भर्खरै :

ब्रिक्स सम्मेलनमा भाग लिन सीलाई पुटिनको निम्तो

मस्को, १९ भदौ (एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका राष्ट्रपति सी चिनफिङले आगामी महिना रूसमा आयोजना हुने प्रमुख उदीयमान अर्थतन्त्र (ब्रिक्स) समूहको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरेको बताउनुभएको छ ।
पुटिनले युक्रेन द्वन्द्व सुरु भएदेखि नै चिनियाँ सहयोगका लागि चिनियाँ नेताहरूसँगको भेटलाई प्राथमिकतामा राख्दै आउनुभएको छ । यी दुई देशले व्यापारलाई उच्चस्तरमा पु¥याएका छन् र रूसले पश्चिमा मुलुकबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ ।
भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरमका क्रममा चीनका उपराष्ट्रपति हान झेङसँगको भेटमा पुटिनले भन्नुभयो, “पूर्व सहमतिअनुसार हामी ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सहभागिताको अपेक्षा गरिरहेका छौं ।”
ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको संक्षिप्त नाम ब्रिक्स समूहले विश्वको लगभग आधा जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ र त्यसपछि संयुक्त अरब इमिरेट्स र इरानसहित अन्य प्रमुख उदीयमान अर्थव्यवस्थाहरू समावेश गर्न विस्तारित भएको छ ।
यस समूहले अक्टोबर २२ देखि २४ सम्म रूसी शहर कजानमा शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ, जसमा क्रेमलिनले आफ्नो प्रभाव विस्तार गर्ने र नजिकको आर्थिक गठबन्धन बनाउने अवसर पाउने अपेक्षा गरेको छ ।
मस्को र पेइचिङ दुवैले ‘पश्चिमी आधिपत्य’ को विरोध गर्छन्, विशेषगरी उनीहरूको विश्वव्यापी मामिलामा अमेरिकी प्रभुत्व रहेको बुझाइ छ । उनीहरूले मस्कोले युक्रेनमा आक्रमण सुरु गर्नुभन्दा केही समयअघि सीमारहित साझेदारीको घोषणा गरेका थिए ।
गत महिना पुटिनले चिनियाँ प्रधानमन्त्री ली छियाङलाई क्रेमलिनमा स्वागत गर्दै चीनसँग रूसको आर्थिक र व्यापारिक सम्बन्धले योजना अनुसार ‘परिणाम दिने’ बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *