भर्खरै :

चाडपर्व नजिकिएसँगै घर फर्कँदै नेपाली

चाडपर्व नजिकिएसँगै घर फर्कँदै नेपाली

कैलाली, २० असोज । नेपालीहरूको महानचाड बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ ।
त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार यही असोज १२ गते तीन सय १८, १३ गते तीन सय चार, १४ गते तीन सय ९८, १५ गते छ सय तीस, १६ गते छ सय ८०, १७ गते एक हजार ९०, १८ गते एक हजार पाँच सय ६९ र १९ गते एक हजार नौ सय ५८ जना नेपाली भारतका विभिन्न सहरबाट घर फर्किएका हुन् ।
यात्रुहरूको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठपर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ । बाजुराका मनोज कडारा पाँचजना परिवारसहित सोही नाकाबाट घर फर्कनुभएको छ । दश वर्षदेखि भारतको मुम्बईमा सेक्युरिटी गार्डको जागिर गर्दै आउनुभएका कडाराले चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो ।
भन्सार सीमा नाकामा हेल्पडेक्स निर्माणसँगै घर फर्कँदा पहिलाभन्दा धेरै सहज भएको उहाँको भनाइ छ । कडाराले भन्नुभयो, “चाडपर्वमा परिवारका सदस्यबिच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गरी मनाउने गरिन्छ । जसले घर बाहिर लामो समय एक्लो भएर बस्दाको तनाव कम हुन्छ ।”
भारतको राजकोटबाट रोजगारी गरी घर फर्कंदै गरेकी कैलालीको बौनियाकी शारदा साउदले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्याउन आफू घर फर्केको बताउनुभयो । भारतको मुम्बईमा होटलमा रोजगारी गरी फर्कँदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका रोशन विश्वकर्माले चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो ।
यस क्षेत्रका सर्वसाधारण युवा रोजगारी गर्न छिमेकी मुलुक भारत जाने गर्दछन् । खेतीपाती भएकाहरू आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् भने खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेका पाइन्छन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागढ, नासिक, पञ्जाब, अहमदाबादलगायत ठुला सहरमा जाने गर्दछन् । बिनाभिसा जान पाइने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *