भर्खरै :

जीतपुरको कुरौनी : नाति पुस्ता सक्रिय

भक्तपुर, माघ ३ । नब्बे वर्षभन्दा अघि शुरु भएको कुरौनी बनाउने व्यवसाय तेस्रो पुस्ताले निरन्तरता दिइरहेको छ । भक्तपुरको चाँगुनारायण नपा वडा नं ८ को जीतपुरका विनोद श्रेष्ठले आफ्नो हजुरबुवाको पालाबाट गर्दै आएको पारिवारिक व्यवसायलाई निरन्तरता दिंदै आएका हुन् ।
भक्तपुरको कमिचा गल्लीबाट जीतपुर बसाई सरेका गणेशबहादुर श्रेष्ठ(चुलाद)ले झण्डै नब्बे वर्षअघि शुरु गरेको पेशालाई उनका छोरा प्रेमबहादुर श्रेष्ठले अघि बढाए । हाल प्रेमबहादुरका तीनै छोराहरु–प्रेम, रणबहादुर र राजकुमारले कुरौनी बनाएरै आफ्नो परिवार चलाउँदै आएका छन् । उनीहरुका छोराहरुले पनि मुलतः त्यही व्यवसायमा दखल बनाएका छन् ।

५१ वर्षका राजकुमार श्रेष्ठको दिनचर्या आफ्नो घरको पिंडीमा बनेका तीनमुखे चुल्होमा बसालिएका तीन वटा फलामे कराईमा दुध उमालेर घोट्दै शुरु हुने गरेको छ । बिहान ४ः३० बजेबाट शुरु गरी उनी दिनको झण्डै १२–१ बजेसम्म यही दुधलाई कुरौनी बनाउने काममा तल्लीन हुने गर्दछन् । परिवारका अरु सदस्यहरुसँगै उनका छोरा विनोद पनि बुवाको काममा खट्ने गरेका छन् ।
राजकुमारको परिवारले दैनिक ८० लिटर दुधको कुरौनी बनाउने गरेको छ । उनले विशेष गरी गाईकै दुध प्रयोग गर्ने गरेका छन् । भैसीको दुध भए अलि बढी कुरौनी बन्ने भए पनि राजकुमारले दैनिक गाईकै दुध प्रयोग गर्दै आएको बताए । झण्डै साढे दुई लिटर दुध बराबर एक किलो कुरौनी बन्ने गर्दछ । दुध भने स्थानीय पशुपालकहरुबाटै खरिद गर्ने गरेका छन् । उनी आफैले पनि तीन वटा गाई घरमै पालेका छन् ।
राजकुमारले आफूले उत्पादन गरेको कुरौनी काठमाण्डौका विभिन्न मिठाई पसलमा बेच्दै आएका छन् । स्थानीय बजारमै पनि केही खुद्रा व्यापार हुने गरेको छ । मासिक रुपमा कुरौनी बेचेर मात्र उनको परिवारले २०–२२ हजार रुपैयाँ आम्दानी गर्ने गरेको उनको भनाई छ । ‘घर खर्च यही कुरौनीको आम्दानीले चलेको छ । खानलाई केही खेतीपाती पनि छ । छ जनाको परिवार आनन्दसँग चलेकै छ ।’, राजकुमारले भने ।
‘यो कुनै अपजस नआउने व्यवसाय होइन । पिता–पुर्खाले यही काम सिकाउनुभयो । हामी यसैमा लाग्यौं । छोराहरुले पनि अर्को पेशा खोज्दै हिड्नुपरेको छैन ।’,उनले थपे ।
उनका अनुसार यो थोरै लगानीमा गर्न सकिने व्यवसाय हो । उनले आजभोलि पनि काठ बालेरै दुध घोट्ने गरेका छन् । काठ भक्तपुरबाट खरिद गरी बाल्ने गरेका छन् । कासको कचौरामा सेतै जम्मा गरिएको कुरौनी उनी तीन सय रुपैयाँमा बेच्ने गर्छन् । एक कचौरा कुरौनी आधा किलोको हुन्छ ।
माघ महिनामा चाँगुनारायण नपा वडा नं ८ को सरस्वतीस्थानमा जाने भक्तजनहरु बाटोमा पर्ने जीतपुरको कुरौनी नचाखी फर्कने कमै होलान् । ‘सरस्वतीस्थानमा आउनेहरु आजभोलि त कमै छ । तर कुरौनी भने चाखेर जान्छन् ।’, राजकुमारले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *