मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
पञ्चायती व्यवस्था निरङ्कुश थियो । राजनीतिक दल खोल्ने अधिकार थिएन । मौलिक र राजनीतिक अधिकार थिएन । पञ्चायती व्यवस्थाको विरोध गर्ने या बोल्ने कुनै पनि नेता, कार्यकर्ता, शिक्षकमाथि पञ्चायती प्रशासकले रातो घेरा हाल्थ्यो । कुनै साहित्यिक, राजनीतिक र सामाजिक सभामा बोल्ने, जुलुसको अगुवाइ गर्ने व्यक्तिहरू पञ्चायती शासकहरूको आँखामा कसिङ्गर हुन्थ्यो । कहीँकतै राजनीतिक सभा, जुलुस भए तुरुन्तै प्रहरीहरू आउँथे, जुलुस तितरवितर पार्न खोज्थे र नेता तथा कार्यकर्ताहरू पक्राउ गर्थे । वामपन्थी पक्षका बहुदलमा लागेका नेता, कार्यकर्ता, शिक्षक, कर्मचारीलाई पञ्चायती शासक र पञ्चहरूले शत्रुको आँखाले हेर्थे; पक्राउ गर्थे, धम्की दिन्थे, जाली मुद्दा लगाउँथे । प्रहरीले जेलभित्र शारीरिक र मानसिक यातना दिन्थे । यसरी प्रतिक्रियावादीहरू आफ्नो शासन टिकाउन अनेक षड्यन्त्रहरू गर्थे । उनीहरू कहिले नेता नेताबिच, कहिले कार्यकर्ताबिच त कहिले नेता र कार्यकर्ता तथा कार्यकर्ता र जनताबिच झगडा गराउने, द्वन्द्व चर्काउने षड्यन्त्र बुन्थे । पार्टी फुटाउने, पार्टी कमजोर बनाउने, काम गर्न र गराउन प्रतिक्रियावादीहरू गुण्डा पाल्थे, गुप्तचर खेलाउँथे । लोभलालच देखाएर मन भाँड्ने काम गर्थे र धाक धम्की दिन्थे । बुद्धि र विवेकले नभ्याए बल प्रयोग गर्थे र बलले नभ्याए षड्यन्त्र गर्थे । यस्तै यस्ता अनेक जाल र षड्यन्त्रहरूमध्ये राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ पनि एक थियो ।
तत्कालीन नेपाल मजदुर किसान सङ्गठन (नेमकिपा) लाई समूल नष्ट गर्न उक्त काण्ड पञ्चायती राज्यस्तरबाट रचिएको थियो । वि.सं. २०४५ भदौ ५ गते भूकम्प गएको थियो । भूकम्पले ठुलो धनजनको क्षति पु¥यायो । कैयौँ घर भत्के र चर्के । धेरैको ज्यान गयो । करोडौँ, अरबौँ बराबरको धनसम्पत्ति क्षति भयो । एक किसिमको त्यो ठुलो विपत्ति थियो । विपत्तिमा परेकालाई राहत पु¥याउनु राज्यको दायित्व हो । विपत्तिमा राहत दिन तत्कालीन भक्तपुर नगर पञ्चायतका प्रधानपञ्च आशाकाजी बासुकलाको अध्यक्षतामा भदौ ५ गते भूकम्प पीडित सहयोग समिति गठन भयो । समितिले रु. २ लाख सहयोग पु¥याउने निर्णय ग¥यो । भदौ ६ गते सरकारले केन्द्रीय भूकम्प उद्धार तथा पुनस्र्थापना कोष गठन ग¥यो । भदौ ७ गते भक्तपुर जिल्ला पञ्चायत उपसभापतिको अध्यक्षतामा जिल्ला भूकम्प पीडित उद्धार समिति गठन भयो । भदौ ९ गते जिल्ला पञ्चायत सभापतिको अध्यक्षतामा एक उद्धार समिति गठन भयो । यी कुनै पनि समितिमा कर्णप्रसाद ह्योजु सदस्य थिएनन् । कुनै उद्धार समितिमा नरहेका ह्योजुलाई राहत वितरण गर्ने अधिकार कसले किन दियो ?
राहत वितरण पक्षपातपूर्ण भयो । राहत भूकम्प पीडितले पाएनन् । जो पीडित थिएनन् उनीहरूले राहत पाए । पञ्चहरूले राहतमा आँखा गाडे, कुपन लिए र भारीका भारी राहत तथा अन्य सामग्री लगे । पीडितले राहतको कुपन नपाएपछि पीडितहरू आक्रोशित भए । कुनै एक राजनीतिक दलका नागरिकमात्र होइन अरु दलका मानिसहरू पनि पीडित थिए । आक्रोशित भूकम्प पीडितले समातेर ह्योजुलाई नगर घुमाए । नगर परिक्रमापछि उनी प्रहरी गाडीमा पसे र प्रहरीले लगे । राति उनको मृत्यु भएको खबर प्रकाशमा आयो । त्यसको लगत्तै राति नै नेमकिपाका अध्यक्षलगायत अन्य नेता तथा कार्यकर्ता पक्राउमा परे । फाँसीको माग राख्दै ज्यानको मुद्दा लगाइयो ।
भूकम्प रोहितको कारण भएको होइन । राहत वितरण रोहितको आदेशमा भएको होइन । कुपन वितरणमा पक्षपात रोहितको कारण भएको होइन । अनि नेमकिपाका अध्यक्ष रोहितलाई फाँसीको माग गर्दै किन जुलुस प्रदर्शन ! फाँसीको माग गर्दै भएको जुलुसमा तत्कालीन प्रम मरिचमान सिंह किन सरिक ? मुद्दा दर्ता नहुँदै मुद्दाको फैसला नहुँदै फाँसीको माग किन ? एक व्यक्ति मर्दा के ६७ जनालाई ज्यानको मुद्दा लाग्छ ? भदौ ९ गते पक्राउमा परेका अध्यक्ष रोहितलाई भदौ १४ गते पक्राउ गरेको भनी किन झूटो बयान ! शनिबारको दिन सरजमिन किन ? रोहितको घर गल्लीभित्र थियो । ह्योजुलाई नगर घुमाउँदा गल्लीभित्रको घरको झ्यालबाट रोहितले ‘ठोक मार’ भनी किन बयान ! मुद्दा चलाएर रोहितको विरोध गरे, पार्टी त्यागे कैदबाट बचाउने, लोभ किन ? नक्कली कागजमा सही किन गराइयो ? नगर पञ्चायत किन विघटन ? सरजमीनमा प्रतिवादीलाई किन रोक ? बयान दिन पनि दबाब दिनुपर्ने ? पर्ती जग्गा कुनै संस्थाको नाउँमा दर्ता किन ? यी विभिन्न कारणले भक्तपुर काण्ड पञ्चायती राज्यस्तरबाट रचिएको पुष्टि हुन्छ । यसरी पञ्चायती व्यवस्थाका निरङ्कुश शासक, पञ्च र गुण्डाहरूले मनपरी गरेकै कारण पञ्चायतको बदनाम भएको हो, पञ्चायत अन्त्य भएको हो । जो आगोसँग खेल्छ, त्यो आगोमै मर्छ, जो पानीसँग खेल्छ त्यो पानीमै मर्छ भनेझैँ शक्तिको होडबाजी गर्ने पञ्चायती व्यवस्था शक्तिकै कारण अन्त्य भयो ।
Leave a Reply