वाग्मती प्रदेश स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण होस्
- भाद्र १७, २०८१
समाजमा अनेक थरीका ठग र नक्कली काम गर्ने व्यक्तिहरू सञ्चारमाध्यममा आइरहेको छ । नक्कली सर्टिफिकेट बनाएर पदमा बस्ने, बढुवा हुने, नक्कली काम गराउने र भेष बदलेर ठग्ने, नक्कली सुन बनाएर सक्कली भनी बेच्ने, नक्कली पैसा कारोबारमा ल्याउने काम भइरहेको घटना बेलाबखत सुन्दै पढ्दै आएको हो । सरकारले यस्ता नक्कली काम गर्ने, ठग्ने र आपराधिक काम गर्ने व्यक्तिहरूलाई कडा कारबाही गर्ने व्यवस्था नभएकोले यस्ता काम बारम्बार भइरहेको देखिन्छ । यस्तै नक्कली काम सापारु या घिन्ताङघिसीको दिनमा पनि देखिएको छ । यस्तो काम पाटन, काठमाडौँ र भक्तपुरमा पनि देखिएको बताइएको छ ।
तिनीहरू ठग या नक्कली हुन् भन्ने कुुरा सर्वसाधारण जनतालाई थाहै हुँदैन । अपत्यारिला खालका त्यस्ता ठगहरू गएको सापारुमा देखिए । मृतकको परिवारबाट आएको जस्तो गरी जोगी या अन्य भेषमा नक्कली व्यक्तिहरूले भक्तपुर, काठमाडौँ र पाटनमा नगर परिक्रमा गरेका थिए । उनीहरू कोही जोगीको भेषमा देखिए भने कोही शिव पार्वतीको भेषमा देखिए । वास्तवमा उनीहरू मान्छे बितेर सापारु मनाउन आएका होइनन् । यसरी आउने व्यक्तिहरूमा विशेषगरी महिला बढी देखिएका छन् । गाईजात्राको बेला मृतक परिवारका टोलीलाई नगर परिक्रमा गर्दा श्रद्धालुहरूले आफ्नो क्षमताअनुसार अनेक खाद्य परिकार तथा नगद दान दिने गर्छन् । त्यो भोजन या नगद पाउने ध्येयले नै विभिन्न भेषभूषामा नक्कली व्यक्तिहरूले गाईजात्राको रुटमा परिक्रमा गरेर मिठाइ र पैसा लिए । यसलाई नियन्त्रण गर्नुपर्ने हो कि भन्ने महसुस प्रत्यक्षदर्शीले गरेका छन् ।
जात्रामा घिन्ताङघिसी या गाईको प्रतीकात्मक साँचा, ताहामचा या अन्य घुमाउने काम मृतक परिवारबाट मात्र हुन्छ । गाईजात्रामा सरिक टोलीलाई कुनै स्वादिष्ट परिकार प्रदान गर्नुको अर्थ सेवा भावले पनि हो† एक वर्षमा कति मान्छे मरे भन्ने थाहा पाउन पनि हो । मृतक परिवारले झैँ जो कोही व्यक्ति गाईजात्रामा समावेश भई खाद्य परिकार लिएपछि वास्तविक तथ्याङ्क आउँदैन । एकातिर त्यो गलत काम हो भने अर्काेतिर वास्तविक तथ्याङ्क थाहा हुँदैन । यसलाई नियन्त्रण गर्न सरोकारवाला निकाय या स्थानीय तहले ध्यान दिनुपर्ने देखिन्छ । यहाँका बासिन्दाहरूले को सक्कली र को नक्कली भन्ने कुरा थाहा पाउन सक्छन् । उनीहरू यहाँका बासिन्दा होइनन् । उनीहरूको घरमा कोही बितेको पनि हुँदैन । तर, खाद्य परिकार र पैसा पाउन नै नक्कली मान्छे बनेर उनीहरूले नगर परिक्रमा गरेका थिए । अतः यस कार्यलाई नियन्त्रण गर्नु आवश्यक हुन्छ ।
Leave a Reply