भर्खरै :

मध्यबिन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

मध्यबिन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

मध्यबिन्दु (नवलपरासी), ४ असोज । सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यबिन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो ।
नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो ।
फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उहाँले उल्लेख गर्नुभयो ।
अधिकारीले भन्नुभयो, “हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हेर्यौँ । मध्यबिन्दु नगरपालिकाभित्र हामीले सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।” गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम सुरु गरेको हो ।
फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । “एक ठाउँको फोहर अर्को ठाउँमा सारेर व्यवस्थापन ग¥यौँ भन्ने होइन, यसको दीर्घकालीन व्यवस्थापनसहित आयआर्जनसँग जोड्ने गरी हामीले सुरुवात गरेका छौँ,” उहाँले भन्नुभयो ।
फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ । मध्यबिन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु गरेको फोहर सङ्कलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो ।
“जैविक मल उत्पादनका लागि आवश्यक मिश्रणका लागि स्थानीय सामुदायिक वनबाट हरियो घाँस, सुकेका पात सङ्कलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको स्रोतसमेत वृद्धि भएको छ,” उपप्रमुख चौधरीले भन्नुभयो ।
सरसफाइ प्रवद्र्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । क्रमशः सहरीकरणको सुरुको चरणमा रहेको मध्यबिन्दुमा अहिलेदेखि फोहरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
घर्तीले भन्नुभयो, “कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्न आवश्यक गोबर सङ्कलनका लागि छाडाचौपाया व्यवस्थापन समेतसँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ । यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक संरचना निर्माणको चरणमा छ ।”
उत्पादित जैविक मलमा आवश्यक तत्व रहे/नरहेको प्रयोगशालामा नियमित परीक्षण हुने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताउनुभयो । उत्पादित जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ ।
हालसम्म फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापनामा कुल रु. चार करोड ३७ लाख ९८ हजार तीन सय ७४ खर्च भएको सरसफाइ प्रवद्र्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक इञ्जिनियर विवेक पोखरेलले बताउनुभयो । “पुँजीगततर्फ रु. तीन करोड दुई लाख १६ हजार तीन सय ६४ खर्च भएकोमध्ये गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रमबाट रु. एक करोड ३५ लाख ८२ हजार खर्च भएको छ,” उहाँले भन्नुभयो ।
फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना भएसँगै फोहर व्यवस्थापन, रोजगारी सिर्जना, छाडाचौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोड्ने काम भइरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । योसँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र प्राङ्गारिक उत्पादनलाई सहयोग पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *