भर्खरै :

लेबनानलाई अर्काे गाजा बन्न नदेऔँ : इरानी राष्ट्रपति पेजेस्कियन

लेबनानलाई अर्काे गाजा बन्न नदेऔँ : इरानी राष्ट्रपति पेजेस्कियन

तेहरान, ८ असोज (एएफपी) । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ ।
“पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन”, पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो ।
उहाँले “लेबनानलाई अर्को गाजा बन्न नदिन” अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । लेबनानमा सोमबार भएको इजरायली हमलामा ३५ बालबालिका सहित करिब ५०० जनाको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू र सर्वसाधारण जनता मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।
इरानले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई इजरायलविरुद्ध तत्काल कारबाही गर्न आह्वान गरेको छ ।
“इरान उदासीन रहनेछैन”, विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ ।”
हिजबुल्लाहको सञ्चार उपकरण लक्षित आक्रमणमा ३९ जनाको मृत्यु भएको र लगभग तीन हजार घाइते भएको एक हप्ताभन्दा पनि कम समयमा इजरायली आक्रमणहरू सुरु भएका हुन् ।
संयुक्त राष्ट्र सङ्घको वार्षिक महासभाका लागि न्यूयोर्क भ्रमणमा रहनुभएका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाउनुभएको छ ।
“यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पु¥याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ”, पेजेस्कियनले गोलमेज सम्मेलनमा सञ्चारकर्मीलाई भन्नुभयो, “इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ ।”
इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उहाँले बताउनुभयो । तर कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पुर्याउने अनुमति नभएकोमा उहाँले जोड दिनुभयो ।
पेजेस्कियनले ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमण गर्ने
यसैबिच इरानी राष्ट्रपति मसूद पेजेस्कियनले ब्रिक्स शिखर सम्मेलनमा भाग लिन अर्को महिना रुसको भ्रमण गर्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी रहेको सरकारी प्रवक्ताले मङ्गलबार बताउनुभएको छ ।
अक्टोबर २२ देखि २४ सम्म कजानको भोल्गा उपत्यका सहरमा हुने ब्रिक्स शिखर सम्मेलनमा पेजेस्कियनले जुलाईको अन्त्यमा पदभार सम्हालेपछि रुसको पहिलो भ्रमण हुनेछ ।
ब्रिक्स सन् २००९ मा पाँच प्रमुख उदीयमान अर्थव्यवस्था ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको नाम जोडेर स्थापना गरिएको क्षेत्रीय सङ्गठन हो । हाल यो इरानसहित केही मध्यपूर्वी देशलाई समावेश गर्न विस्तार गरिएको छ ।
“राष्ट्रपतिले ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भ्रमण गर्नुहुनेछ”, इरानी सरकारका प्रवक्ता फातेमा मोहाजेरानीले सञ्चारकर्मीलाई बताउनुभयो , “उहाँले रुसका राष्ट्रपतिसँग द्विपक्षीय बैठक पनि गर्नुहुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *