नेपालीहरू भारतविरोधी होइनन् – ३
- कार्तिक १३, २०८३
महमूद दरवेश (१९४१–२००८) लाई फिलिस्तिनीहरू राष्ट्रकवि मान्छन् । १९८८ मा, दरवेशले प्यालेस्टिनी स्वतन्त्रताको घोषणापत्र लेखे, जसले प्यालेस्टिन राज्यको निर्माणको औपचारिक घोषणा गरेको थियो । उनका कवितामा प्यालेस्टिनलाई इडेनको हराएको बगैँचा (स्वर्गको बगैँचा) र विस्थापन तथा निर्वासनको पीडाको प्रतीकको रूपमा चित्रण गरिएको पाइन्छ । प्रस्तुत कविता The Prison Cell को भावानुवाद हो ।
सम्भव छ…
कहिलेकाहीँ सम्भव हुन्छ नै…
विशेषगरी आज सम्भव छ
जेलको कालकोठरीभित्रै घोडा चढ्न
र टाप ठोक्न…
जेलका पर्खालहरू लुप्त हुन सक्छन्,
सानो कोठरी सीमाबिहीन
विशाल धरती बन्न सक्छ…..
तिमीले भित्ताहरूलाई के गर्यौ ?
भत्काएर ढुङ्गाहरूलाई नै फर्काइदिएँ ।
तिमीले छतलाई के गर्यौ ?
घोडाको काठी बनाएँ ।
अनि बाँधिराखेको साङलोलाई ?
मैले त्यसलाई कलम बनाएँ ।
जेलको गार्ड रिसले आगो भयो ।
उसले संवाद अन्त्य गर्याे,
र भन्यो मलाई तिम्रो कविता मन पर्दैन ।
मेरो कोठरीको ढोका ध्याम्म थुन्यो र गयो ।
ऊ बिहान फेरि आयो,
मसँग चर्को स्वरमा करायो ।
यो पानी कहाँबाट ल्यायौ ?
नाइल नदीबाट ।
र यी रूखहरू ?
दमास्कसका बगैँचाहरूबाट ।
अनि यो सङ्गीत ?
मेरो मुटुको धड्कनबाट ।
गार्ड रिसले पागल भयो ।
उसले मेरो संवाद अन्त्य गर्याे,
र भन्यो मलाई तिम्रो कविता मन पर्दैन ।
मेरो कोठरीको ढोका ध्याम्म थुन्यो र गयो ।
साँझ ऊ फेरि आयो ।
यो चन्द्रमा कहाँबाट आयो ?
बगदादको रातबाट ।
अनि रक्सी ?
अल्जेरियाको अङ्गुर बगैँचाबाट ।
र यो स्वतन्त्रता ?
हिजो राति तिमीले बाँडेको साङलोबाट ।
गार्ड सा¥है दुःखी देखियो ।
उसले मसँग,
उसको स्वतन्त्रता फिर्ता गर्न याचना गर्याे ।
भावानुवाद : दामोदर सुवाल
Leave a Reply