यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एउटा ठुलो बैठक कोठा छ, गोलो आकारको एक टेबुलको चारैतिर मेचहरू राखिएका छन् । ती मेचहरू होचो र उँचो गर्न हुने खालका छन् । बैठक कोठाको चारै दिशामा कोठाका समान उचाइ र चौडाइका कोठाहरू छन् । ती कोठामा ज्येष्ठ नागरिकहरू आराम गर्ने उद्देश्यले बनेका ठिक्क उचाइ तल–माथि गर्न हुने खाटहरू छन् । खाटको तीनैतिर अर्थात् तल र माथितिर जस्तै दायाँतिर पनि बारजस्तै अचानक पल्टिँदा तल नखस्ने खालको छ । त्यस्तै खाटको बायाँतिरको किनारामा शिरान र पाइतलातिर रेलिङ जोडिएको र बिचमा बस्ने र खाटमा खुट्टा लैजान हुने चुकुलको बन्दोबस्त छ । साना र ठुला नरम तकियाको बन्दोबस्त छ ।
बिहान ६–७ बजे उठ्ने मधुरो घण्टी बज्छ र अनि एक सुन्दर धुनसहित नेपालको प्राकृतिक छट्टाहरूको चित्रण भएका गीत सुमधुर स्वरमा बजिरहेको हुन्छ ।
गीतबाट सबै ज्येष्ठ नागरिकहरू प्रफुल्ल हुँदै आ–आफ्नो ठाउँमा उठेरै गीतकै धुनमा सरल र सजिलो शारीरिक अभ्यास वा हात खुट्टा चलाउने क्रिया ५ मिनेटसम्म चल्छ । बिस्तारै सबै सहभागीहरू आरामको अनुभव गरेका देखिन्छन् ।
ती ज्येष्ठ नागरिकहरूको लामको बिच बिचमा र पछाडि चिकित्सक, नर्स बहिनी र अन्य सहयोगी र स्वास्थ्यकर्मीहरू पनि साथ दिइरहन्छन् । यो एक प्रकारको सङ्गीतसहितको नाच नै भने पनि अत्युक्ति नहोला ।
५–१० मिनेटको आरामपछि बिहानको खाना वा ब्रेकफास्ट हुन्छ, त्यसमा एकरूपता हुँदैन, उमेर, रोग र शरीरअनुसारको आहार विशेषज्ञ र चिकित्सकहरूको सल्लाहअनुसारको खानाका परिकारहरू हुन्छन् । पाउरोटीभन्दा पनि नरम ढङ्गले बनाइएको गहुँ, जौ, फापर आदिका स– साना रोटी, अण्डा वा कुखुराका फुल र पातला एवं नरम स–साना टुक्रा मासु, चिया, दूध आदि पेयहरू छन् ।
त्यसपछि चौरमा बिस्तारै आ–आफ्नो स्वास्थ्यअनुसार ४–५ र ५–१० मिनेट बिस्तारै हिँडडुल गर्छन् । त्यसपछि आ–आफ्नो कोठामा आरामको निम्ति बिदा हुन्छ, कसै कसैलाई सहयोगीहरूले हात समातेर वा सहारा दिएर आ–आफ्ना खाटमा आरामको निम्ति बन्दोबस्त गराउँछन् र बिहान खाने औषधिहरूको सेवनपछि ज्येष्ठ नागरिकहरू विस्तारै आराम गर्छन् ।
आराम गर्ने कोठाहरू
हरेक दिशाका कोठाहरूको आकार र क्षेत्रफल झन्डै समान छन् । खाटको नजिकै दराज र त्यसमा पुस्तक, कापी, कलम आदि सामान छन् – चस्मा राख्ने बट्टा आदि ।
अगाडि एक चौकुने स–साना टेबुल छन्, टेबुलमा औषधिका बट्टाहरू र सामानहरू छन् । पानी खाने ग्लास आदि आफ्नै खाटनेर छन् ।
खाटमा झुन्ड्याइएका स्वीच अर्थात् दायाँ र बायाँ एउटा अर्काे रातो र सेतो झुन्डिएको हुन्छ । केही सहयोग चाहिएमा रातो बत्ती बल्छ र फोन उठ्दछ । तुरुन्तै नम्बरको कोठामा नर्स र चिकित्सक पुग्छन् र आवश्यक बन्दोबस्त गरिहाल्छन् ।
केही लेखपढ गर्नैपर्यो भने उज्यालोको निम्ति रातो स्वीच दबाए उज्यालो बत्ती बल्छ ।
कोठासँगै अलग–अलग स्नानगृह र शौच गर्ने शौचालय हुन्छन् । त्यहाँ स्नान, शौच र हातमुख धुने सबैको निम्ति चिसो र तातो पानीको बन्दोबस्त गरिएको हुन्छ । शौचपछि सफा गर्ने चुकुल खोलेपछि चिसो वा तातो पानी आफूले भनेजस्तै आफैँ सफा गर्छ । शौच गर्ने बेला र उठ्दा घुँडा वा खुट्टा दुख्नेहरूका निम्ति दायाँ–बायाँ समाउने काठको नरम कपडाको खोल भएको डण्डीको बन्दोबस्त गरेको हुन्छ वा सहयोगीहरू रातो बत्ती बल्नासाथ सहयोग गर्न आइपुग्छन् ।
बिहानको खाना
१२ बज्दा नबज्दै ज्येष्ठ नागरिकहरू उठेर बिस्तारै कोठा बाहिर पुग्छन् र सहाराको आवश्यक ज्येष्ठहरू पनि सहयोगीहरूसँगै आ–आफ्ना स्थानमा आसन ग्रहण गर्छन् । अलि स्वस्थ ज्येष्ठहरू आधा एक घण्टाअघि नै आएर पत्रपत्रिका हेरिरहन्छन्, आपसी कुराकानीमा व्यस्त देखिन्छन् । १२ बजेतिर बिस्तारै आ–आफ्ना स्थानमा चिकित्सक र खानपानका विशेषज्ञको सल्लाहअनुसारको खाना आइपुग्छ । खाना खान चम्चा, काँटा, चप्स्तिक चिनियाँ, कोरियाली, जापानी र अन्य दक्षिण– पूर्वी देशका जनताले मसिना दुई पेन्सिलजस्ता काठ, प्लास्टिक र हस्ती– हाडका लट्ठीहरूले टिपेर खान्छन् । साना ठुला र चम्चा र काटाजस्ता साधनले खान्छन् । खानामा हरियो सागपात वा रसहरू हुन्छन् ।
स्वास्थ्यकर्मीहरूको सल्लाहअनुसार दूध, दही, माछा, मासु, कुखुराको फुल, फलफूल के कति खाने हो सबै आवश्यक मात्रामा ज्येष्ठहरू खान्छन् ।
खानापछि आ–आफ्ना कोठाहरूमा गई हातमुख धुन्छन् र कुल्ला गर्छन् । एकछिन पुनः आफ्नै चौरमा आफँै वा सहयोगीको साथ घुमफिर गर्छन् र घुमफिर पछि औषधि खाँदै आ–आफ्ना खाटमा आराम गर्न तयारी गर्छन् ।
दिउँसोको खाना
साढे दुई घण्टामा सबै ज्येष्ठहरू आ–आफ्ना स्थानमा आराम गर्दै समसामयिक राष्ट्रिय – अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुँदै गर्दा सुकेका फलफूल, काजु, पेस्टा, मखन, सुकेको अङ्गुर (दाँख), बदाम आदि सुख्खा र भिजाएको आ–आफ्नो दाँत र चिकित्सकको सल्लाहअनुसार ग्रहण गर्छन् । कमजोर दाँत र दात भरिसकेका ज्येष्ठ नागरिकहरूलाई नरम फलफूलको बन्दोबस्त हुन्छ ।
दूध, दही, चिया वा अन्य पेय पदार्थ र ताजा फलफूल पनि सेवन गर्न बन्दोबस्त गरिएको हुन्छ । एक–दुइटा स–साना रोटी (गहुँ, जौ, फापर आदि) को रोटी, मह आदि उपलब्ध हुन्छ र चिकित्सक र पोषणविद्को सल्लाहअनुसार ज्येष्ठहरूले ग्रहण गर्छन् ।
दिउँसोको खानापछि ज्येष्ठहरू आफ्नै चौरमा डुल्दै पुस्तकालयमा पुग्छन्, पत्रपत्रिका पुस्तकहरू पढ्न आफैँ वा सहयोगीहरूसँग सहयोग माग्छन् । लेख्ने इच्छा गर्नेहरूलाई कापी कलमको बन्दोबस्त हुन्छ, बोलेर टिपाउने वा टेप रेकर्ड गराउने दुवै गर्ने व्यवस्था हुन्छ ।
१) शुक्रबारको दिन विद्यालयका स–साना नानीहरूसँग भेटघाटको कार्यक्रम हुन्छ – आफ्नै वा अरू परिवारका नानीहरूसँग रमाउने दिन हो,
२) शनिबार – आफन्त र अन्य समाजका पत्रकार, बुद्धिजीवी, अनुसन्धानकर्ता (रिसर्च गर्ने) हरूसँग एक्लाएक्लै र सामूहिक भेटघाट हुन्छ ।
३) देश र विदेशका राष्ट्रिय दिवस, मई दिवस, अक्टोबर दिवस या त्यस्तै महत्वपूर्ण अन्तर्राष्ट्रिय दिवसको दिन सम्बन्धित संस्थाहरूका प्रतिनिधिहरू आएर प्रवचन, गीत र सङ्गीत प्रस्तुत गर्छन् वा चित्र प्रदर्शनसमेत गर्न आउँछन् ।
आ–आफ्ना विषयका ज्येष्ठ नागरिकहरूले पनि आ–आफ्ना विचारहरू प्रकट गर्छन् वा टीकाटिप्पणीहरू गर्छन् ।
४) ज्येष्ठ महिला नागरिकहरूको ‘आदर निकेतन’मा महिला संस्थाका महिला, युवती र छात्राहरू गाएर अभिवादन गर्छन्, महिलाहरूको वैचारिक प्रगति र भौतिक सुख सुविधा एवं समाजमा महिलाहरूप्रति देखिएको आदर र समानताको भावनाबारे बताउँदै महिला र पुरुषहरूको वर्गीय र बौद्धिक योगदानबारे चर्चा गर्छन् ।
५) मङ्गलबार, बुधबार र बिहीबार पनि आपसमा वा बाहिरबाट आएका पाहुनाहरूसँग प्रेम, विवाह, साहित्य, कला, युद्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति आदिबारे छलफल गर्छन् ।
पुँजीवाद, साम्राज्यवाद, समाजवाद र साम्यवादबारे पनि गम्भीर छलफल र विचार आदानप्रदान हुने गर्छन् ।
Leave a Reply