भर्खरै :

नेपाली भूमि अतिक्रमणको नेमकिपाद्धारा विरोधः ठूला दल मौन

भक्तपुर, ४ माघ । नेपाल मजदुर किसान पार्टीले पर्साको वीरगञ्ज छपकैयामा नेपाली भूमि अतिक्रमण गर्ने भारतीय विस्तारवादको विरोध एवं निन्दा गरेको छ । अतिक्रमित भूमि फिर्ता लिन आवश्यक कूटनीतिक पहल गर्न जोड दिंदै बिहीबार नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालद्वारा जारी वक्तव्यको पूर्ण विवरण यहाँ प्रस्तुत छ –
भारतीय विस्तारवादले नेपाल–भारत सीमामा सहायक सीमास्तम्भ निर्माण गर्ने निहुँमा पर्साको वीरगञ्ज छपकैयामा ५० विघा नेपाली भूमि अतिक्रमण गरेको छ । सीमास्तम्भ ३९१ को सहायक स्तम्भ नम्बर ३८ र ३९ तथा सीमास्तम्भ ३९२ को सहायक स्तम्भ नम्बर ७, ८, ९, १०, २७ र २८ को निर्माण गर्दा विसं २०२२ सालमा नापी हुँदा जग्गाको पुर्जासमेत प्राप्त गरेका नेपालीहरूको ५० विघा जमिन भारततर्फ पारियो ।
केही दिन अगाडि कञ्चनपुरको आनन्दबजार क्षेत्रमा रहेको सीमास्तम्भ नम्बर २०० पनि गायव पारियो भने नेपाल–भारतबीचको ११ सयभन्दा बढी सीमास्तम्भमध्ये आधा गायव पारिएको छ । आनन्दबजारको सीमास्तम्भ नम्बर १९९ देखि १०० मिटर उत्तरको नेपाली भूमिमा विद्यालय भवन बनाएका नेपालीलाई भारतीय सुरक्षा बलले रोक्यो भने कञ्चनपुर प्रवेश गरी गोविन्द गौतमको हत्या गरेको थियो ।
 
भारतीय विस्तारवादले नेपालको पूर्व इलामको पशुपतिनगरदेखि दक्षिण सप्तरीको तिलाठी र लालापट्टि हुँदै नवलपरासीको सुस्ता र पश्चिम नेपालको कालापानी–लिम्पियाधुरासम्मका ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण ग¥यो भने दशगजामै बाँध, तटबन्ध र सडकजस्तो बाँध निर्माण गरी नेपाली भूमि डुबानमा पार्दैछ । भारतीय सुरक्षा बलबाट सिमानामा नेपालीलाई कुटपिट र लुटपिट चालू छ । नेपाल मजदुर किसान पार्टी नेपाली भूमि अतिक्रमण गर्ने भारतीय विस्तारवादको विरोध एवं निन्दा गर्दछ र अतिक्रमित नेपाली भूमि फिर्ता गर्न जोड दिन्छ ।
नेपाल मजदुर किसान पार्टीले भारतीय विस्तारवादबाट नेपालको सुस्तामाथि भएको अतिक्रमणको विरोधमा २०२५ साल मंसिर २२ गते भक्तपुरमा जुलुस प्रदर्शन गरेको थियो । नेमकिपा भारतीय विस्तारवादबाट अतिक्रमित नेपाली भूमि फिर्ता लिन आवश्यक कूटनीतिक पहल नगर्ने हालसम्मका सबै सरकारहरूको खेद प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *