भर्खरै :

स्थानीय तहसम्बन्धि कानुन नबन्दा स्थानीय सरकार अन्योलमा

भक्तपुर, ३ माघ । बुधबार आयोजित समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले भक्तपुर नगरपालिका, नगरकार्यपालिकाको सभा उद्घाटन गर्नुभयो ।
सभामा बोल्दै उहाँले सत्तासीन दलका नेताहरूको अदूरदर्शिता र बेवास्ताले गर्दा निर्वाचन सम्पन्न भइसकेपछि पनि स्वाभाविक गतिमा देश अघि नबढेको बताउनुभयो । स्थानीय तहलाई स्वायत्त र विकेन्द्रीकरणको मूल्य र मान्यतालाई आत्मसात नगर्दा देशमा अन्योल छाइरहेको औंल्याउँदै अध्यक्ष रोहितल कलङ्क लागेका आपराधिक व्यक्तिहरूलाई ठूला राजनीतिक दलका नेताले निर्वाचन जिताएर अपराधीहरूलाई प्रोत्साहन गरिरहेको बताउनुभयो ।
नागरिक भावना जगाउन र सांस्कृतिक स्तर उठाउन जनतालाई सुसूचित पार्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो – परम्परागत शैलीमा घर निर्माण गराउनेतर्फ जोड दिनुपर्छ, पती जग्गा कसैले मिचेको छ भने फिर्ता लिनेतर्फ ध्यान जानुपर्छ, नक्सा पास गर्दा पाउने फाइदाबारे जानकारी दिनुपर्छ, मौलिक शैलीमा घर बनाउन सरकारले सस्तो र सर्वसुलभ काठ उपलब्ध गराउनुपर्छ ।
नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर निर्वाचन क्षेत्र नं. १ का सांसद प्रेम सुवालले ऋण र विदेशी सहयोगको आधारमा देश चलाउने सत्तासीन दलका नेताहरूको गलत मानसिकताले देश परनिर्भर भइरहेको बताउनुभयो ।  जनताका आधारभूत वस्तुहरूको उत्पादन गर्न सरकार असफल भएको हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको औंल्याउँदै सांसद सुवालले करमा व्यापक चुहावट भइरहेको र करको दायरा फराकिलो नभएको बताउनुभयो ।  पाल र टहरामुनि बसेर कष्टकर जीवन बिताइरहेका भूकम्प पीडितलाई सरकारले नै घर बनाउने व्यवस्था गर्नुपर्ने विचार राख्दै उहाँले भन्नुभयो – सरकारले देशभक्त उद्योगीलाई उद्योग खोल्न स्थान दिनुपर्छ, भारतीय एकाधिकार पूँजी खेलाउने दलाललाई होइन ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं सुनिल प्रजापतिले पाँच वर्षपछि राम्रो भक्तपुर बनाउने जनताको भावनालाई केन्द्रित बनाएर जनप्रतिनिधिहरूले नगरवासीहरूकै सल्लाह र सहयोगमा काम गरिरहेको बताउनुभयो ।  जनप्रतिनिधि बहाल भएको महिनौं बित्दा पनि मन्त्रिपरिषद्को आदेशको भरमा स्थानीय तह सञ्चालन गर्नुपर्ने अवस्था आउनु लज्जास्पद विषय बनेको उल्लेख गर्दै उहाँले स्थानीय तहमा कर्मचारी केन्द्रबाटै खटाएर पठाउने व्यवस्था भएमा त्यो स्थानीय स्वायत्ततामाथि हस्तक्षेप हुनेछ भन्नुभयो ।  सरकारले कानुन नबनाएको कारण देशभरका स्थानीय तहका जनप्रतिनिधिहरूको सेवा सुविधाबारे अन्योल भइरहेको उहाँले ताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो– नेमकिपाले निर्वाचनको बेला जारी गरेको घोषणापत्र नै हाम्रो काम गर्ने आधार हो, भक्तपुर नगरलाई कला–संस्कृति संरक्षित नगर, पर्यटकीय गन्तव्यस्थल र सरसफाइको नमुना नगर बनाउन चाहन्छौं ।  भक्तपुरको प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले सुव्यवस्थित, सुसंस्कृत समाज तथा आदर्श नगर बनाउने जनप्रतिनिधिहरूको आशा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।  शासकहरूको भेदभाव तथा ढिलासुस्तीविरूद्ध जनता जाग्नुपर्ने उल्लेख गर्दै उहाँले सेवाभावले काम गरेमा उद्देश्य सफल हुने विचार व्यक्त गर्नुभयो ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पुरूषोत्तम नेपालले नपा राम्रो बनाउने काम नपाकै हो, केन्द्रले खटाएको कर्मचारी खटाएको ठाउँमा नपुग्ने विडम्वनाको विषय बनेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा अरू नपाले भनपाबाट सिक्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले पनि बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रम पासा पुचःको बाँसुरी बाजाको धुनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *