धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पाल्नुभएका विभिन्न देशका विश्वविद्यालयहरूका प्राध्यापकहरू, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरू सम्पूर्ण सहभागीहरूलाई सांस्कृतिक नगर भक्तपुरको तर्फबाट हार्दिक स्वागत एवम् अभिवादन गर्दछौँ ।
त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभाग र नगरपालिकाबिच समन्वय र सहकार्य हुँदै आएको छ । २०८१ वैशाख २५ गते भक्तपुर नगरपालिका र त्रिवि नेपाली इतिहास, संस्कृति र पुरातत्व, केन्द्रीय विभागको सहकार्यमा ‘भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धनात्मक कार्यशाला गोष्ठी’ सम्पन्न ग¥यौँ । भविष्यमा पनि त्यस्ता कार्यक्रमहरू आयोजना गर्दै जानेछौँ । विभिन्न देशका विश्वविद्यालयहरूबाट पाल्नुभएका प्राध्यापकहरूसँग भेटघाटको अवसर दिनुभएकोमा भक्तपुर नगरपालिकाको तर्फबाट विभाग प्रमुख डा. महेशकुमार आचार्यलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
देशको सानो नगरमध्ये एक भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगर हो । सांस्कृतिक नगर, नाचगानको राजधानीको रूपमा परिचित यस भक्तपुर नगरमा मूर्त तथा अमूर्त कला संस्कृति तथा सम्पदाहरू जीवन्त देख्न पाइन्छ । यहाँका विविध पक्षको अध्ययन गरेर जर्मनी वास्तुकलाविद् निल गोत्सोले ‘भक्तपुरलाई संसारकै ठुलो जीवित सङ्ग्रहालय’ को नाम दिनुभएको छ ।
नेपालका सातवटा विश्व सम्पदामा सूचिकृत क्षेत्रहरूमध्ये भक्तपुर दरबार क्षेत्र यस नगरपालिकामा अवस्थित छ । दरबार क्षेत्र, टौमढी र दत्तात्रय क्षेत्र यहाँका सांस्कृतिक, ऐतिहासिक र पुरातात्वक महत्व बोकेका उत्कृष्ट क्षेत्रहरू हुन् । दरबार क्षेत्रमा अवस्थित ५५ झ्याल दरबार, सुन ढोका र वत्सला मन्दिर टौमढीको देशकै अग्लो ५ तले मन्दिर र भैरवनाथको मन्दिर तथा दत्तात्रय क्षेत्रका मठ मन्दिरहरू धातुकला, प्रस्टरकला र काष्ठकलाका अनुपम नमुनाहरू हुन् ।
सयौँ वर्ष पुराना हाम्रा सम्पदाहरू संरक्षणको अभावमा कतिपय लोप भइसके, कतिपय लोपोन्मुख अवस्थामा छन् भने धेरै सम्पदाहरू संरक्षण गरिरहेका छौँ । लोप भइसकेका सम्पदाहरूको अध्ययन, अनुसन्धान र उत्खनन गर्दै प्राचीन मौलिकतालाई ध्यान दिएर संरक्षण गर्दै आइरहेका छौँ । २०७२ सालको भूकम्पले सयौँ सम्पदाहरूलाई क्षति पु¥याए पनि हामीले यस ७ वर्षको अवधिमा विदेशी सहयोगबिना जस्ताको तस्तै पुनःनिर्माण र जीर्णोद्धार गरिसकेका छौँ ।
भक्तपुरको प्राचीन नगर एक सम्पदा सहर हो । यहाँको मौलिकता बचाइराख्न भनपाको ठुलो चुनौती हो । यहाँका मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षणका लागि भनपाले २०५० सालदेखि पर्यटन शुल्क उठाइआएको हो । त्यही शुल्कबाट भक्तपुरका सम्पदाहरूको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, सरसफाइलगायतको क्षेत्रमा खर्च गर्दै आएको छ ।
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था छ । स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिएको सरकार हो । भक्तपुर नगरपालिकामा शत प्रतिशत जनप्रतिनिधिहरू नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित भएका छौँ । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी हो । यस पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ । देश र जनताको सेवा नै यस पार्टीको मुख्य उद्देश्य हो ।
नारायणमान बिजुक्छेँले यस नगरको भविष्यको कल्पना गर्दै ‘१०० वर्षपछिको भक्तपुर’ नामक एक पुस्तक लेख्नुभयो । आजभन्दा २० वर्षअघि लेख्नुभएको उक्त पुस्तक नै अहिले भक्तपुर विकासको मार्गचित्र बनेको छ । हामी त्यसैलाई आधार मानेर काम गर्दै छौँ । पुस्तकमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, रोजगारी सबै दृष्टिले भक्तपुर ‘विश्वकै एक आकर्षक नगर बन्ने’ उल्लेख गर्नुभएको छ ।
नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ । ती कलेजहरूले हरेक वर्ष विभिन्न विषयमा राष्ट्रिय सम्मेलन र २ वर्षको एकपटक अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्दै आएका छन् । आगामी अन्तर्राष्ट्रिय सम्मेलनमा यहाँहरूको विश्वविद्यालयहरूबाट पनि सहभागिताको अपेक्षा गर्दछौँ ।
इतिहास र संस्कृतिको महत्वलाई ध्यानमा राखेर भक्तपुर नपाले ती विषयहरूमा अध्ययन गर्ने सम्पूर्ण नगरवासी विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । यसले ती विषयहरूमा विद्यार्थीहरूको आकर्षण पनि बढ्दै छ । पुनः सबैलाई नगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्दछौँ ।
(त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको आयोजनामा अमूर्त संस्कृतिसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रशान्त क्षेत्रका विश्वविद्यालयको साधारणसभामा पाल्नुभएका प्रतिनिधिमण्डल टोलीलाई २०८१ असोज ७ गते भक्तपुर नगरपालिकामा स्वागत कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply