भर्खरै :

छलफलको लागि – लाखे नाचबारे सङ्क्षिप्त चर्चा

छलफलको लागि – लाखे नाचबारे सङ्क्षिप्त चर्चा

लङ्काका राजा रावण ब्राह्मण कुलमा जन्मेका थिए । ब्राह्मण कुलमा जन्मेका कारण उनले धेरै शिक्षा प्राप्त गरे । उनले शिक्षामा राजनीति, ज्योतिष शास्त्र, अश्त्र शास्त्र आदिमा निपुणता प्राप्त गरे । पछि उनले तपस्या गरी कुनै पनि देवीदेवताहरूले मार्न नसक्ने र मानिसले मात्र मार्न सक्ने बरदान लिए । उनले आफ्नो अधिपत्य जमाउने विचार गरेर आफ्नो छोरा मेघनाथको नेतृत्वमा युद्ध गरे । युद्धमा मेघनाथको हार भयो । हार भएपछि मेघनाथले आफू कसरी हा¥यो भनेर विचार गर्दा इन्द्रसँग तलेजु भवानी श्री यन्त्रको रूपमा भएको थाहा पाए । तलेजु इन्द्रको इष्ट देवता थिए । तलेजु जोसँग हुन्छ उनको जीत अवश्य हुन्थ्यो भन्ने भनाइ छ । यसकारण, उनले आफ्नो हातमा कसरी तलेजु लिन सकिन्छ भनेर विचार गरे । मेघनाथले तलेजुको एकचित भई यज्ञ गरे । उक्त यज्ञप्रति तलेजु खुसी भई मेघनाथको साथमा गए । मेघनाथलाई बरदान स्वरूप जहिले आफूलाई दुःख र अप्ठेरो पर्छ तब मेरो ध्यान जप गरी तिमीले मेरो यज्ञ सफल पार्छ तब तिम्रो सबै दुःख अप्ठेरो नाश हुनेछ भनी बरदान दिए । मेघनाथको पक्षमा तलेजु आएपछि फेरि युद्ध भयो र इन्द्रको हार भयो । इन्द्रको हारपछि मेघनाथको नाम इन्द्रजित राखियो । स्वर्ग जितेपछि स्वर्गका केही देवगण तथा देवगणका सैनिकहरूलाई लङ्कामा ल्याइयो र रावणले तान्त्रिक विद्याद्वारा रूप परिवर्तन गराई बिनाश्रृङ्गार मांशाहारी भोजनमात्र गराए । अप्सराहरूलाई रावणको अगाडि नाच्न लगाइयो । पछि मांशाहारी भोजन गर्ने बानी बस्यो । तलेजु भवानीलाई लङ्काको स्वर्ण दरबारमा स्थापना गरियो । रावणले सीता हरण गरेपछि राम र रावणको युद्ध हुँदा रामले रावणलाई हराउन कठिन भयो । रावणलाई हराउन नसकेपछि विभीषणले रामलाई लङ्कामा रहेको तलेजु भवानीलाई आफ्नो पक्षमा ल्याउन अनुरोध गरे । रामले तलेजुको भक्तिभाव गरी ‘हे तलेजु मैले सधैँ असत्य र अत्याचारविरुद्ध लड्न सकूँ र लोकहितको कार्य गर्न सकूँ’ भनी प्रार्थना गरे । रामले भक्ति भावपूर्वक गरेको प्रार्थनाप्रति तलेजु खुसी भई रामको पक्षमा तलेजुले साथ दियो । राम र रावणको भिषण युद्धमा रावण मारिए । रामद्वारा तलेजुलाई अयोध्यामा ल्याई सम्पूर्ण हिन्दूद्वारा पूजा गराइयो । पछि रामको दसौँ पुस्ताद्वारा अब सम्पूर्ण काम सकियो र यो तलेजु हामीलाई आवश्यक छैन भनी सौरभ गङ्गामा सेलाइयो । रामको बीसौँ पुस्तामा तलेजुबिना हाम्रो राज्य अधुरो र अपुरो छ भनी फेरि सौरभ गङ्गामा खोजेर ल्याई मिथिलामा स्थापना गरियो । एक समय मिथिलामा मुसलमानहरूले युद्ध गरे । सौरभ गङ्गामा सेलाएको तलेजुले हिन्दूहरूमाथि कुनै प्रभाव देखाएन । राजा हरिसिंह देव युद्धमा हारे । मुसलमानहरू रावणका बहिनी शुर्पनखाका सन्ततिहरू थिए । युद्धमा हारपछि हरिसिंह देव राजाले तलेजुलाई मुसलमानहरूको अधीनबाट बचाउन नेपालको पूर्व बाटो गरी भक्तपुरमा ल्याइयो ।
भक्तपुरमा तलेजु ल्याउँदा ती लाखेहरू पनि सँगै आएका थिए । भक्तपुरमा त्यसबेला बलि प्रथा थिएन । बौद्ध धर्म र संस्कृति थियो । त्यसकारण, ती लाखेहरूलाई भक्तपुरमा छिर्न दिइएन । भक्तपुरका इशान दिशामा भक्तपुर नगरबाट टाढा लाखेहरू राखिए । त्यसबेलाको समयमा भक्तपुरको इशान दिशामा रञ्जितकार (छिपा) हरूको खेत थियो । खेतमा जाँदा ती लाखेहरूसँग छिपाहरूका छोराछोरी खेल्थे र जिस्किन्थे । यसरी जिस्किँदै खेल्दा मानिसहरूलाई केही नगरेको र मानवीय भावना देखाएको कुरा भक्तपुरका राजासामु पुग्यो । राजाले ती लाखेहरूको बानी जाँचबुझ गर्दा लाखेहरूको बानी असल शील स्वभावको देखि राजाले ती लाखेहरूलाई मानव जातिलाई कहिले दुःख नदिने वाचा गराई भक्तपुरमा भित्राए । भक्तपुरमा भित्राएको दिन अनन्त चतुर्दशीको दिन थियो । त्यसबेला भक्तपुरमा इन्द्रको छोरा जयन्तको राक्षसका राजाद्वारा बन्दी बनाइएको सम्झनामा इन्द्रायणीको जात्रा चलेको थियो । इन्द्रायणी चतुर्दशीको दिन साकोठाबाट टौमढी हुँदै तःपुखु (सिद्धपोखरी) मा लगिन्थ्यो र पूर्णिमाको दिन तःपुखुबाट लाय्कु हुँदै नगर परिक्रमा गरी साकोठाबाट फेरि खौमा लगिन्थ्यो । इन्द्रायणी इन्द्रका आमा (राजमाता) थिए । यसरी राजमाताको जात्रा गरेको देखी लाखे खुसी हुँदै नाचेको थियो । लाखेहरूलाई देखेर इन्द्रायणीले ती देवगण र सैनिकहरू भएको थाहा पाई पुनः स्वर्गमा नै पठायो । भक्तपुरमा नै बस्न चाहने लाखेहरूलाई मानवरूपमा भक्तपुरमै बस्ने व्यवस्था गरियो । यसरी लाखे इन्द्रायणीसँग नाचेको सम्झनामा भक्तपुरका राजाले लाखेको असल बानी ल्याउने छिपाहरूलाई नै लाखे बनाई र छिपाको बच्चालाई चुम्पाक (झ्यालिंचा) बनाई लाखे नाच चलाइयो ।
स्मरणरहोस्, भक्तपुरमा त्यसबेला राजधानी त्रिपुरा दरबार त्रिपुरासुन्दरीमा थियो । तलेजुलाई त्रिपुरा दरबारमा ल्याएपछि अब तलेजु कहाँ राख्ने भनेर भक्तपुरका राजाले विचार गर्दा तलेजुले सबै जनताको घरमा एक एक हात चौडा र उचाइ गरी खाडल खन्नु र सोही माटो फेरि पुर्नु, जुन ठाउँमा बढी वा कम हुँदैन त्यस ठाउँमा बस्छु भनी भनेपछि राजाले सबै जनताको घरमा खनेको खाडलमा माटो बढी वा कम भयो । एक दिन एक ब्राह्मणको घरमा खाडल खनेर पुर्दा माटो ठिक्क भयो र राजाले ब्राह्मणको घरमा तलेजु राख्न आग्रह गरे । ब्राह्मणले तलेजु हिंसा माग्ने भएकोले राख्न अस्वीकार गरे । राजाले जबरजस्ती त्यस ब्राह्मणको घरमा तलेजु राखे र ब्राह्मणले आत्महत्या गरे । हाल तलेजु बिराजमान हुनुभएको ठाउँ त्यस ब्राह्मणको घर थियो । तलेजु ब्राह्मणको घरमा राखिसकेपछि तलेजु भएकै स्थानमा दरबार हुनुपर्दछ भनी राजाले हालको लाय्कु (दरबार स्क्वायर) मा राजदरबार र त्यस ठाउँका जनतालाई त्रिपुरा दरबार त्रिपुरासुन्दरीमा सारिए । यसरी नेपालमा तलेजुको विराजमान भएको थियो । तलेजु विराजमान भएपछि राय मल्ल राजाको पालामा भारतमा बौद्ध धर्म पतन भएर भिक्षुहरू नेपालमा शरण लिन आए । त्यस बेलादेखि तलेजुमा राँगा, बोका, हाँसको बलि दिने चलन गरेर तलेजुमा कोटीहोम गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *