भर्खरै :

भाषा दिवस २०८३ सम्पन्न

भाषा दिवस २०८३ सम्पन्न

भक्तपुर, २४ वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख अनतिथ्यमा बिहीबार भाषा दिवस कार्यक्रम २०८३ सम्पन्न भयो ।
वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल तामाङ घेदुङ र नेवाः देय दबुको सहकार्यमा संयुक्त रूपमा आयोजना भएको उक्त कार्यक्रममा मुख्यमन्त्री बानियाँले भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पु¥याएका नेवारी भाषा साहित्यका डा. पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यमा योगदान पु¥याएका राजेन्द्र थोकरलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयनमा आएको दिनको अवसरमा बिहीबार विविध कार्यक्रम गरी मनाइएको जानकारी दिँदै भाषा सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार भएको उल्लेख गर्नुभयो ।
वाग्मती प्रदेश बहुभाषिक, बहुजातीय र बहुसङ्ख्यक विशेषता बोकेको प्रदेश भएको स्पष्ट पार्दै उहाँले सबै भाषाको संरक्षण र सम्मान आवश्यक रहेको बताउनुभयो ।
मातृभाषाको संरक्षण गर्नु भनेको आफ्नो इतिहास, संस्कृति र पहिचान रक्षा गर्नु हो भन्दै मुख्यमन्त्री बानियाँले संविधानले सुनिश्चित गरेको भाषिक अधिकारको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा दिवसलाई नारा र कार्यक्रममा सीमित नराखी यसको व्यवहारिक कार्यान्वयनतर्फ प्रदेश सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
भाषा लोप हुनु भनेको देशको महत्वपूर्ण सम्पत्ति लोप हुनु हो भन्दै उहाँले भाषा र संस्कृति रहेन भने हाम्रो पहिचान नै गुम्दै जाने बताउनुभयो ।
प्रमुख प्रजापतिले भाषा सम्मेलनको आयोजना र स्मारिका प्रकाशनमा जोड दिँदै भक्तपुर नगरपालिकाले पाक्षिक रूपमा नेपालभाषाको पत्रिका ख्वप पौ प्रकाशन गर्दै आएको र नेपाल भाषा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले वाग्मती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरेअनुरूप बिहीबार प्रदेशभरका सरकारी कार्यालय तथा निकायमा सार्वजनिक बिदा दिइएको बताउनुभयो ।
उक्त कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल तामाङ घेदुङका महासचिव जगत डोङ, नेवाः दे दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दीपेन्द्र सुवेदी, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रदेश भाषा दिवसको अवसरमा भक्तपुर क्याम्पसअगाडि दूधपाटीबाट प्रभातफेरी सुरु भई कमलविनायक हुँदै लान्चा फल्चा पुगी कार्यक्रम सम्पन्न भएको थियो ।
¥यालीमा वाग्मती प्रदेशका मन्त्रीहरू, सभासद्हरू, मध्यपुरथिमिका प्रमुख, चाँगुनारायण नगरपालिकाका प्रमुख, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, पत्रकार महासङ्घका प्रतिनिधि, प्रदेश सरकारका कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग, जनसमुदाय र पत्रकारहरूको उपस्थिति थियो ।
मुख्यमन्त्री बानियाँले भाषा दिवसको अवसरमा स्मारिका विमोचन गर्नुभएको थियो भने भाषा दिवस कार्यक्रममा विभिन्न मौलिक बाजा र नाचहरू पनि प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *