भर्खरै :

नगरकोटमा नापतौल डोर सेवा

नगरकोटमा नापतौल डोर सेवा

भक्तपुर, ३० भदौ । भक्तपुर जिल्लास्थित चाँगुनारायण नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा चाँगुनारायण नगरपालिकामा सञ्चालित नापतौल डोर कार्यक्रमअन्तर्गत चौथो दिन आइतबार नगरकोटमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।
नगरपालिकाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरूको टोलीले नगरकोट ६ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो ।
पहिलो दिन बुधबार दुवाकोट, दोस्रो दिन बिहीबार दुवाकोट र तेस्रो दिन झौखेलमा डोर कार्यक्रम सञ्चालन गरिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौँका सहायक निरीक्षक बोधराज ढकालले जानकारी दिनुभयो ।
सङ्घका अनुसार चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत ३१ गते कृषि सेवा केन्द्र, गोठालेचौर ताथलीमा डोर कार्यालय रहने छ । सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरूको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै जिल्लामै डोर कार्यक्रम सञ्चालन हुँदा नापतौलका सामग्रीहरूको दर्ता तथा नवीकरणका लागि काठमाडौँ पुग्नुपर्ने समय बचत भएको बताउनुभयो ।
सङ्घका कोषाध्यक्ष एवं सङ्घअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले भक्तपुर नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन भइसकेको र चाँगुनारायण नगरपालिकामा कार्यक्रम सम्पन्न भएपछि सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा पनि नापतौल डोर कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष धनबहादुर लामाले स्थानीय व्यापारीहरूले आफ्नै ठाउँमा नापतौलका सामग्री दर्ता तथा नवीकरण गरी लाभान्वित भएको बताउँदै आगामी वर्षहरूमा पनि यसरी नै नापतौल डोर कार्यक्रम सञ्चालनको लागि अनुरोध गर्नुभयो ।
चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन गर्नुअघि भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीले भक्तपुर नगरपालिकाका विभिन्न ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *