चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२

भक्तपुर, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३४ औँ स्थापना दिवस (असोज ३) को अवसर पारी नेक्रायुसङ्घ केन्द्रीय समितिको आयोजनामा बिहीबार इजरायली फासीवादको विरोध तथा प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धतासहित साहित्य गोष्ठी सम्पन्न गरेको छ ।
उक्त गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले नेमकिपाले अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादकोे अत्याचारविरुद्ध संसद्, सडक तथा चोकचोकबाट आवाज बुलन्द गरेर पार्टीको अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको बताउनुभयो ।
उहाँले पार्टी प्रकाशनहरूको गहिरो अध्ययन गरी युवाहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयबारे जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले महिना महिनामा साहित्य गोष्ठी गरी युवाहरूलाई साहित्यमार्फत जनताको सेवा गर्न उत्साहित गर्नुपर्ने र नयाँ साहित्यकारहरू तयार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले साम्राज्यवाद, जातिवाद र फासीवाद मानव जातिकै शत्रु हुन् भन्ने कुरा व्यापक जनतामाझ पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रायुसङ्घका केन्द्रीय पूर्वअध्यक्ष उकेश कवांले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएकोे विसङ्गतिविरुद्ध युवाहरूको आवाज विध्वंसकारी आक्रमण हुनुपूर्व नै तयारी अवस्थामा रहनुपर्ने बताउँदै आमूल परिवर्तनको निम्ति सङ्घर्ष गर्न तयार रहन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह बिकले विश्व कम्युनिस्ट आन्दोलनमा चीन, क्युवा, प्रजग कोरिया, रसियाको योगदानसँगै नेमकिपाको सिद्धान्त र नीति पनि रहेको बताउँदै आआफ्नो गाउँठाउँको राजनीतिक गतिविधिबारे जानकार हुनुपर्ने बताउँदै नयाँ पुस्ता र बहुमत जनताको हितको लागि साहित्य सिर्जना गर्न उत्साहित गर्नुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय पूर्वअध्यक्ष प्रकाश थुसाले इजरायलले गरिरहेको नरसंहारको विरोधबाट सहयोग, तालिम तथा रोजगारी गुम्ने दलालहरूको भाष्यलाई चिर्नुपर्ने बताउँदै प्यालेस्टिनी जनताको सङ्घर्ष साम्राज्यवाद र फासीवादविरोधी आन्दोलनको निरन्तरता भएको बताउनुभयो ।
उहाँले प्यालेस्टिनबारेको साम्राज्यवादी दुष्प्रचार चिर्नमा युवाहरूको सक्रियता महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटाले अन्यायविरुद्ध न्याय, शोषणविरुद्ध मुक्ति र निरङ्कुशताविरुद्ध स्वतन्त्रताको पक्षको साहित्य सिर्जना आवश्यक भएकोमा जोड दिनुभयो ।
उक्त साहित्य गोष्ठीमा ३४ जना साहित्यकार र कलाकारहरूले आफ्ना रचना र गीतसङ्गीतबाट प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाएका थिए ।
Leave a Reply