भर्खरै :

भक्तपुरमा सञ्चालित नापतौल डोर कार्यक्रममा ६८० व्यापारी व्यवसायी लाभान्वित

भक्तपुरमा सञ्चालित नापतौल डोर कार्यक्रममा ६८० व्यापारी व्यवसायी लाभान्वित

भक्तपुर, ८ असोज । भक्तपुर उद्योग वाणिज्य सङ्घ र जिल्लास्थित नगरपालिकाहरूको सहकार्यमा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६८० जना व्यवसायीहरूले सेवा प्राप्त गरेका छन् ।
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरूको टोलीले भक्तपुर जिल्लाका चारवटै नगरपालिकाका विभिन्न स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । गत भाद्र १८ गतेदेखि भक्तपुर नगरपालिकाको वशगोपालमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सुरु गरिएको थियो । भक्तपुर नगरपालिकाका ६ स्थानमा सञ्चालन गरिएको कार्यक्रमबाट २१४ जना व्यापारी व्यवसायीहरूले नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरण गराएको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार चाँगुनारायण नगरपालिकाका विभिन्न ५ स्थानमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १०६ जना व्यापारी व्यवसायीहरू लाभान्वित भएका थिए । यसैगरी, सूर्यविनायक नगरपालिकाका २ स्थानमा सञ्चालित नापतौल डोर कार्यक्रममा १८८ जना व्यापारी व्यवसायीहरूले सेवा प्राप्त गरेको सङ्घका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन समितिका संयोजक विश्वराम दुवालले बताए । उनका अनुसार मध्यपुर थिमी नगरपालिकाका ३ स्थानमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १७१ जना व्यापारी व्यवसायीहरूले आफूहरूले प्रयोग गर्दै आएका नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरण गराएका थिए ।
यसैबीच, सङ्घले एक कार्यक्रमको आयोजना गरी नापतौल डोर कार्यक्रममा सहभागी गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरका कर्मचारीहरूलाई धन्यवाद ज्ञापनसहित सम्मान गरेको छ । सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले कर्मचारीहरूलाई खादा ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष धौबन्जाले डोर कार्यक्रमबाट जिल्लाका व्यापारी, व्यवसायीहरू आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरूको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *