भर्खरै :

स्वदेशमै रोजगारीको व्यवस्था गर्नु आवश्यक

सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा हजारौँ हजार युवाहरू प्रत्येक दिनझैँ बिदेसिरहेका छन् । सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकेको भए युवाहरू बाध्य भएर बिदेसिने थिएनन् । युवाहरूले विदेशमा पनि धुक्कसाथ काम गर्न पाएका छैनन् । म्यानपावर कम्पनीमार्फत गएका युवाहरूले आश्वासनअनुसार काम पाएका छैनन्† कामअनुसार ज्याला पाएका छैनन् । कहिले काम नै नपाएर त कहिले कामको ज्याला नपाएर युवाहरू छटपटिएका छन् त कहिले मालिकको दबाबमा परेर मर्कामा परेका छन् । यसरी विदेशमा गएर पनि उनीहरूले शान्तिपूर्वक काम गर्न पाएका छैनन् । कहिले कामको सिलसिलामा मेसिनमा पेलेर, कहिले काम गर्दागर्दै भवनबाट खसेर त कहिले के भएर युवाहरू मरिरहेका छन् । यसरी अनेक कारणले मर्नेको सालाखाला दिनको ३/४ वटा लास नेपाल भित्रिरहेको तथ्याङ्क छ ।
विदेशमा सेना भए र काम गरेका नेपाली युवाहरू पनि गोली हानाहानको सिलसिलामा मरेका समाचारहरू प्रकाशमा आएका छन् । कहिले रुसमा त कहिले युक्रेनमा, कहिले अफगानिस्तानमा त कहिले इराकको आक्रमणमा नेपालीहरू बितेका थिए । युवाहरूलाई विदेश पठाउने सरकारी नीतिले गर्दा या सरकारले उत्साहित गरिरहेको कारण युवाहरू विदेश पलायन हुनेको सङ्ख्या बढिरहेको देखिन्छ । कति युवाहरू आवश्यक कागजात पूरा नगरी, प्रवेशाज्ञा नपाउँदै बिदेसिएका थिए । त्यसले पनि नेपाली युवाहरू विदेशमा फसिरहेका छन् । भदौ १२ गते ‘अन्नपूर्ण पोस्ट’ मा ‘अवैधरूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र परेको’, ‘अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या भएको’ र ‘१६५ नेपाली साउदी जेलमा’ परेको समाचार छापिएको छ । मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट ठुलो सङ्ख्यामा युवाहरू विदेश आउने गरेको कुरा दूतावासले जनाएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ६ सय १५ जना नेपालीहरू पनि कानुनविपरीत लागेको भनी जेलमा परेका छन् । कानुनविपरीत बढी पैसा असुल्ने, रक्सी सेवन गर्ने र बिक्री गर्ने तथा हो हल्ला गर्ने र आतङ्क मच्चाउने भनी नेपाली युवाहरू जेलमा परेका छन् या कारबाहीमा परेका छन् । यस्तै खालको घटना त कति बाँकी छ कति !
विदेश पुगेका युवाहरूले पाइरहेको अवहेलना र अपमान पनि अर्को समस्या हो । वैदेशिक रोजगार नै एकमात्र विकल्प हो भन्ने दास मानसिकता युवाहरूमा अझै बाँकी छ । विदेश गए पनि ज्ञान, सीप सिकेर नेपाली भूमिमा जीवन बिताउने विचार राख्नुपर्छ । विदेश गएपछि कुनै नेपालीको इज्जत हुने होइन । देशभित्र पर्याप्त रोजगारीको अवसर उपलब्ध भएको ज्यानको बाजी राखेर युवाहरू विदेशमा जानु पर्दैनथ्यो† कठोर श्रम गर्नुपर्दैनथ्यो । पैसा बढी पाउने लोभमा यहाँ पीएचडी गरेका, स्नातकोत्तर गरेका नेपालीहरू त्यहाँ स–साना विद्यार्थीलाई पढाउन, होटल, रेष्टुरेन्ट, कारखानामा शारीरिक मजदुरीको रूपमा काम गर्नुपर्दैनथ्यो । सरकारले सन्तुलित विकास गरेको भए आफ्नो गाउँ–गाउँमै युवाहरूले काम पाउँथे र उनीहरूको जीवन सुनिश्चित हुने थियो ।
नेपालका चिकित्सक, नर्स, प्राविधिक तथा अन्य कर्मशील युवाहरू विदेशिन थालेपछि देशमा आवश्यकताअनुसारको जनशक्ति कसरी तयार हुन्छ ? भएका प्राविधिकहरू विदेशमा जाने या सहरमै बस्ने हो भने गाउँ–ठाउँका जनताको सेवा कसरी हुन्छ ? अतः सरकारले स्वदेशमै काम मामको व्यवस्था पाउने वातावरण तयार गर्नुपर्छ । नेपालको जनशक्ति बाहिर पठाएर देश विकास हुँदैन । आफ्नो मातृभूमिप्रति सबै नेपालीको अगाढ श्रद्धा हुनुपर्छ । सरकार देशको लागि आवश्यक आधारभूत वस्तु उत्पादन गरेर आत्मनिर्भर गर्नेतर्फ लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *