भर्खरै :

सहकारी कृषि, घरेलु तथा साना उद्योग केन्द्रित हुनुपर्ने

सहकारी कृषि, घरेलु तथा साना उद्योग केन्द्रित हुनुपर्ने

भक्तपुर, ३ असोज । त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाको ते¥हौँ साधारणसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिहीबार गर्नुभयो ।
सांसद सुवालले संविधान देशको राजनीतिक, आर्थिक, सांस्कृतिक दस्ताबेज हुनुपर्ने उल्लेख गर्दै अर्थतन्त्रको तीन स्तम्भ सरकारी–सहकारी–निजीमध्ये सहकारीमा विकृति बढेको उल्लेख गर्नुभयो ।
सहकारीको सिद्धान्त स्थानीय जनतामा आधारित र कृषि, घरेलु तथा साना उद्योगकेन्द्रित हुनुपर्ने उल्लेख गर्दै सांसद सुवालले सहकारी ठगहरू झूटा ऋणी, झूटा धितो, झूटा सम्बन्ध विच्छेदमा लागेको सार्वजनिक भएको बताउनुभयो ।
“सहकारी संस्थाले ज्येष्ठ नागरिक आदर निकेतन सञ्चालन गरिए सदस्यहरूको थप सेवा पुग्ने छ । सदस्यहरूलाई सङ्गीत प्रशिक्षण सञ्चालन गर्नु उपयुक्त हुनेछ । सदस्य र छोराछोरीहरूलाई इमानदार र देशभक्त बनाउनु जरूरी छ”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
रूसविरूद्ध युक्रेनलाई र प्यालेस्टिनविरूद्ध इजरायललाई अमेरिकाबाटै हतियार उपलब्ध गराइएको हुँदा विश्वमा अशान्ति बढेको उल्लेख गर्दै सांसद सुवालले नेपाल सरकारले संरा सङ्घमा रूसविरूद्ध युक्रेनको पक्षमा मत दिएको असंलग्नताविपरीत भएको बताउनुभयो ।
देशको सन्तुलित विकास गर्नु जरूरी छ । विज्ञहरूले काठमाडौँ उपत्यकाको माटो मलिलो भएको हुँदा सडक र भवनलगायत संरचनाको लागि ढुङ्गा, गिट्टी, बालुवाको भार थेग्न नसक्ने बताएका छन् । यसबारे सरकार समयमै सचेत हुनु आवश्यक छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“नेपाल मजदुर किसान पार्टीले जातीय होइन वर्गीय राजनीति गर्दै आएको छ । विसं २०२८ सालमा भारतको नक्सालवारीमा सुरू भएको व्यक्तिहत्या र नेपालको झापामा भएको व्यक्तिहत्यालाई नेमकिपाले विरोध गरेको हो । विसं २०३५ सालमा भारतको गोरखपुरमा प्रतिक्रियावादीहरूले पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को हत्याको दुष्प्रयास गरेका थिए । विसं २०४५ सालमा नेमकिपालाई समाप्त पार्न नेता र कार्यकर्ताविरूद्ध झूटा ज्यान मुद्दा चलाइयो । विसं २०५२ सालदेखि २०६२ सालसम्म माओवादी सशस्त्र द्वन्द्वलाई नेमकिपाले अराजकतावादी भनी खण्डन गरेको हो”, सांसद सुवालले स्पष्टसँग राख्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूमा ७७ जिल्लाका झन्डै ४२ हजार विद्यार्थीले अध्ययन गर्ने अवसर पाएको उल्लेख गर्दै सांसद सुवालले ख्वप विश्वविद्यालयको विधेयक पारित भए भनपाले नेपाल ट्रस्टको जिम्मामा रहेको सल्लाघारीस्थित १०८ रोपनी जग्गामा शिक्षण अस्पताल सञ्चालन गरी चिकित्सा शिक्षा सञ्चालन गर्ने बताउनुभयो ।
सांसद सुवालले नेपालका दुई छिमेकी भारतभन्दा चीनको अर्थतन्त्र सबल भएको हुँदा नेपालले चीनबाट सिकेर नेपालको गरिबी उन्मूलन र आर्थिक विकास गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष राजकृष्ण गोरा, संस्थाका अध्यक्ष दिनेश धौबन्जार, टङ्क श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *