नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक वर्षैभरि प्रकाशित भइरहेको पत्रिका हो । ‘मजदुर’ दैनिक यो दसैँमा पनि निरन्तर प्रकाशित हुनेछ । राष्ट्रिय अन्तर्राष्ट्रिय घटना, समसामयिक विषयमा केन्द्रित रहेर प्रकाशित यो पत्रिकामा दसैँको समयमा भएका विभिन्न खेलकुद, साहित्य गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमको समाचार सम्प्रेषण गर्न या पठाउन सकिन्छ । अधिकांश पत्रिकाहरू असोज २५ गतेदेखि २९ गतेसम्म बन्द हुने समाचार प्रकाशित भएको छ । ‘नयाँ पत्रिका’, ‘अन्नपूर्ण’, ‘कान्तिपुर’, ‘नागरिक’ जस्ता ठुला भनिने रङ्गीन पत्रिका असोज ३० गतेमात्र प्रकाशित हुनेछ । ‘राजधानी’ दैनिक त कार्तिक ४ गतेमात्र प्रकाशित हुन्छ । अरु पत्रिका बन्द हुने बेला ‘मजदुर’ दैनिक नियमित प्रकाशित भएपछि ग्राहकहरूको पत्रिका हेर्ने रहर पूरा हुनेछ ।
‘मजदुर’ दैनिक आस्थाको पत्रिका हो । यस पत्रिकामा समाचार र विचार पनि प्रकाशित छन् । चाडको बेला लेखक, समालोचक, बुद्धिजीवीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका लेखहरू विगतमा झैँ पत्रिकामा पठाएर सहयोग गर्ने हाम्रो विश्वास छ । चाडको बेला नयाँ नयाँ पुस्तकहरूको अन्तरक्रिया गर्ने, समसामयिक विषयमा गोष्ठी गर्ने, साथीभाइ भेटघाट गर्ने काम भइरहेको हुन्छ । दसैँको यही अवधिमा ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या हुँदैछ । असोज २८ र २९ गते दुई दिन साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुनेछ । यसै समयमा पुस्तकहरू विमोचन हुन्छ । सम्मेलनमा पुराना तथा नयाँ साहित्यकारहरूले आ–आफ्नो साहित्य वाचन गर्नेछन्; विभिन्न विषयविज्ञ व्यक्तिहरूले आ–आफ्नो अनुभव, सीप र ज्ञानबारे सम्मेलनमा जानकारी दिनेछन् । सम्मेलन बिहान ११ बजे सुरु हुनेछ । यो वर्षको साहित्य सम्मेलन भनपा वडा नं. ९ स्थित लामगालमा हुनेछ ।
नेपाली संस्कृतिका आ–आफ्नै मौलिक गुण र विशेषता हुन्छन् । हिमाल, पहाड, तराईलगायत अन्य स्थानमा आ–आफ्नै मूल्य, मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाइन्छ । अनेकतामा एकता रहेको नेपालमा हरेक चाड पर्वले यहाँका हरेक जनजातिको प्रतिनिधित्व मात्र होइन, उनीहरूको सामाजिक तथा संस्कृतिको पनि सम्बन्ध रहेको हुन्छ । मेलामा सरसफाइ गरिएको हुन्छ । घर आँगन, गाउँ बस्ती, बाटो घाटो, सम्पदा स्थल आदि ठाउँमा सरसफाइ गरिएको हुन्छ । दसैँको यो अर्काे सकारात्मक पक्ष हो । घर बाहिर काममा गएका, सेवामा लागेका नेपालीहरू पनि यही समयमा भेटघाटका निम्ति घर फर्केका हुन्छन् । यसकारण, दसैँमा श्रम या कामको खोजीमा गएका देश तथा विदेशमा रहेका नेपालीहरू पनि घर फर्केका हुन्छन् ।
हरेक चाडपर्वमा आ–आफ्नो संस्कार र संस्कृति जोडिएको हुन्छ । कतिपय लेखक, कवि, कथाकारहरू चाडपर्वकै बेला आ–आफ्ना ग्रन्थ प्रकाशन गर्छन् । कतिले चाडमा दुई चारवटा किताब अध्ययन गरिसकेका हुन्छन् । तर, कति युवाहरू फुर्सदको समयलाई जुवा तास खेली दुरूपयोग गर्छन् । जुवा तास खेलेर वर्ष दिन गरिएको आम्दानी स्वाहा पारिएको हुन्छ । यस्तो गलत बाटो हामीले छोड्नुपर्छ । कति युवाहरू अधिक मदिरा, रक्सी सेवन गरेर टोल र घर आँगनमा हल्ला गर्छन्; परिवारका सदस्य तथा साथीभाइलाई कुटेर झगडा गर्छन् र समाजमा अशान्त मच्चाउँछन् । देखासिकी गरी चाडबाड मनाउने चलन पनि यहाँ नभएको होइन । यसको कारण गरिब या सर्वसाधारण जनताको निम्ति घाँडो भएको पाइन्छ । घाँटी हेरी हाड निल्नुपर्ने चाडलाई अरुको नक्कल गरेर अनावश्यक खर्च गर्ने काम रोकिनुपर्छ । अतः चाडपर्वलाई देखासिकी होइन भाइचारा, आत्मीय पर्वको रूपमा विकास गर्नुपर्ने देखिन्छ । बडा दसैँ सबैका लागि उल्लासमय बनोस् र कसैको निम्ति दशा नबनोस् ।
दसैँ अवधिभर राम्रा राम्रा कामको खबर सुन्न पाइयोस् । हरेक दिनझैँ जनताका मर्का, पिर र अनियमितताको खबर सुन्न नपरोस् । तर, विडम्बना ¤ बेथितिको देश बनेको हुँदा यहाँ जनघाती र देशविरोधी काम भइरहेको हुन्छ । नयाँ पत्रिका (असोज २४) मा लेखियो, ‘विद्युत् प्राधिकरणको नेतृत्वलाई निरुत्साहित बनाउने गरी सरकारको अर्काे निर्णय ।’ सोही दिनको ‘राजधानी’ दैनिकमा लेखियो, ‘सार्वजनिक ऋण सवा २५ खर्ब ।’ ‘कान्तिपुर’ दैनिकमा छापियो, ‘भूकम्प पीडित गाउँमा छैन दसैँको रौनक ।’ ‘नागरिक’ दैनिकमा लेखियो, ‘मुलुकभर बिचौलियाको बिगबिगी ।’ समाचारका यी शीर्षकले देशमा सुशासन र विधिको शासन नभएको प्रस्ट गर्छ । भ्रष्टाचारका मुद्दामा किन बिचौलियाहरू बढी देखिए ? देशमा एकपछि अर्काे ऋण बढाएर देश कसरी आत्मनिर्भर हुन्छ ? राजस्व चुहावटमा नियन्त्रण भएको छैन । ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता कम भएको देखिँदैन । भ्रष्टाचार, अनियमितता र आपराधिक क्रियाकलापमा फसेका व्यक्तिहरू कारबाहीमा परेका छैनन् । सरकारको कुल सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ । यस चालु आर्थिक वर्षमा मात्र ५ खर्ब २४ अर्ब सार्वजनिक ऋण लिने सरकारी योजना छ । ऋण लिने तर नतिर्ने बानी गलत छ । ऋण अनुत्पादक साधनमा खर्च गर्नु मनासिब हुँदैन । यस पत्रिकामा संलग्न संवाददाता, सञ्चारकर्मी, लेखक, समालोचक, विज्ञापनदाता, ग्राहक, पत्रिका वितरक, शुभचिन्तक, सहयोगी तथा न्यायप्रेमी नागरिकहरूको सहयोग निरन्तर पाइरहने विश्वास छ । यहाँहरूको साथ र सहयोग विगतमा झैँ निरन्तर पाइरहने आशा छ ।
Leave a Reply