाट लिइएको हो ।)

समाप्त
स्रोत : चिलीमा फासीवादको प्रतिरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *