भर्खरै :

उद्योगपति रतन टाटालाई श्रद्धाञ्जली दिनेको मुम्बईमा भिड

उद्योगपति रतन टाटालाई श्रद्धाञ्जली दिनेको मुम्बईमा भिड

मुम्बई, भारत, १० अक्टोबर (एएफपी) । भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरूको भीड जम्मा भएको छ ।
बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’ सहितको विशाल अन्तर्राष्ट्रिय उद्यममा रूपान्तरण गर्नुभएको थियो ।
मुम्बईले उहाँको निधनमा एक दिन शोक मनाउने घोषणा गरेको छ । टाटाको पर्थिव शरीरलाई बिहीबार दिउँसो अन्त्येष्टि गरिने छ ।
भारतको राष्ट्रिय दैनिक ‘द हिन्दू’ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा उहाँलाई ‘भारतीय उद्योगको एक टाइटन’ को संज्ञा दिँदै उहाँको निधनको खबर छापेको छ । हिन्दुस्तान टाइम्सले उहाँको निधनबाट ‘भारतले आफ्नो मुकुटको गहना गुमाएको’ उल्लेख गरेको छ ।
एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले यो टाटा समूहका लागि मात्र नभई हरेक भारतीयका लागि ठुलो क्षति भएको बताउनुभएको छ ।
टाटाको जन्म सन् १९३७ मा मुम्बईमा पारसी परिवारमा भएको थियो, जुन एक गौरवशाली तर घट्दो समुदाय हो जसले बेलायती शासनअन्तर्गत सहरको व्यापारिक मामिलामा ठुलो भूमिका खेलेको थियो ।
उहाँले न्युयोर्कको कर्नेल युनिभर्सिटीबाट स्नातक गरेपछि आर्किटेक्टको रूपमा आफ्नो जीवनलाई भारतप्रति समपर्ण गर्नुभएको थियो । पढाइ सकेलगत्तै उहाँ स्वदेश फर्की स्वदेशी उद्योगको श्रीवृद्धिका लागि योगदान गर्नुभएको थियो ।
टाटाकी हजुरआमाको एक आग्रहपछि उहाँ सन् १९६२ मा भारत फर्किनुभई विशाल पारिवारिक व्यवसायमा सामेल हुनुभएको थियो ।
उहाँले सन् १९९१ मा पारिवारिक साम्राज्यको बागडोर सम्हाल्नुभएको थियो र त्यस वर्ष भारतले भर्खरै सुरु गरेको आमूल मुक्त बजार सुधारको लहरलाई नेतृत्व दिनुभएको थियो ।
टाटाको २१ वर्षको कार्यकालमा नुनदेखि स्टिलसम्म फैलिएको टाटा समूहले आफ्नो विश्वव्यापी पदचिन्ह विस्तार गरेको छ ।
उहाँले सन् २००८ मा बेलायतको घाटामा रहेका जगुआर र ल्यान्ड रोभर कार निर्माताहरूलाई २.३ अर्ब डलरमा किन्ने निर्णयले सुरूमा उहाँको निर्णय कतै गलत भएको त होइन भन्नेहरू देखिए पनि टाटा समूह र उहाँको लगनशीलताले दुबै ब्रान्डहरूको पुनर्संरचना गर्न र अर्को वर्ष तिनीहरूलाई नाफामा फिर्ता गर्न सक्षम भएको थियो ।
टाटा ग्रुपले उहाँको परोपकारी कार्यले लाखौँको जीवनलाई छोएको बताएको छ ।
“शिक्षादेखि स्वास्थ्यसेवासम्म, उहाँको पहलले गहिरो छाप छोडेको छ जसले भावी पुस्तालाई फाइदा पु¥याउनेछ,” टाटा कम्पनीले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *