भर्खरै :

स्तालिन र माओको पहिलो भेट

चिनियाँ क्रान्तिको सफलतापश्चात चिनियाँ क्रान्तिका नेता कामरेड माओ त्से तुङ पहिलो पटक सोभियत सङ्घको भ्रमणको क्रममा मस्कोमा पुग्नुभयो । सो क्रममा दुई नेताहरु कामरेड स्तालिन र जनवादी गणतन्त्र चीनको केन्द्रीय जनसरकारका अध्यक्ष माओ त्से तुङबीच सन् १९४९ को डिसेम्बर १६ मा भएको संवाद प्रस्तुत छ ः
एकआपसमा स्वागत र धन्यवादको आदानप्रदान तथा सामान्य विषयको कुराकानीपश्चात दुई नेताबीच निम्नानुसारको कुराकानी भएको थियो ।
कामरेड माओः वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको शान्ति स्थापनाको प्रश्न हो । चीनलाई शान्ति स्थापना गर्न ३–५ वर्षको खाँचो छ । त्यो अवधिलाई हामी चीनलाई युद्धपूर्वको आर्थिक अवस्थामा फर्काउन र सामान्यतः चीनमा स्थायित्व कायम गर्न उपयोग गर्नेछौं । चीनका सबैभन्दा महत्वपूर्ण प्रश्नहरुको सम्बन्धमा गरिने कुनै पनि निर्णय शान्तिपूर्ण भविष्यको सम्भावनामा भर पर्दछ । यही कुरालाई ध्यानमा राखेर चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले मलाई कामरेड स्तालिनसँग अन्तर्राष्ट्रिय शान्तिलाई कसरी र कुन सीमासम्म जोगाउने हो भन्ने विषयमा बुझ्ने जिम्मेवारी दिएको छ ।
कामरेड स्तालिनः चीनमा शान्तिको लागि युद्ध भइरहेको देखापर्दछ । बितेका चार वर्षमा हामीले शान्ति त कायम गरिसकेका छौं तथापि शान्तिको प्रश्न फेरि पनि सोभियत सङ्घको सन्दर्भमा पनि प्रधान प्रश्न हो । चीनको सन्दर्भमा अहिले तत्काल कुनै खतरा छैन ः जापानलाई आफ्नै खुट्टामा उभिन अझै समय लाग्नेछ र त्यसका कारण युद्धको लागि जापान तयार छैन । अमेरिका युद्धको विषयमा ठूल्ठूलो स्वरले चिच्याउने गरेको छ तर वास्तवमा उसलाई अरु कुनै पनि कुरा भन्दा युद्धसँग डर लाग्छ । युरोप युद्धसँग डर मान्छ । सारमा किम इल सङले चीनमा हमला गर्ने निर्णय नगरेसम्म चीनसँग लड्ने आज कोही पनि छैन ।
शान्ति हाम्रो आपसी पहलमा भर पर्दछ । यदि हामीले हाम्रो मित्रता कायम राखे शान्ति ५–१० वर्ष मात्र होइन, बरु २०–२५ वर्ष र अरु धेरै वर्षसम्म पनि कायम रहनेछ ।
कामरेड माओः ल्यु शाओची चीनमा फर्केदेखि नै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले चीन र सोभियत सङ्घबीच मैत्री, एकता र आपसी सहयोग सन्धि गर्ने विषयमा छलफल गरिरहेको छ ।
कामरेड स्तालिनः यो विषयमा हामी छलफल गरी निर्णय गर्न सक्छौं । निकट भविष्यमा हुने परिवर्तनको घोषणा वा अहिले नै ती परिवर्तनको निर्णय गर्न सोभियत सङ्घ र चीनबीच एकता र मित्रताको विद्यमान सन् १९४५ को सन्धिलाई निरन्तरता दिन सक्छौं वा सक्दैनौं, भन्ने कुरा हामीले प्रष्ट बनाउनु पर्दछ ।
तपाईलाई थाहा नै छ, यो सोभियत सङ्घ र चीनबीच यो सन्धि याल्टा सम्झौताको परिणाम स्वरुप सम्पन्न भएको थियो । याल्टा सम्झौताले सन्धिको लागि मुख्य विषयहरु प्रदान गरेको थियो(कुरेल टापु, दक्षिणी साखालिन, पोर्ट अर्थर आदि) । अर्थात यो सन्धि अमेरिका र बेलायतको सहमतिमा भएको भन्नुपर्दछ । यो परिस्थितिलाई मध्यनजर राखी हाम्रो भित्री वृत्तमा हाललाई यो सन्धिमा कुनै प्रकारको परिवर्तन नगर्ने निर्णय गरेको छ । किनभने कुनै एउटा बुँदामा मात्र परिवर्तन गरिएको अवस्थामा कुरेल टापु, दक्षिणी साखलिन आदि विषयमा सन्धिका बन्दोबस्तमा पुनरावलोकन गर्नुपर्ने कुरा उठाउन अमेरिका र बेलायतलाई कानुनी आधार मिल्नेछ । त्यही भएर हामी विद्यमान सन्धिमा रहेका प्रावधानलाई औपचारिक रुपमा कायम राखी परिमार्जन गर्ने बाटोको खोजी गरिरहेका छौं । पोर्ट अर्थरमा सोभियत सङ्घले आफ्नो सेना राख्न पाउने अधिकार कायम राखी हाललाई चीन सरकारको आग्रहमा त्यहाँ विद्यमान सोभियत सेना फिर्ता गर्न चाहेको छ । यो काम भने चीनको आग्रहमा हुनुपर्दछ ।
जहाँसम्म मञ्चुरिया छिचोल्दै अघि बढ्ने चीनको छाङछुन रेलमार्ग(Chongqing) को कुरा छ, त्यहाँ पनि हामी उस्तै गर्न सक्छौं । चीनको आग्रहमा सहमतिका बुँदाहरुलाई व्यवहारमा परिवर्तन गरी औपचारिक रुपमा रहेका अधिकारलाई भने कायम नै राख्न सक्छौं ।
तर यदि चिनियाँ कामरेडहरुलाई यो कार्यनीति चित्त नबुझेको अवस्थामा उहाँहरु आफैले आफ्नो प्रस्ताव अघि ल्याउन सक्नुहुन्छ ।
कामरेड माओः साम्राज्यवादी हमलाविरुद्ध प्रभावकारी तरिकाबाट लड्न चिनियाँ शक्ति अपुग भएकाले छाङछुन रेलमार्ग र पोर्ट अर्थरको सन्दर्भमा विद्यमान अवस्था चीनको हितमा छ । साथै छाङछुन रेलमार्ग त चिनियाँ कार्यकर्तालाई रेलमार्ग र उद्योगको विषयमा तालिम दिने तालिम केन्द्र पनि हो ।

कामरेड स्तालिनः सोभियत सेनाको फिर्तीको अर्थ चीनलाई खाँचो पर्दा सहयोग गर्नेछैन भन्ने होइन । सत्य के हो भने, हामी कम्युनिष्ट भएको नाताले विदेशी भूमि, त्यसमा पनि विशेषतः एउटा मित्र देशको भूमिमा हाम्रो सेना तैनाथ गरिरहनु ज्यादै असजिलो भएको छ । यो परिस्थितिलाई उदाहरणको रुपमा अघि सार्दै कसैले यदि चिनियाँ भूमिमा सोभियत सेना तैनाथ गर्न मिल्छ भने उदाहरणको लागि बेलायतले हङ्गकङ्गमा र अमेरिकाले टोकियोमा आफ्नो सेना तैनाथ गर्न किन मिल्दैन भन्न सक्दछ ।
हामीले आपसी सहमतिमा पोर्ट अर्थरबाट सोभियत सेना फिर्ता गर्न सके अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा हामीले धेरै उपलब्धि हासिल गर्न सक्दछौं । साथै सोभियत फौजको फिर्ताले चिनियाँ राष्ट्रिय पूँजीपति वर्गसँगको सम्बन्ध बलियो बनाउन चिनियाँ कम्युनिष्टहरुलाई ठूलो मद्दत मिल्नेछ । सबैले यसलाई कम्युनिष्टहरुले च्याङ काई शेकले गर्न नसकेको काम गर्न सफल भएको अर्थमा लिनेछन् । चिनियाँ कम्युनिष्टहरुले राष्ट्रिय पूँजीपति वर्गसँगको सम्बन्धलाई ध्यान दिनु पर्दछ ।
सन्धिले पोर्ट अर्थरमा सोभियत सेना तैनाथ गर्न सोभियत सङ्घलाई अधिकारसम्पन्न बनाएको छ । तर सोभियत सङ्घ यो अधिकार प्रयोग गर्न बाध्यकारी छैन र चीनको आग्रहमा आफ्नो फौज फिर्ता गर्न सक्दछ । यद्यपि यदि यसो गर्नु अनुपयुक्त हुन्छ भने पोर्ट अर्थरमा तैनाथ फौज चीनलाई अनुकूल लागेको कुनै पनि स्थानमा २, ५ वा १० वर्षसम्म रहन पनि सक्दछ । उनीहरुले हामी चीनबाट भाग्न खोजिरहेका छौं भन्ने अर्थमा पनि नबुझुन् । हामी त्यहाँ अर्को २० वर्षसम्म पनि बस्न सक्छौं ।
कामरेड माओः सन्धिको विषयमा चीनमा कुराकानी हुँदा हामीले याल्टा सहमतिको सन्दर्भमा अमेरिकी र बेलायती मतलाई त्यत्ति प्राथमिकता दिएका छैनौं । हामीले साझा हितको लागि उपयुक्त हुने तरिकाबाट काम गर्नुपर्दछ । तथापि सन्धि अहिले परिमार्जन गर्न जरुरी नभएको कुरा प्रष्ट भइसकेको छ न त पोर्ट अर्थरबाट तत्काल फौज फिर्ता गरिहाल्ने हतारो छ । सन्धिको विषयमा निर्णय गर्न के चाओ एन लाईले मस्कोको भ्रमण गर्न आवश्यक छैन ?
कामरेड स्तालिनः पर्दैन । यो प्रश्नको निर्णय तपाई आफैले गर्नुपर्दछ । चाओको आवश्यकता अरु विषयमा पर्न सक्ला ।
कामरेड माओः हामी चीनलाई सोभियत सङ्घले प्रदान गरेको ऋणको विषयमा निक्र्यौल गर्न चाहन्छौं । भन्नाले सोभियत सङ्घ सरकार र चीन सरकारबीच ३० करोड अमेरिकी डलर बराबरको ऋण सम्झौता गर्न चाहन्छौं ।
कामरेड स्तालिनः त्यो गर्न सकिन्छ । तपाई यदि यो सम्झौतालाई अहिले औपचारिकता दिन चाहनुहुन्छ भने त्यो हामी गर्न सक्छौं ।
कामरेड माओः हो अहिले गर्न चाहन्छौं किनभने त्यसले चीनमा राम्रो सन्देश प्रवाह हुनेछ । साथै हामीले व्यापारको प्रश्न, विशेषतः सोभियत सङ्घ र सिन्च्याङबीचको व्यापारको प्रश्न हल गर्न जरुरी छ । त्यसो त हामीसँग यतिबेला यो क्षेत्रमा व्यापार कसरी गर्ने भन्ने कुनै योजना भने तयार छैन ।
कामरेड स्तालिनः चीनलाई कस्तो सामानको खाँचो परेको छ भन्ने कुरा यतिबेला हामीलाई थाहा हुन आवश्यक छ । विशेषतः अहिले किनभने हामीसँग पनि भण्डारमा सामान छैन । औद्योगिक सामानको लागि त केही समय अघि नै जानकारी गराउनु पर्छ ।
कामरेड माओः औद्योगिक अवस्था प्रष्ट भइनसकेको अवस्थामा हामीलाई यस्तै सामान आवश्यक परेको छ भन्ने गाह«ो भइरहेको छ । कामरेड स्तालिनः के कस्तो सामानको खाँचो परेको हो, त्यसबारे सकेसम्म चाँडो जानकारी दिनुहोला । तपाईले आवश्यक सामानको जानकारी दिनुभएको कम्तीमा एक वर्षमा मात्र हामीले ती सामान तपाईलाई दिनुसक्छौं ।
कामरेड माओः हामी हवाई यातायात मार्ग बनाउन सोभियत सङ्घको सहायता चाहन्छौं ।
कामरेड स्तालिनः हामी त्यो सहायता दिन तयार छौं । सिन्च्याङ र मंगोलियाली जनगणतन्त्रबीच हवाई यातायात स्थापना गर्न सक्छौं । हामीसँग त्यो विषयका विशेषज्ञहरु छन् । हामी तपाईलाई त्यो सहायता दिनेछौं ।
कामरेड माओः जलसेना निर्माणमा हामी तपाईको सहायता चाहन्छौं ।
कामरेड स्तालिनः चिनियाँ जलसेना सिपाहींहरुलाई पोर्ट अर्थरमा तालिम दिन सकिन्छ । तपाई आफ्ना मानिस दिनुस् र हामी हाम्रा जहाजहरु दिनेछौं । तालिम प्राप्त चिनियाँ जलसेना तिनै जहाजहरुमा बसेर फर्कनेछन् ।
कामरेड माओः ग्वामिनदाङ समर्थकहरुले फरमोसा टापुमा जलसेना र हवाईसेनाका आधार बनाएका छन् । हामीसँग जलसेना र हवाई सेना नहुँदा जनमुक्ति सेनालाई त्यो टापुमाथि नियन्त्रण कायम राख्न ज्यादै गाह«ो भएको छ । यही अवस्थालाई ध्यानमा राखी हाम्रा केही जर्णेलहरुले सोभियत सङ्घसँग सहायता माग्नुपर्ने विचार राखेका छन् । फरमोसा टापु कब्जालाई तीब्रता दिन सोभियत सङ्घले स्वंयसेवी विमानचालक वा गुप्त सैनिक टोली खटाउन जरुरी छ ।
कामरेड स्तालिनः सहायता दिने कुरामा विवाद भएन । बरु कस्तो खालको सहायता दिने भन्ने कुरा निक्र्यौल गर्न पर्दछ । अमेरिकीहरुलाई हमला गर्ने बहाना बनाउने अवस्था नबनाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो । मुख्यालयका अधिकारी र सल्लाहकारहरु हामी तपाईलाई कुनै पनि बेला उपलब्ध गराउन सक्छौं । बाँकी कुरा हामी विचार गर्नेछौं ।
तपाईसँग कुनै हमला अवतरण एकाई छ ?
कामरेड माओः हामीसँग एउटा पहिले ग्वामिङदाङको पक्षमा लडेको हमला अवतरण रेजिमेन्ट छ । त्यो रेजिमेन्ट अहिले हाम्रो पक्षमा आएको छ ।
कामरेड स्तालिनः त्यो रेजिमेन्टबाट एउटा कम्पनी छनौट गरेर उनीहरुलाई प्रचारबाजीमा तालिन दिने, उनीहरुलाई फरमोसामा परिचालन गर्ने र उनीहरुमार्फत फरमोसा टापुमा विद्रोह गराउनुपर्दछ ।
कामरेड माओः हाम्रो फौज बर्मा र भारत–चीन सिमानामा पुगिसकेको छ । त्यही भएर अमेरिकी र बेलायतीहरु सजग भएका छन् । हाम्रो फौजले त्यो सिमाना पार गर्छन् वा त्यो फौज त्यत्तिकैमा रोकिन्छन् भन्ने कुरामा उनीहरु अल्मलिएका छन् ।
कामरेड स्तालिनः तपाईहरु सिमाना पार गर्दै हुनुहुन्छ भनी हल्ला फैलाएर साम्राज्यवादीहरुको केही मात्रामा भए पनि सात्तो लिन सकिन्छ नि ।
कामरेड माओः विभिन्न देशहरु विशेषतः बेलायत जनवादी गणतन्त्र चीनलाई मान्यता दिने अभियानमा सक्रियतापूर्वक लागिरहेका छन् । यद्यपि हामी मान्यता प्राप्त गर्ने होडमा दौडिहाल्नु हँुदैन भन्ने पक्षमा छौं । शुरुमा हामीले देशमा सुव्यवस्था कायम गर्नुपर्दछ, हाम्रो अवस्था बलियो बनाउनुपर्दछ र त्यसपछि मात्र हामीले विदेशी साम्राज्यवादीहरुसँग कुराकानी गर्नुपर्दछ ।
कामरेड स्तालिनः यो राम्रो नीति हो । साथै तपाईले बेलायत र अमेरिकीहरुबीच द्वन्द्व श्रृजना गरिरहन जरुरी छैन । यदि तपाईले बेलायतमाथि दबाब दिनु परेको अवस्थामा ग्वाङदोङ प्रान्त र हङकङबीच द्वन्द्व चर्काइदिए पुग्छ । अनि यो द्वन्द्व समाधानको लागि माओ त्से तुङलाई मध्यस्थकर्ताको रुपमा अघि सार्न सकिन्छ । मुख्य कुरा हतार गर्नु हुँदैन र द्वन्द्वलाई नकार्न मिल्दैन ।
साङ्घाईमा कुनै विदेशी बैङ्क छन् कि छैनन् ?
कामरेड माओः छन् ।
कामरेड स्तालिनः उनीहरुले कसको सेवा गरिरहेका छन् ?
कामरेड माओः चिनियाँ राष्ट्रिय पूँजीपति वर्ग र विदेशी कम्पनीहरु । हामीले अहिलेसम्म उनीहरुलाई छोएका छैनौं । विदेशीहरुको प्रभावको सन्दर्भमा कुरा गर्दा बेलायतीहरुले आर्थिक र व्यापारिक क्षेत्रमा आफ्नो प्रभाव जमाएकै छन् भने अमेरिकीहरुले साँस्कृतिक–शैक्षिक संगठनहरुमा नेतृत्व गरिरहेका छन् ।
कामरेड स्तालिनः जापानी कम्पनीहरुको के छ अवस्था ?
कामरेड माओः जापानी कम्पनीहरु सबै राष्ट्रकरण भइसके ।
कामरेड स्तालिनः भन्सार निकाय कसको नियन्त्रणमा छ ?
कामरेड माओः सरकारको हातमा छ ।
कामरेड स्तालिनः भन्सार निकायमाथि ध्यान केन्द्रित गर्न धेरै महत्वपूर्ण छ किनभने त्यो नै सरकारी आयस्रोतका सबभन्दा राम्रो स्रोत हो ।
्कामरेड माओः सैनिक र राजनीतिक क्षेत्रमा हामीले पूर्ण सफलता हासिल गरिसकेका छौं, साँस्कृतिक र आर्थिक क्षेत्रमा भने हामीले आफैलाई अझै पनि विदेशी प्रभावमुक्त बनाउन सकेका छैनौं ।
कामरेड स्तालिनः विदेशी कम्पनीहरु, बैङ्क आदिमाथि निगरानी राख्ने तपाईसँग कुनै अनुगमनकर्ता वा गुप्तचरहरु छन् कि छैनन् ?
कामरेड माओः छन् । हामीले त्यस्तो काम विदेशी कम्पनीहरु(साङ्घाईका काइलान खानी, विद्युत्तीय उर्जा परियोजना र पुल कम्पनीहरु) मा अध्ययन र अनुगमनमार्फत गरिरहेका छौं ।
कामरेड स्तालिनः तपाईसँग कानुनी रुपमै काम गर्ने सरकारी अनुगमनकर्ता हुनुपर्दछ । चिनियाँहरुको तुलनामा विदेशीहरुमाथि बढी कर लगाउनुपर्दछ ।
टङ्गस्टन(अति उच्च तापक्रममा मात्र गल्ने धातु), संवणातु(स्ताप बनाउने एक प्रकारको धातु) र पेट्रोलियम पदार्थसँग सम्बन्धित कम्पनीहरु कसको नियन्त्रणमा छन् ?
कामरेड माओः सरकारको नियन्त्रणमा ।
कामरेड स्तालिनः खानीहरुको उत्खनन विशेषतः पेट्रोलियम पदार्थको उत्खनन ज्यादै महत्वपूर्ण छ । तपाईंहरुले पश्चिमी लानचाओदेखि छेन्दुसम्म तेलको पाइपलाइन बनाउन सक्नुहुन्छ र जहाजबाट इन्धन आपूर्ति गर्न सक्नुहुन्छ ।
कामरेड माओः अहिलेसम्म हामीले चीनको कुन भूभाग सबभन्दा पहिले विकास गर्ने भन्ने कुराको निक्र्यौल गरिसकेका छैनौं । तटीय क्षेत्र वा भित्री क्षेत्रमध्ये कुरा क्षेत्रको सबभन्दा पहिले विकास गर्ने हामीले टुङ्ग्याएका छैनौं किनभने हामीलाई शान्ति स्थापना हुने नहुने पक्का भइसकेको छैन ।
कामरेड स्तालिनः पेट्रोलियम, कोइला र धातु सधैलाई आवश्यक पर्दछ–तपाई युद्धमा भएको अवस्थामा पनि र त्यो अवस्था नभएको समयमा पनि ।
दक्षिणी चीनमा के रबर उत्पादक रुखहरुको लगाउन सकिन्छ ?
कामरेड माओः अहिलेसम्म त त्यो खेतीमा कुनै सफलता प्राप्त भएको छैन ।
कामरेड स्तालिनः चीनमा कुनै मौसम पूर्वानुमान सेवा छ ?
कामरेड माओः अहँ, अहिलेसम्म स्थापना भएको छैन ।
कामरेड स्तालिनः त्यो सेवा स्थापना गर्नुपर्छ । रुसी भाषामा अनुवाद गर्न सकिने तपाईका कृतिहरुको सूची हामीलाई उपलब्ध भए हामी खुशी हुनेछौं ।
कामरेड माओः आजभोलि म विभिन्न स्थानीय प्रकाशन गृहबाट प्रकाशित मेरा कृतिहरुको पुनरावलोकन गरिरहेको छु । तिनमा असङ्ख्य गल्ती र गलत व्याख्याहरु छन् । सन् १९५० को बसन्तसम्ममा यो पुनरावलोकन टुङ्ग्याउने मैले विचार गरेको छु । यद्यपि म सोभियत कामरेडहरुको सहयोगको आशा गर्दछु । प्रथमतः रुसी अनुवादकहरुसँग मेरा कृतिहरुमा काम गर्न र दोस्रो, चिनियाँ मूललेखनमा सम्पादनमा सहयोगको अपेक्षा गरेको छु ।
कामरेड स्तालिनः त्यो त भइहाल्छ । तर के तपाईको लेखनमा सम्पादनको खाँचो देख्नुहुन्छ ?
कामरेड माओः खाँचो छ । यस्तो कामको लागि कोही एक जना उपयुक्त कामरेडलाई लगाइदिन हुन अनुरोध छ । जस्तै सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको कोही कामरेड भए राम्रो हुनेछ ।
कामरेड स्तालिनः केन्द्रीय सचिवालयकै कोही कामरेडको खाँचो परे त्यो पनि बन्दोबस्त गर्न सकिन्छ ।
बैठकमा उपस्थितहरुः कामरेड मोलोतोभ, मालेनकोभ, बुल्गानिन, भिशिनस्की, फेडोरेन्को र शि चे
रेकर्ड गर्ने कामरेड फेडोरेन्को
अनुवादः सुमन
स्रोतः भक्तपुर मासिक
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *