क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
हजारौँ परिवारले आफ्ना मृत छोराछोरीलाई जथाभावी सामूहिक चिहानमा पुर्दै छन् । इजरायलले नियोजितरूपमा गाजापट्टीका प्रत्येक इलाकामा ११ महिनादेखि गर्दै आएको मारकाटको नतिजा हो यो । इजरायली सैनिकले आफ्ना स्वजनको अन्त्येष्टिका लागि यी कामचलाउ चिहानमा पस्न खोज्ने प्यालेस्टिनीहरूलाई तारो बनाइरहेको हुनाले अवस्था झन्झन् कष्टकर हुँदै छ ।
युरो–मेड मोनिटर नामक मानवअधिकारवादी संस्थाले उत्तर, मध्य र दक्षिण गाजामा यत्रतत्र स्थापित सामूहिक चिहानका स्थान र मिति दर्ज गरी विस्तृत नक्सा नै तयार पारेको छ । ३० स्थानमा बनाइएका यी चिहानमा इजरायली जातिसंहारबाट पीडित करिब ३ हजार मृतकलाई गाडिएको छ । यसबाहेक एकै ठाउँमा दुई–चारजनालाई गाडिएका १२० भन्दा बढी चिहान छरिएको अवस्थामा पाइएको छ । यी चिहान गाजापट्टीमा गत अक्टोबरयता बनाइएका हुन् ।
कतिपय चिहान घरभित्र पाइएको छ भने कतिपय सार्वजनिकभन्दा पनि निजी क्षेत्रमा पाइएको छ । केही चिहानलाई नयाँ स्थानमा पनि सारिएको छ । अधिकतर चिहानको कुनै लेखाजोखा नराखिएको हुनाले तिनको सङ्ख्या र स्थान निरन्तर फेरिँदै छ । अर्कोतिर इजरायलको कब्जाकारी सेनाले निरन्तर पुराना र नयाँ कामचलाउ चिहानमाथि बुलडोजर चलाइरहेको छ । यसले गर्दा पीडितको लास चिन्नै नसकिने गरी बिग्रेका छन् भने केही लास उनीहरूले चोरिरहेको पनि पाइएको छ । यो अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो ।
अल–बात्श चिहान गाजा सहरको पूर्वमा पर्ने अल–तुफाह टोलमा पर्छ । यो गाजापट्टीकै सबैभन्दा ठुलो सामूहिक चिहान हो । गाजामाथि इजरायलले सुरु गरेको जातिसंहारक युद्धको दुई हप्ताभित्र २०२३ अक्टोबर २२ मा बनाइएको यस चिहानमा ५०० देखि १००० मानिसलाई गाडिएको छ ।
युरो–मेड मोनिटरका गणकहरूले २०२३ अक्टोबर १५ मा अल–शिफा अस्पतालमा स्थापित पहिलो सामूहिक चिहान यता गाजाभरि बनाइएका सामूहिक चिहानहरूको लगत राख्दै आइरहेका छन् । त्यस बेलादेखि नै पीडितका लासलाई गाजा सहरमा पठाउन असम्भव बनेको थियो । एक त लासको सङ्ख्या ह्वात्तै बढेको थियो भने इजरायली सेनाको खतरा अर्को थियो । समयक्रममा एकपछि अर्को गर्दै नयाँ–नयाँ सामूहिक चिहान थपिँदै अहिले तिनको सङ्ख्या कम्तीमा १२० पुगेको छ ।
यी चिहान आवास क्षेत्रभरि बनाइएका छन् । कतिपय घर अनि अस्पतालको पछिल्तिर बनाइएका छन् भने कतिपय आँगनमा बनाइएका छन् । कतिपय दोबाटो र बिहेवारी गरिने पार्टी प्यालेसमा बनाइएका छन् भने कपितय खेल मैदान, विद्यालय र मस्जिदमा बनाइएका छन् ।
गाजा सहरमा युरो–मेड मोनिटरको अनुसन्धान गरिरहेका अध्येताले भने, “यत्रतत्र सामूहिक चिहान बनाइनु गाजामा एउटा परिघटना नै बनेको छ ।” सुरक्षा कारणले यहाँ उनको नाम खुलाइन्न । उनले भने, “सडकमा, दुई सडकका बिचमा, बजारमा र आवासीय भवनहरूमा सर्वत्र चिहान छन् । टोलवासीहरूले मरेका नातागोताको स्मारक बनाउन विभिन्न साधन प्रयोग गर्दै छन् । प्रयोग गर्नुपर्ने सिमेन्ट र ढुङ्गा थियो । तर, अहिले प्लास्टिकका ट्रे, प्लास्टिकका भाँडा, ग्यालेन, जग, काठ, गद्दालगायत विभिन्न घरायसी सामानको प्रयोग भइरहेको छ ।”
इजरायलको लगातारको बमवर्षा र व्यक्ति–व्यक्तिलाई ताकेर मार्ने खतराकै कारण मुख्य चिहानसम्म लग्न नसकेपछि मानिसहरूले आफ्ना आफन्तलाई जता पायो त्यतै चिहान बनाएर गाड्दै छन् । यसबाहेक इजरायली सेनाले गाजाका प्रशासनिक तथा अन्य पूर्वाधार ध्वस्त पारेको र कसिलो नाकाबन्दी लगाइरहेको हुनाले चिहानसम्म लास लैजानलाई इन्धन तथा यातायातको अभाव छ । साथमा, मुख्य चिहानहरू लासैलासले भरिभराउ छन् ।
आधिकारिक दस्ताबेजमा दर्ज भएका कतिपय सामूहिक चिहानमा सनाखत हुन बाँकी लास छन् । जातिसंहारबिच यिनलाई महिनौँअघि गाडिएको थियो ।
युरो–मेड मोनिटरको टोलीले गाजापट्टीका विभिन्न स्थानमा फेला पारेका सामूहिक चिहान यसप्रकार छन् :
उत्तर गाजा
१. २०२३ डिसेम्बर ५ मा जबालिया शरणार्थी शिविर नजिकै पुलिस चौकीछेउ अल–वदा बजारमा बनाइएको एक सामूहिक चिहानमा १२० लास छन् ।
२. २०२३ नोभेम्बर १८ मा जबालिया शिविरको उत्तरमा पर्ने तेल अल–जाअतार टोलमा इन्डोनेसियाली अस्पतालको बगलमा बनाइएको सामूहिक चिहानमा २०० लास छन् ।
३. २०२३ डिसेम्बर ७ मा जबालिया शिविर बजारमा निर्मित सामूहिक चिहानमा १०० लास छन् ।
४. २०२३ डिसेम्बर २८ मा जबालिया शिविरमा जबालिया प्राथमिक पाठशाला (क) को पछिल्तिर बनाइएको सामूहिक चिहानमा ५५ लास छन् ।
५. जबालिया अल–बालादमा अल–ओमारी कार्यालयको अघिल्तिर पर्ने अल–रिफाइ पाठशालाको सामूहिक चिहानमा ७० लास छन् ।
६. जबालयिा अल–नाज्लाको दक्षिणमा अवस्थित हालिमा अल–सादिया पाठशालामा निर्मित सामूहिक चिहानमा २५० लास छन् । यीमध्ये केहीको पहिचान अझै खुलेको छैन ।
७. २०२३ डिसेम्बर ११ मा जबालिया शिविरको अल–यामान अस्पतालमा बनाइएको सामूहिक चिहानमा ४४ लास छन् ।
८. जबालियाको सुल्तान सडकको ब्लक–२ मा दुई सडकबिच बिरुवा लगाइने जमिनमा २०२३ नोभेम्बरमा एउटा सामूहिक चिहान निर्माण गरिएको छ ।

गाजा सहर
९. २०२३ नोभेम्बर १२–१४ मा अल–शिफा अस्पताल परिसरमा एउटा चिहान बनाइयो । त्यसमा झन्डै १७९ लास छन् ।
१०. २०२३ नोभेम्बर २५ मा निर्मित अल–सब्र चिहान (क) मा १०० भन्दा बढी लास छन् ।
११. अल–दाराज टोलमा पर्ने अल–शाबिया चौराहनजिकै रहेको अल–इस्तिक्लाल सडक चिहान (अल–क्वास) मा २०० भन्दा बढी लास छन् ।
१२. २०२३ डिसेम्बर ३१ मा अल–दहशान सडकमा अल–सब्र चिहान (ख) नामक नयाँ चिहान बनाइयो ।
१३. २०२३ अक्टोबर २२ मा गाजा सहरको पूर्वमा पर्ने अल–तुफाह टोलमा स्थापित अल–बात्श चिहानमा ५०० देखि १००० लास छन् ।
१४. मध्य गाजा सहरको अल–दाराज टोलमा पर्ने इजेदीन अल–कासम मस्जिदनजिकै अल–शाहबा सडकमा २०२३ डिसेम्बरमा एउटा सामूहिक चिहान बनाइयो । त्यसमा १५० लास छन् ।
१५. २०२३ डिसेम्बरमा मध्य गाजा सहरकै अल–दाराज टोलमा अल–सिद्र सडकमा नयाँ सामूहिक चिहान बनाइयो । त्यसमा २० लास छन् ।
१६. २०२३ नोभेम्बर १८ मा निर्मित अल–सब्र टोलको शाहिबार चिहानमा १०० देखि १२० लास छन् ।
१७. २०२३ नोभेम्बर २१ म अल–जितौन टोलमा बनाइएको इस्तिवी चिहानमा १५ लास छन् ।
१८. गाजा सहरको पूर्वमा पर्ने अल–शावा चोकमा सामूहिक चिहान छ ।
देयर अल–बलाह (मध्य गाजापट्टी)
१९. २०२४ जनवरी १४–१५ मा मध्य गाजापट्टीको अल–बुरीज शरणार्थी शिविरमा स्थापित उन्रा पाठशालामा सामूहिक चिहान बनाइयो ।
२०. २०२४ जनवरी ९ मा मध्य गाजापट्टीको अल–माघाजी शरणार्थी शिविरको कन्या प्राथमिक पाठशालामा सामूहिक चिहान बनाइयो । त्यसमा झन्डै १४ लास छन् ।
खान युनिस क्षेत्र (दक्षिण गाजापट्टी)
२१. २०२३ नोभेम्बर २२ मा पश्चिम खान युनिसमा बनाइएको सामूहिक चिहानमा १११ लास छन् ।
२२. पूर्वी खान युनिसमा पर्ने अबासान अल–कबिरा नगरको अब्दुल करिम अल–कारमी विद्यालयमा २०२४ जनवरी १४ मा निर्मित चिहानमा लगभग ९ लास छन् ।
२३. २०२३ जनवरीमा नासिर अस्पतालमा बनाइएका तीन सामूहिक चिहानमा झन्डै ३९२ लास छन् ।
२४. २०२४ जनवरी २९ मा अल–अमाल अस्पतालमा निर्मित सामूहिक चिहानमा ४ लास छन् ।
२५. २०२४ जनवरी २२ मा अल–अक्सा विश्वविद्यालयको प्राङ्गणमा एउटा सामूहिक चिहान बनाइयो ।
२६. २०२४ जनवरी २३ मा पश्चिम खान युनिसस्थित उन्रा औद्योगिक कलेजमा निर्मित चिहानमा १४ लास छन् ।
२७. इजरायली सेनाले अल–अघा परिवारले पश्चिम खान युनिस सहरको अस्ट्रियाली टोलमा स्थापना गरेको मूल चिहान ध्वस्त पारेपछि २०२४ जनवरी २२ मा सो परिवारले आफ्नै जमिनमानयाँ अल–अघा चिहानको निर्माण ग¥यो ।
रफाह (दक्षिण गाजापट्टी)
२८. २०२३ डिसेम्बरमा पश्चिम रफाहको तेल अल–सुल्तानमा निर्मित सामूहिक चिहानमा ८० लास छन् ।
इजरायलले ताकीताकी प्यालेस्टिनी सर्वसाधारणमाथि बमबारी गर्दै छ† उसका निसानेबाजले प्यालेस्टिनीहरूको सिकार गर्दै छन्† उसका चारपङ्खे ड्रोनले मान्छे ताकेरै गोलीबारी गर्दै छन् । घनघोर बमवर्षाबिच प्यालेस्टिनी घरपरिवार कोही मर्दा तिनको मर्यादित सदगति गर्न चिहान समेत जान सकेका छैनन् । मानव अस्मितालाई सम्मान गर्ने परिस्थिति छैन । यसले गर्दा पीडितहरूको गन्ती, पञ्जीकरण र सनाखतसमेत असम्भव बन्न पुगेको छ ।
अधिकांश पीडित कुनै महामारी वा सङ्क्रामक रोगले नमरेको हुनाले तिनका लासलाई जम्मा गर्दै जथाभावी गाड्दा त्यति गम्भीर स्वास्थ्य जोखिम त उत्पन्न हुँदैन । तथापि, लासको सडेपछि त्यसको अवशेष पिउने पानीको स्रोतमा मिसिए बाँचेकाहरूका पेटको गडबडी लगायत विभिन्न समस्या निम्त्याउन सक्छ ।
गाजापट्टीमा इजरायली जातिसंहार सुरु भए यता युरो–मेड मोनिटरका टोलीहरूले इजरायली सेनाले जानाजान दर्जनौँ चिहानमाथि बमबारी गरेका घटना दर्ज गरेका छन् । तिनले चिहानमा गएर लास निकाल्ने, लास काटकुट गर्ने र दर्जनौँ लास चोर्ने गरेको धेरै प्रमाण भेटिएका छन् । यसले गर्दा गाजावासीहरू जहाँ पायो त्यही चिहान खनेर आफ्ना नातागोताका लास गाड्न बाध्य भएका हुन् ।
गाजापट्टीमा इजरायलले थोपरेको अमानवीय अवस्था अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको गम्भीर उल्लङ्घन हो । यो कानुनले मृतकको मर्यादालाई सम्मान गर्नुपर्ने र लासलाई उचित व्यवहार गर्नुपर्ने बन्दोबस्त गरेको छ । खासगरी सन् १९४९ को चौथो जेनिभा महासन्धिको दफा १७ मा द्वन्द्वरत पक्षले ‘मृतकहरूको मर्यादित अन्त्येष्टि गर्न र तिनको गरिमाको रक्षा गर्न उचित प्रबन्ध मिलाउनुपर्ने’ उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठन र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाका दर्जनौँ सामूहिक चिहानमा पुरिएका लासहरूको मर्यादित अन्त्येष्टिको चाँजो मिलाउन भूमिका खेल्नैपर्छ । तिनले अन्तर्राष्ट्रिय प्रचलनअनुसार ती लास बिसर्जन गर्नुपर्छ ।
गाजापट्टीमा प्यालेस्टिनी जनताविरुद्ध इजरायलले गरिरहेको जातिसंहारलाई तत्काल बन्द गराउन विश्वले इजरायलमाथि दबाब दिनुपर्छ । यसका साथै, अन्तर्राष्ट्रिय समुदायले इजरायललाई अन्तर्राष्ट्रिय कानुन पालना गराउनैपर्छ र सो कानुनले सशस्त्र द्वन्द्वकालमा लासलाई सम्मान र सुरक्षा दिनुपर्ने सुनिश्चित गरेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार इजरायलले मृतकको लासको मारकाट रोक्न यथोचित पाइला चाल्नुपर्छ; उसले मृतकको उचित अन्त्येष्टिको बन्दोबस्त मिलाउनैपर्छ ।
(मानवअधिकारवादी संस्था युरो मेड मोनिटरको रिपोर्ट ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply