संरा अमेरिकामा मजदुर आन्दोलन – १
- बैशाख २४, २०८३
काठमाडौँ । विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो छैन । नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ । बाढी, पहिरो, नदी कटानजस्ता समस्या हरेक वर्ष बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम÷सङ्कट निवारण तथा पुनर्लाभ ब्युरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३० औँ स्थानमा पर्छ । राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षणको पछिल्लो तथ्याङ्कअनुसार जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो पाँच वर्षमा रु. चार खर्बभन्दा बढी नोक्सानी बेहोरेको छ । तथ्याङ्कानुसार वार्षिक रु. ८३ अर्ब बराबरको क्षति हुने गरेको छ । जलवायुजन्य विपद्ले भौतिक पूर्वाधार, खाद्य सुरक्षा, रोग तथा कीटाणुलगायत विभिन्न माध्यमबाट क्षति पु¥याएको पाइएको छ ।
नेपालको भौगोलिक बनावटका कारण मनसुनसँगै पहिरो जाने र पहिरोसँगै कृषि अनुकूल मलिलो माटो बगेर जाँदा अत्यधिक भूक्षयको अवस्था छ । एकातिर प्राकृतिकरूपमै बाढी, पहिरो, डढेलो, भूक्षयलगायत प्रकोपको समस्या देखिएको छ भने अर्कोतिर विकास निर्माणका नाममा गरिएका कार्यहरूले पनि यो समस्यालाई अझ बढाएको छ । त्यसबाट हुने मानवीय तथा प्राकृतिक क्षति प्रत्येक वर्ष बढ्दै गएको छ । राजमार्ग, रेलमार्ग, पुल, बाँध तथा पोखरी, विभिन्न निर्माणस्थल, नहर, नाली आदि भौतिक पूर्वाधारहरू निर्माण गर्दा बायो–इन्जिनियरिङ प्रविधिलाई अनुसरण गरेको खण्डमा धेरै हदसम्म यो समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । बायो–इन्जिनियरिङमा सबैभन्दा उपयुक्त विकल्प भनेको त्यस्ता पहिरो वा बाढीको जोखिम रहेको स्थानमा भेटिभर वनस्पति लगाउनु हो ।
विश्वव्यापीरूपमै यो अभ्यास प्रभावकारी देखिएको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । नेपालमा पनि केही वर्षयता पहिरो नियन्त्रण, भूक्षण रोकथाम तथा नदी कटान रोकथाममा भेटिभर लगाउन थालिएको छ । भेटिभरको तटबन्धले बाढीपहिराका कारण बगरमा परिणत हुँदै गएका खेतीयोग्य जमिनलाई संरक्षण गरी पुनः कृषि भूमिका रूपमा पुनःस्थापना गर्छ । नयाँ सडक निर्माण सक्नासाथ दायाँ–बायाँका भूभागमा यसलाई लगाए माटो बग्न र पहिरो झर्न रोकिन्छ । हाल ढलान स्थरीकरणको कार्यमा रिटेनिङ्ग कङ्क्रिट पर्खाल प्रभावकारी नभएको उदाहरण मुग्लिन नारायणगढ सडकमा वर्षाैँदेखि भोग्दै देख्दै आइरहेका छौँ । पृथ्वी राजमार्गको कृष्णभीरको पहिरो होस् वा नारायणगढ–बुटबल खण्डमा पहिरोबाट सवारी दुर्घटना हुँदा धेरैको अकालमा ज्यान गएको छ । खासगरी वर्षायाममा देशका अन्य मुख्य वा ग्रामीण तथा कृषि सडकको तल वा माथिबाट जाने पहिरोले यातायात अवरोध हुने गर्दछ । त्यस्ता सडकका तल माथि भेटभर लगाउन सकिएमा पहिरो र भूक्षय रोक्न यसले जैविक पर्खालको काम गर्छ, जुन हामीले प्रयोग गर्ने कङ्क्रिट पर्खालभन्दा निकै किफायती, बलियो र सस्तो छ ।
पहिरो पन्छाउन ठुलठुला मेसिनको व्यवस्थापनभन्दा त्यस्ता सम्भावित ठाउँमा भेटिभर लगाउन सकिएमा पहिरो रोक्न बर्सेनि हुने करोडौँ खर्चको बचत हुनुको साथै समस्याको दीर्घकालीन समाधान हुनसक्छ । ठुलठुला जलविद्युत् आयोजना बनाउँदा आयोजना गृह आसपासमा भेटिभर लगाउँदा त्यसले जमिनलाई मजबुत गराउँछ । यसको राम्रो उदाहरण राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस दु्रतमार्गमा देख्न सकिन्छ । नेपाली सेनाले निर्माण गरिरहेको यस राजमार्गको चुरे क्षेत्रको विभिन्न ठाउँमा पाँच किलोमिटरभन्दा बढी सडकको दायाँबायाँ भेटिभर नेपालद्वारा जैविक प्रविधिअन्तर्गत भेटिभर बिरुवा लगाइएको छ । भेटिभरले यहाँको भिरालो जमिनलाई बाढी, पहिरो तथा भूक्षय हुनबाट अत्यन्त प्रभावकारी भूमिका खेलेको छ ।
तराईमा तटबन्धका लागि सरकारले बर्सेनि अर्बौँ रूपैयाँ लगानी गरे पनि त्यसले दिगो समाधान दिन सकेको छैन । बाढीले खेत पुरेर बगर बनाउँदा बर्सेनि खेतीयोग्य जमिन घट्दै गएको छ । त्यस्ता बाढीजन्य स्थानहरूमा नदी आसपास भेटिभर रोप्न सके कटानलाई रोक्न सकिन्छ । नेपालको तराई मधेसको अस्तित्व जोडिएको चुरे क्षेत्रको संरक्षणमा पनि भेटिभरको प्रवद्र्धन गर्न सकिन्छ । चुरेको अनियन्त्रित दोहनले गर्दा नेपालको अन्न भण्डारको रूपमा रहेको तराई भेगमा सुख्खा, खडेरी, बाढीलगायतका प्राकृतिक बिपतले सधैँ क्षति मच्चाउने गरेको छ । बन फडानी नियन्त्रण, वृक्षरोपण, नदीजन्य खनिज दोहन नियन्त्रण, जलस्रोतको संरक्षणलगायतका कार्यमार्फत चुरे विनास भइरहेको छ । दसौँ चुरे संरक्षण दिवस २०८१ को अवसरमा चुरेको माटो चुरेलाई, चुरेको पानी सबैलाई भन्ने नारालाई आत्मसात गर्ने हो भने पनि भेटिभरको प्रवद्र्धनमा लाग्नुपर्दछ । चुरे संरक्षण, यहाँको नदी कटान तथा तटको संरक्षण, पहिरो र भूक्षय नियन्त्रण गर्ने एक मात्र जैविक विकल्प भेटिभर हो भन्ने तथ्यलाई आत्मसात गर्नु जरुरी छ ।
के हो भेटिभर ?
भेटिबर क्रिसोपोगान प्रजातिको एक बहुपयोगी वनस्पति हो, जसलाई नेपाली भाषामा खसखसे भनिन्छ । वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स रहेको छ । समुद्री सतहदेखि एक हजार ८०० मिटरका उचाइसम्म खेती गर्न सकिने यस वनस्पतिको मुख्य विशेषता जरामा छ जुन निकै बाक्लो गाँज भई जमिनमा तीन मिटरभन्दा बढी गहिरोसम्म जान्छ । यो विषम किसिमका माटामा हुर्कने तथा सप्रने धेरै कम बिरुवामध्येको एक हो । यस घाँसको द्रुत वृद्धिदर, उच्च बायोमास, स्थानीय प्रजातिहरूमा गैरआक्रमक प्रभाव, प्रदूषणमा सहनशीलता र जराको विशिष्ट व्यवहारको कारणले महत्वपूर्ण छ ।
जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने एक प्रकारको झार अथवा घाँस हो भेटिभर । झट्ट हेर्दा कुशजस्तो देखिने यो वनस्पतिको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस–खस भनेर पनि चिनिन्छ । बा¥है महिना उम्रिने यो गुच्छेदार घाँस हो । साढे एक मिटरसम्म अग्लो हुने यसका पात उखुको जस्तै तर अलि साँघुरो हुन्छ । डाँठ सिधा र कडा हुन्छ । यसको टुप्पोमा स–साना खैरो प्याजी रङका फूल फुल्छ भने यसको सबैभन्दा महत्वपूर्ण भाग भनेकै जरा हो । भेटिवरले लामो समयसम्म खडेरी, बाढी, चरम तापक्रम, उच्च स्तरको लवणता, सोडियम बढी भएको, अम्लता, क्षारीयता र विषाक्त धातुहरूको विस्तृत श्रृङ्खलासहित चरम जलवायु परिवर्तन सहन सक्छ । कुनै पनि मौसम र आगोले समेत प्रभाव नपर्ने घाँस भएकाले जहाँ जहिले पनि लगाउन सकिन्छ ।
यो जति काटे पनि पुनः टुसाउने भएकोले वर्षौँसम्म यसको उपयोग हुनसक्छ । खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै फस्टाउँछ । यसको जराले जमिनमुनिको पानीलाई सतहतर्फ ल्याएर ओसिलो बनाउने हुँदा पानीका मुहान सुक्न दिँदैन । भूमिगत पानीलाई पुनःभरण गर्न पनि सहयोग गर्दछ । त्यसैले खेतीयोग्य ठुलो जग्गा बर्सेनि बगरमा परिणत भएकोले यस्ता जग्गालाई यसको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन सकिन्छ । बाढी पहिरोबाट खेतीयोग्य जग्गा गुमाएका किसानलाई भेटिभरको सहयोगमा ठुलो राहत पुग्दछ । नदीतटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान र ज्वारभाटाबाट पनि भेटिभरको बिरुवाले जोगाउनका साथै पानीको उच्च बहावलाई पूर्णरूपमा सुस्त बनाइदिन्छ । नङले जसरी औँलाहरूको सुरक्षा गर्दछ, त्यसरी नै भेटिभरले माटोको संरक्षण गर्ने भएकाले भेटिभरलाई ‘जिउँदो माटोको नङ’ सँग पनि तुलना गर्न सकिन्छ ।
कसरी हुन्छ पहिरो रोकथाम ?
भेटिभरले जैविक तटबन्धका रूपमा प्रभावकारी कार्य गर्छ । यस वनस्पतिको जरा तीनदेखि पाँच मिटरसम्म जमिनमुनि बढ्ने हुँदा माटालाई बाँधेर राखी भूक्षय हुन दिँदैन । छिटो बढ्ने र लामो जरा सञ्जाल हुने हुँदा यसले बिरुवा रोपेको छोटो समयमा नै प्रभावकारी काम गर्छ । जमिनमुनिको पानीको प्रवाहलाई फैलाउँछ र बलौटे माटो छान्दछ । भेटिभरको राम्रो गाँज (हेज) ले वर्षाको बहावलाई ७० प्रतिशतसम्म रोक्दछ भने बलौटेपन ९० प्रतिशतसम्म रोक्दछ । नदीतटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान रोक्न जैविक पर्खालको काम गर्दछ । यसको बिरुवा हुर्किएको छ महिनामा नै जरा फैलिएर पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एकापसमा जोडेर र समातेर राख्दछ ।
यसको जरा, बलियो रेसेदार, एक झुण्ड भएर जमिनको १२ फिटभन्दा तल्लो सतहसम्म माटोलाई मजबुत पकड गर्दै गहिराइतर्फ जान्छ । दुई फिटसम्मको गाँज हुने भएकोले एक गाँजको जराले अर्को गाँजको जरासँगको सम्बन्ध बलियो बनाई माटोको रक्षा गर्दछ । जुनसुकै प्रकारको माटोलाई पनि यसको जराले मजबुत पकड गर्दै जमिनको तल्लो सतहसम्मको माटोलाई एकढिक्का गर्दछ । यसबाहेक नदीको धार परिवर्तनको रोकथाममा पनि यसले जैविक इन्जिनियरिङको काम गर्छ । भिरालो जमिनमा लहरै रोपिएका भेटिभरले पानीलाई रोक्ने छेकवारको जस्तै काम गर्छ । यसले पानीको बहावको गति घटाउने र पानीलाई माटोमै शोषण गरी राख्ने भएकाले भूक्षय हुन दिँदैन । ढुङ्गा, बालुवा, मिसावट भएको जमिनमा पनि यसको जराको झुण्डले ढलान स्थिरीकरण गर्दै कुनै प्रकोपले असर नपार्ने गरी पकड गर्छ । जमिनमाथि यो लगभग पाँच फिट उचाइसम्म जान्छ । चाँडो बढ्ने र जरा फैलने भएकाले कमजोर, बगिरहने माटोलाई निकै कडाइका साथ आपसमा जोडेर (बाइन्डिङ गरेर) राख्छ । जमिनमुनि तारजालीजस्तै १० फिटसम्म जान सक्ने भएकाले रोपेको ठाउँमा पहिरो जाने सम्भावना नै हुँदैन भने नदी आसपासमा लगाए कटानलाई सजिलै नियन्त्रण गर्न सकिन्छ ।
भेटिभरको उच्च वाष्प ट्रान्सपिरेसन क्षमताको कारणले ओसिलो खपत हुन्छ र प्रदूषकहरूले बोटको वृद्धिलाई मलजल गर्न सूक्ष्म र म्याक्रोपोषक तत्वको रूपमा काम गर्दछ । जमिनको पानी र सतहको पानीका स्रोतहरूलाई थप संरक्षण हुन्छ । यसले पहिरो पुनर्वास र रोकथाम, जलाधार संरक्षण, नदी किनारा र तटीय संरक्षण गर्छ । भेटिभर यसको जरा संरचना र कठोर वातावरणीय अवस्थाहरूमा सहिष्णुताजस्ता अन्य विशेषताहरूका कारण यो समस्या समाधान गर्नको लागि विशेषरूपमा उपयुक्त छ ।
विश्वमा भेटिभरको प्रयोग
अफ्रिका, अमेरिका, एसिया महादेश, क्यारेबियन, प्रशान्त तटका विभिन्न मुलुकमा पछिल्लो १० वर्षमा गरिएको अनुसन्धानले बाढीको गति घटाउन र भूक्षय रोक्न भेटिभरको प्रयोग निकै प्रभावकारी भएको देखाएको छ । विश्वमा बाढी, पहिरो, सडकको दायाँबायाँ, नदी किनार, सिँचाइ नहर र तटीय क्षेत्रहरूको संरक्षणमा पनि यसको प्रयोग भइरहेको छ । सन् १९९४ मा अस्ट्रेलियाको क्विन्सल्यान्डमा ल्यान्डफिल लिचेट नियन्त्रणको लागि भेटिभर घाँस प्रयोग गरिएको थियो । त्यसबेलादेखि यो अस्ट्रेलिया, चीन, भारत, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, अमेरिका र भियतनाममा व्यापकरूपमा प्रयोग गरिँदै आएको छ । भारी धातु र नुन भएको लिचेट (दूषित) लाई भेटिभरको अद्वितीय विशेषताहरूले उपचार गर्दछ । भारत, अमेरिका, केन्या, थाइल्यान्डलगायतका मुलुकका सडक र नदी किनारमा भूक्षय रोक्न भेटिवरको प्रशस्तरूपमा रोपण गरिएको छ । भारतको आन्ध्र प्रदेशमा गरिएको प्रयोगले पानीको बहावमा ६९ प्रतिशत र भूक्षयमा ७६ प्रतिशत कमी आएको देखाएको छ । भेटिवरको प्रयोगले भूक्षयलाई प्रतिहेक्टर ११ टनबाट तीन टनसम्म घटाएको पाइएको छ ।
सन् २००५ मा ब्रिसबेन, अस्ट्रेलियामा ल्यान्डफिल साइटको छ हेक्टर क्षेत्रफलमा रोपिएको भेटिभरले उत्कृष्ट नतिजा दिएको थियो । विश्वका धेरै देशमा कृषि सबलीकरण तथा गरिबी निवारणका क्षेत्रमा वरदान साबित भएको छ ।
अन्य उपयोगिता
भेटिभरको प्रयोग बाढी पहिरो नियन्त्रणमा मात्र नभई अन्य विभिन्न उपयोगमा ल्याउन सकिन्छ । जमिनमा रहेका दूषित तत्व सोस्ने हुँदा पानी शुद्घीकरण गरी पानीका मुहान संरक्षण गर्न पनि मद्दत गर्छ । वाग्मती, विष्णुमतीजस्ता नदी शुद्धीकरणका सन्दर्भमा भेटिभर प्रभावकारी जैविक अस्त्रका रूपमा अग्रणी रहन सक्छ । बाँझो, बन्जर, विभिन्न औद्योगिक तथा रासायनिक फोहोर व्यवस्थापनका कारणले प्रदूषित भूमि पुनःस्थापनाको प्रभावकारी जैविक विकल्प भेटिभर हो । यसको जराले धमिलो पानीलाई समेत छानेर सफा बनाउँछ । ल्यान्डफिल साइटहरूमा धेरै पानी लिने केरा र उखुभन्दा पनि यो वनस्पति उत्तम देखिएको छ । घना र तिखारिएका पात हुने भएकाले कुनै जीवजन्तुले पनि नखाने हुँदा खेतबारीमा बारको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
गरिबी निवारणको प्रभावकारी समाधान भनेको रोजगारीको अवसर सिर्जना गर्नु हो । खेतीयोग्य ठुलो जग्गा बर्सेनि बगरमा परिणत भएकोले यस्ता जग्गालाई भेटिवरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन सकिन्छ । नेपालमा विभिन्न कारणले १० लाख हेक्टर जग्गा बगर तथा बाँझो रूपमा छ । भेटिवरको खेती गरेपछि बगर जग्गा उर्वर भूमिमा परिणत हुन्छ । बाढीले बगरमा परिणत गरेका जग्गाधनी किसानलाई पनि रोजगारीको अवसरमा जोड्न सकिन्छ । खेतबारीको बिच भागमा अन्य खेती गरे पनि यसलाई वरिपरि बारको रूपमा समेत लगाउन सकिन्छ । आगो लगाउँदासमेत नमासिने हुँदा यसले वनजङ्गलमा लाग्ने डढेलो नियन्त्रणमा पनि सहयोग पुग्दछ ।
भेटिभर हरित इन्धनको एक महत्वपूर्ण स्रोत पनि हो । भेटिभरलाई हरित इन्धन उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । यसबाट बायोमास, बायोग्यास र बायो सिएमजी उत्पादन गर्न सकिन्छ । हाल नेपालले वार्षिक झन्डै रु. तीन खर्बको खनिज इन्धन आयात गरिरहेको छ । ग्रामीण क्षेत्रमा दाउरा मुख्य ऊर्जाका रूपमा प्रयोग भइरहेका अवस्थामा भेटिभरबाट उत्पादन हुने ब्रिकेटले रुख कटान नियन्त्रण गर्न भूमिका खेल्छ । त्यति मात्र होइन, भेटिभरको डाँठबाट विभिन्न हस्तकलाका सामान र जराबाट अत्तर बनाउन सकिन्छ । भेटिभरको समुचित प्रयोगमार्फत दिगो विकासको अवधारणाअन्तर्गतका १७ वटा लक्ष्य पूरा गर्न सहयोग पुग्दछ । गरिबी निर्मूलीकरण, भोकमरी उन्मूलन, राम्रो स्वास्थ्य र जनकल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइ, किफायती र स्वच्छ ऊर्जा, सभ्य काम र आर्थिक वृद्धि, उद्योग, नवप्रवर्तन र पूर्वाधार, समानता, दिगो सहर र समुदाय, जिम्मेवार उपभोग र उत्पादन, जलवायु कार्य, पानीमुनिको जीवन, भूमिमा जीवन, शान्ति, न्याय र बलियो संस्था तथा लक्ष्यहरूका लागि साझेदारी सन्दर्भमा भेटिभरले महत्वपूर्ण योगदान दिन सक्दछ । रासस
Leave a Reply