भर्खरै :

सरकारले नेपाली युवालाई देशभित्र रोजगारी दिनु जरूरी

सरकारले नेपाली युवालाई देशभित्र रोजगारी दिनु जरूरी

भक्तपुर, १२ असोज । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा आर्थिकरूपमा विपन्न तथा असहायहरूलाई इन्डक्सन चुल्हो वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भन्नुभयो, “नेपाल जलविद्युत् उत्पादनमा धेरै सम्भावना भएको देश भए पनि सम्पूर्ण जनतालाई इन्डक्सन चुल्होमा खाना पकाउने व्यवस्था अगाडि नै हुनुपर्ने थियो । तर, सरकारहरूले यो काम अझै पूरा गरेको छैन । अहिले आर्थिकरूपले विपन्न र असहायहरूलाई इन्डक्सन चुल्हो वितरणको सरकारी कार्यक्रम ल्याइएको छ । यो पर्याप्त छैन ।”
“सरकारले सबै नेपालीका छोराछोरीहरूलाई विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क दिनुपर्छ । पैसा हुनेले मात्र राम्रो शिक्षा पाउने अहिलेको व्यवस्था गलत हो । काठमाडौँको एक विद्यालयमा मासिक ५ लाख रूपैयाँ तिरेर छोराछोरी पढाउने भएको पनि सार्वजनिक भयो, यतातिर सरकार मौन छ”, उहाँले अगाडि भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “राम्रो शिक्षा पाएका नयाँ पुस्ताले आमा–बुबा र ज्येष्ठ नागरिकको सेवा गर्नेछन् । आफ्नो खुट्टामा उभिन खोज्ने छन् । मादक पदार्थ र धूमपान सेवन गरी समाजमा अराजक काम गर्ने छैनन् ।”
सरकारले नेपाली युवालाई देशभित्र रोजगारी दिनु जरूरी भएको र सबैले देशभित्र रोजगारी पाएमात्र नेपाल विकास हुने धारणा राख्दै उहाँले नेमकिपाले सडक र संसद्मा यही आवाज राख्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारहरूले देशको सन्तुलित विकास गरेनन् । काठमाडौँ उपत्यकामा बसाइँसराइ बढाइएको हुँदा बस्ती डुबानमा परेको र दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट महँगोमा किन्नुपरेको हो ।”
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष गोविन्द दुवालले देश र जनताप्रति समर्पित नेपाल मजदुर किसान पार्टीले एमसीसीको सशक्त विरोध गर्दै आएको बताउँदै किसान आन्दोलनले राजनैतिक तथा सांस्कृतिक स्तर उठाएको छ भन्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले ग्यास चुल्होभन्दा इलेक्ट्रिक इन्डक्सन चुल्हो प्रयोग राम्रो हुने उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीको एक्लो प्रतिनिधि भए पनि संसद्मा जनताका हकहितमा आवाज बुलन्द गर्दै प्रतिपक्षको भूमिका निभाइरहेको छ भन्नुभयो ।
शिक्षक जगनाथ सुजखुले विगतमा वितरित इन्डक्सन चुल्होको सदुपयोग भए नभएको निरीक्षण गरी प्रयोग विधि सिकाउन सके इन्डक्सन चुल्हो वितरण सार्थक हुने विचार व्यक्त गर्नुभयो ।
इन्डक्सन चुल्हो वितरण कार्यक्रमका सभापति एवम् भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा असहायहरूलाई इन्डक्सन चुल्हो वितरणले थोरै मात्रामा भए पनि राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *