भर्खरै :

धरानको तीनकुने–बेसक्याम्प सडकको घरजग्गा रोक्का फुकुवा गर्नुपर्ने

काठमाडौँ, १२ असोज । “सन् १८१६ को सुगौली सन्धियता सरकारहरूले गोर्खाभर्तीको नाउँमा नेपाली युवाहरूलाई बेलायतमा भाँडाको सिपाही बन्न पठाए । बेलायती उपनिवेशवादबाट भारत स्वतन्त्र भएपछि सन् १९४७ यता भारतले पनि नेपाली युवालाई भाँडाको सिपाही बनाउँदै छ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘हामी धराने, काठमाडौँ’ द्वारा आयोजित नेपाली चाडपर्व २०८१ को अवसरमा शुभकामना कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
“नेपालीको घरजग्गा अधिग्रहण वा एकीकृत आवास विकास आयोजना सञ्चालन गरेरमात्र सडक बनाउन पाइने अवस्था छ । जोगबनी धरानको तीनकुनेदेखि बेसक्याम्पसम्मको सडकको दायाँबायाँ रहेका १२०० बढी घर र जग्गालाई सरकारले रोक्का राखेको कानुनविपरीत छ । सरकारले कानुन पालना गर्नु आवश्यक छ” सांसद सुवालले जोड दिनुभयो ।
“काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गरिने चर्चासँगै भूमाफियाहरू सडक वरिपरिका जग्गा खरिदमा लागेको र काठमाडौँ–तराई दु्रतमार्गको खोना–बोङा खण्डमा पनि सरकारकै उच्च अधिकारीहरू भूमाफियाहरूको साँठगाँठमा जग्गा किनबेचमा लागे । धरानमा पनि उस्तै हुने सम्भावना छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले स्पष्ट पार्नुभयो, “दुई दिनदेखिको अविरल वर्षासँगै काठमाडौँ उपत्यकामा मात्रै झण्डै दुई दर्जन मानिसको मृत्यु भयो र जताजतै डुबान भयो । देशको सन्तुलित विकास नगरिएको हुँदा काठमाडौँ उपत्यकामा बसाइँसराइ बढ्यो र अराजक बस्तीको कारण काठमाडौँ डुबान, प्रदूषण, फोहरमैला, खानेपानीको समस्या बढेको हो । काठमाडौँ उपत्यकाको माटो अन्य ठाउँबाट ल्याएर थुपारिएको जस्तो छ । बलियो र खँडिलो छैन । दैनिक १५–२० हजार टिपर बालुवा, गिट्टी, ढुङ्गा, सिमेन्ट, डण्डी ल्याएर यहाँ बनिरहेको सडक र भवनको भार यहाँको माटोलाई थेग्न सकिने अवस्था छैन । भविष्यमा काठमाडौँ उपत्यकाको बस्ती भासिने खतरा भएको भूगर्वशास्त्रीहरूको मत रहेको छ ।”
“सरकारले नेपाली युवामध्ये करोडौँ सङ्ख्यालाई वैदेशिक रोजगारीमा पठाउँदा नेपालको २० हजार हेक्टरभन्दा बढी खेती हुने भूमि बाँझो भयो । परिणाम दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट किनेर खानुपर्ने भयो । नेपालमा पाइने २२ थरी सुन्तला विश्वकै उत्कृष्ट छन् तर विकास गरिएन । आत्मनिर्भर अर्थतन्त्रको लागि कृषि, ऊर्जा, शिक्षालाई जोड दिनु जरुरी छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले अगाडि थप्नुभयो, “भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान, इन्जिनियरिङमा ७७ जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गराउँदै छ । भक्तपुर नगरपालिकाको दुई ओटा इन्जिनियरिङ कलेजमा प्रदेश एकका भोजपुरबाट १६ र ६ जना, धनकुटाबाट १९ जना, इलामबाट १८ र १४ जना, झापाबाट ६३ र ४७ जना, खोटाङबाट २४ र १० जना, मोरङबाट १०० र ६४ जना, ओखलढुङ्गाबाट २५ र २९ जना, पाँचथरबाट १६ र ४ जना, सङ्खुवासभाबाट २० र १० जना, सोलुखुम्वुबाट १७ र ८ जना, सुनसरीबाट ५१ र ३४ जना, ताप्लेजुङबाट ६ र ६ जना, तेह्रथुमबाट १० र ४ जना, उदयपुरबाट २६ र १४ जना विद्यार्थी इन्जिनियरिङ विषयमा अध्ययन गरे ।”
“भक्तपुर नगरपालिका अहिले ख्वप विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने तयारीमा छ” सांसद सुवालले थप्नुभयो ।
“नेपालका संसदीय दलका नेताहरू पटक पटक प्रधानमन्त्री र मन्त्री भए तर विकासको नाममा २५ खर्ब रूपैयाँ बढी ऋण नेपालीलाई बोकाइयो । राजनीतिलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र बनाइएन” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “आर्थिक र वैदेशिक मामिला एउटै भएका पार्टीहरूको फरक अस्तित्व जरुरी छैन । अमेरिकी नीति र कानुन मान्नुपर्ने एमसीसी सम्झौतालाई सबै संसदवादी दलहरूले समर्थन गरेका छन् ।”
“नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कम्युनिस्टको नाममा अराजक गतिविधिको विरोध गर्नुभएको छ । नेपालको बैङ्क लुटेर भारतमा हतियार किनेर विध्वंस मच्चाउन खोज्ने अराजकतावादीहरू नेपाल मजदुर किसान पार्टीभित्र घुसेर २०३५ सालमा भारत प्रवास (गोरखपुर) मा अध्यक्ष बिजुक्छेँलाई गोली प्रहार गरी हत्या प्रयास गरेका थिए” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले ‘हामी धराने, काठमाडौँ’ लाई पार्टीको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रकाशनहरू उपहार दिनुभयो ।
न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठले धरानेको उन्नति र धरानको तीनकुनेदेखि बेसक्याम्पसम्मको सडकको दायाँबायाँ रहेका घरजग्गा रोक्का रहेको फुकुवा गराउन सबै धरानवासी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कानुनविद् हरिहर दाहालले पनि रोक्का रहेको जग्गा फुकुवा गर्न मद्दत गर्ने बताउनुभयो ।
हामी धराने, काठमाडौँका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठ, प्राध्यापक तुल्सी गौतमले पनि शुभकामना मन्तव्य राख्नुभयो ।
शशी पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विनोद श्रेष्ठले गर्नुभएको थियो ।
हामी धराने, काठमाडौँका संस्थापक अध्यक्ष प्रभु श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन न्याय परिषद्का सदस्य श्रेष्ठ र सांसद सुवालले संयुक्तरूपमा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *