भर्खरै :

शासकहरू देश र जनताप्रति समर्पित हुनु आवश्यक

नेपाली काङ्ग्रेसले गरिबवर्गको हितमा राजनीति गर्दैन; गर्न चाहँदैन । गरिब जनतासँग चुसेर, श्रम शोषण गरेर धनी बन्ने र बनाउने राजनीति गर्ने नेका कसरी जनताको राजनीतिक दल हुन्छ ? अनेकानेक आश्वासन बाँडेर, जागिरको लोभ देखाएर, धाक धम्कीको राजनीति गरेर ठुलो दल बनेका नेका र एमालेले सही राजनीति गरेनन् । सिद्धान्त र विचारको राजनीति नगर्ने, सही राजनीति नगर्ने दलका नेताहरूको नेतृत्वमा रहेको सरकारले समृद्ध देश र सुखी जनता बनाउने बाटो बनाउँदैन । नेका र एमालेको नेतृत्वमा संयुक्त सरकार बनाउनु ती दुई दलबिच व्यवहारतः खासै तात्विक भिन्नता नभएकोले पनि हो । नेपाल मजदुर किसान पार्टीले त धेरै वर्षदेखि नै एमालेलाई भाइकाङ्ग्रेस भन्दै आएको हो । नेका सम्मिलित एमालेको नेतृत्वमा सरकार बनेपछि उक्त कुरा झन् पुष्टि हुन्छ ।
ठुलठुला उद्योगी, व्यवसायी, व्यापारीसँग प्रगतिशील कर लिएर देशको विकास र बहुमत जनताको सेवा गर्नुपर्ने सरकारले उल्टो गरिबसँग शोषण गरेर धनीलाई पोस्ने काम गरेको छ । पार्टीको नेतृत्वमा रहेका शासक दलका नेताहरू शोषक, सामन्त, जमिनदार, जालीफटाहा, पुँजीपति वर्गका छन् । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेकाले गरिब जनताको सेवा गर्दैन । नेकाका एक युवा नेताले भनेका थिए; नेकाले गरिबवर्गको सेवा गर्दैन । तर, जनता राजनीतिकरूपले सचेत र सङ्गठित नभएको कारण कति गरिब सर्वसाधारण जनता नेकाको पछि लागेका छन् । गरिबले गरिबकै शोषण गर्ने नेकालाई साथ दिनु या समर्थन गर्नु आफ्नो खुट्टामाथि आफैले बञ्चरो हान्नु सरह हो ।
देशमा शासन गर्ने राजनीतिक दलले हो । जनताको सेवा गर्ने भनेको राजनीतिक दलले हो । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले नै जनताको सेवा गर्ने हो । जनताको सेवा गर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू स्वच्छ, पारदर्शी, दूरदर्शी र जिम्मेवार हुनुपर्छ । दलका नेताहरू जिम्मेवार र दूरदर्शी नभएकै कारण जनताले दुःख पाएका हुन्; देशमा बेथिति बढेको हो । शासक दलका नेताहरू इमानदार र स्वच्छ छविको नहुँदा यहाँ अनियमितता बढेको हो, भ्रष्टाचार बढेको हो । जनताको रगत पसिनामा दाइँ गर्ने या मोजमस्ती गर्ने शासकहरूले देश र जनताप्रति समर्पित भएर काम नगरेको घामझैँ छर्लङ्ग छ ।
शासक दलका नेता, मन्त्री र सांसदहरूले सरकारको जति पक्षपोषण गरे पनि उनीहरूप्रति जनता विश्वस्त छैनन् । कुरा ठिक्क पार्ने तर काम नगर्ने शासकहरूप्रति जनताको विश्वास पनि कसरी हुन्छ ? शासक दल र दलका भ्रातृ सङ्गठनहरूको अधिवेशन र सम्मेलन हुँदा नेतृत्व चयनमा मात्र होइन नेतृत्वमा बस्नेहरूको उमेर हदबारे तिनीहरूबिच भनाभन, कुटपिट भएर सम्मेलन नै स्थगित भएको कुरा हामीले देखेका छौँ । पार्टीको अधिवेशन र सम्मेलनमा गुट उपगुट देखिएको र नेतृत्वको निम्ति होडबाजी भएको हामीले देखेका छौँ । यसले शासक या ठुला दलका नेताहरूमा पद र पैसाको निम्ति राजनीति हुन्छ भन्ने थाहा हुन्छ । पद दिइएन भने पार्टी छोड्ने धम्कीसमेत दिन उनीहरू पछि पर्दैनन् । यो कुरा नेका, एमालेभित्र मात्र होइन माओवादी केन्द्रमा पनि देखिएको छ ।
ठुला दलका नेताहरूको ध्येय नै जसरी भए पनि सरकारको नेतृत्वमा पुग्ने र राजस्वमा रजाइँ गर्ने हो या जति सक्छ त्यति फाइदा लिने रहेको छ । शासक या ठुला दलका नेता, मन्त्री र सांसदहरू असल भएनन् । तिनीहरू अनेक काण्डमा फसे । काण्ड या आपराधिक क्रियाकलापमा फसेका नेता, मन्त्री र सांसदहरूलाई किन सरकारले कारबाही गरेन, गर्न चाहेन । शासक नेताहरू यस्तै दलगत र व्यक्तिगत स्वार्थमा भुलेको हुँदा ती दलप्रति जनताको विश्वास गुम्दै गएको हो । शासकहरू देश र जनताप्रति जिम्मेवार नभएसम्म, दायित्व बहन गर्दै अघि नबढेसम्म देशले राजनीतिक निकास पाउने छैन; विकासको ढोका खोल्ने छैन । शासक दलहरूले बखान गरेको आधारमा, चुनावी घोषणापत्र या प्रतिबद्धताको आधारमा काम गरेका भए विकासको उचाइ अघि बढ्ने थियो; जनताको जीवनस्तर पनि बढ्ने थियो । तर, यहाँ विकास त भ्यागुतो जति उफ्रे पनि कान्लामुनिको कान्लामाझैँ भइरहेको छ । पटक पटक सरकार फेरेर ठुला दलले शासन गर्दाको उपलब्धि के ? हात्ती आयो हात्ती आयो फुस्सा भनेझैँ के हातलागे शून्य भएन र ?
देश विकास हुने या नहुने भन्ने कुरा शासक दलहरूको सिद्धान्त र विचारमा भर पर्छ । सिद्धान्त र विचारको राजनीति नगर्ने दलले मार्ग निर्देशक गर्न सक्दैन† यो यथार्थ हो । भागबन्डाको सरकार बनेदेखि कुनै पनि सरकारले मार्ग निर्देशक गर्न सकेन । भागबन्डामा सरकारको प्रतिनिधित्व गर्न दलको फरक फरक विचार हुने भएकोले पनि मार्ग निर्देश गर्न नसकेको हो । अतः नेमकिपाले सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ भन्दै आएको हो । कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भनेझैँ आ–आफ्नै ढङ्गले काम भइरहेको हुँदा देशमा अव्यवस्थित देखिएको हो, बेथिति बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *