सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
काठमाडौँ, ९ असोज । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको सातौँ जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले राजनीतिमा लाग्नुको अर्थ नागरिक कर्तव्य निर्वाह गर्नु हो; नेमकिपाका कार्यकर्ताहरूले यसलाई गम्भीर रूपमा लिनु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “जाति, भाषा, धर्मको आधारमा सञ्चालन हुने सरकार फासीवादी हो । संसारका न्यायप्रेमी जनता फासीवादी सरकारको विरोध गर्छन् । नेपाली जनताले पनि गर्नु आवश्यक छ ।”
“साम्राज्यवादीहरूले स्वतन्त्र र सार्वभौम देशलाई आफ्नो कठपुतली बनाउने उद्देश्यसहित आर्थिक सहयोग र ऋणको लालसा देखाउँछन् । सरकारका अधिकारीहरूले साम्राज्यवादीहरूको यस्ता सर्तहरूसमेत स्वीकार गरेपछि मात्र आर्थिक अनुदान र ऋण प्राप्त गरेको दाबी गर्छन्”, उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल सरकारले विदेशीसँग मागेर खाने प्रवृत्ति छाड्नु जरूरी भएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु जरूरी छ । नेपालका मुख्य सचिवहरू नै जागीर छोडेर विदेशी बैङ्कमा जागीर खान पठाइयो, यो विडम्बना हो ।”
उहाँले भन्नुभयो, “सुगौली सन्धिलगायत विदेशीसँगको सन्धि–सम्झौतामा नेपालको हितविपरीत काम गर्ने परिवारका कतिपय सरकारको मुख्य मुख्य पदमा रहेको जनगुनासो छ । नेपाली जनतासँग यी विषयमा ल्याकत हुनुपर्दछ ।”
नेपालको २००७ साल यताका परिवर्तनहरूमा भारतीय विस्तारवाद र एकाधिकार पुँजीको हस्तक्षेप रहेको पुष्टि भइरहेको सचिव सुवालले बताउनुभयो ।
पुस २६ र २७ गते हुन लागेको सातौँ जिल्ला सम्मेलनको तयारीस्वरूप भएको कार्यकर्ता भेलामा सम्मेलन तयारी समितिका संयोजक नारायण महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply