नेपालीहरू भारतविरोधी होइनन् – ३
- कार्तिक १३, २०८३
“नमस्कार ! तिमी आएकैले आज घाम लागेजस्तो छ,” सुमनले आफ्नो कारखानामा रामकृष्णलाई देख्नेबित्तिकै भने । रामकृष्ण पनि जवाफमा मुस्कुराए । आफ्नो कारखानामा धेरै समयपछि रामकृष्ण आइपुगेको देखेर सुमन अलि खुसी नै थियो । सुमनले आफ्नो पुरानो साथीलाई फर्निचर कारखानाभित्र बस्न आग्रह गर्दै नजिकको चिया पसलबाट चिया मगाए ।
कलेजमा सँगै पढेका साथीहरू मिल्न पाउँदा दुवै खुसी थिए । गफ चल्दै गयो । साँझको समय भएकाले अँध्यारो भइसकेको थियो । सुमनको कारखाना बन्द गर्ने बेला पनि भइसकेको थियो । तर, उसलाई बन्द गर्न कुनै हतार थिएन, किनकि गफ त टुङ्गेकै थिएन । आपसी भलाकुसारीबाट सुरु भएको गफ परिवारमात्र नभएर आ–आफ्नो कामकाज र भविष्यको योजनासम्म पुग्यो । सुमन र रामकृष्णले आ–आफ्ना जीवनका पानाहरू किताबका पानाझैँ पल्टाए । यसबाट दुवैलाई आनन्द मिल्यो । मित्रताको सम्बन्ध कलेज टुङ्गिँदैमा कहाँ सकिन्छ र ?
सुमनलाई आफ्नो विगतमा फर्कने राम्रो मौका मिल्यो । एउटै बेञ्चमा बसेर सँगै पढेका साथीलाई धेरै वर्षपछि भेट्दा छुट्न गा¥हो हुनु अस्वाभाविक पनि होइन । सुमनले कारखाना बाहिर हेरे, झपक्क अँध्यारो भइसकेछ । रामकृष्णले पनि घर जान ढिला भएको महसुस गरे ।
कारखानाबाट बाहिर निस्कँदै गर्दा रामकृष्णले एउटा प्रश्न गरे, अब परिवारको भविष्यबारे तिम्रो योजना के छ ?
सुमनसँग जवाफ थिएन । कारण दसौँ वर्ष काम गरे पनि उसको बैङ्क खातामा पैसा थिएन । दैनिक कमाएर दैनिक खानुपर्दा परिवारको भविष्यबारे सोच्न नै सकेको थिएन । यो कुरा सुमनले बल्ल महसुस गरे । उता रामकृष्ण भर्खरमात्र किनेको नयाँ चिलो निलो कारको ढोका खोल्दै कारभित्र छिरे । पछि भेट्ने वाचा गर्दै उनी आफ्नो घर हुइँकिए ।
एकाएक सुमनको दिमागमा भुइँचालो आयो । ओहो ! यतिका वर्ष काम गरियो, तर चिलो कार कहिल्यै चढ्न पाएको थिएन । हुन त सुमन पेसाले सिकर्मी हुन् । यसैले होला, उसको जीवन सादा थियो, विचार उच्च थियो । त्यो उच्च विचारमा रङ्गिने जीवनको चाहना कहिल्यै थिएन । मानिस बाँचुञ्जेल एक गाँस खानको लागि दौड्ने कुरा सुमनलाई थाहा थियो । किनकि, उनले जिन्दगीभर त्यही एक गाँस खाना जुटाउन आफ्नो समय अर्पिरहेका थिए । रामकृष्णको प्रश्नले सुमन रातभर जागरण रह्यो र सोच्न बाध्य भयो । आखिर उनीसँग भविष्यको लागि के योजना थियो त ?
सुमनको उज्यालो मुहारमा बादल छाउन थाल्यो । भोलिपल्ट फेरि रामकृष्ण कारखानामा आइपुगे । यसपटक रामकृष्णले चिया मगाए । गफकै क्रममा उसले हिजोकै प्रश्न दोहो¥याए । सुमनसँग जवाफ थिएन । रामकृष्णले भने, “त्यसो भए अब परिवारको सुनिश्चित भविष्यको लागि जीवन बीमा गर्नुपर्छ, तिमीले । सुझाव राम्रो थियो तर सुमनसँग बीमा गर्ने पैसा थिएन । अहिले पैसा नभए पनि आत्तिनुपर्दैन । साथी भनेकै आवश्यक पर्दाको लागि हो । जीवन बीमाको लागि आवश्यक फारम, पैसा सबै म जुटाइदिउँला ।” सुमनले नाइँ भन्न सकेनन् । आफ्नो लागि सबै पैसा रामकृष्णले तिरिदिएकाले ऊ सुमनप्रति आभार थियो । तापनि, साथीको पैसा उसको मनले स्वीकार गरेन । एउटा सहकारीबाट ऋण लिई रामकृष्णको पैसा केही हप्तामा फर्काइदिए ।
जब बीमा गर्न सक्यो, रामकृष्ण पनि उसको कारखानामा देखापर्न छोड्यो । तर, सुमनको रामकृष्णप्रति सम्मान कायमै थियो ।
तीन वर्षसम्म त सुमनले प्रिमियम समयमै तिरिरहे । एक दिन सुमनको छोरा बिरामी भयो । उपचारमा लाग्दा लाग्दा आफूसँग भएको बचतले नपुगेर प्रिमियम नै तिर्न नसक्ने अवस्थामा पुग्यो । उपचारको लागि सुमनलाई थप पैसा खाँचो भयो । उसले बीमा रद्द गर्ने निर्णय ग¥यो, ताकि बीमाबापत बुझाएको पैसा प्राप्त होस् । रामकृष्णले पनि कानुनी प्रक्रियामा सहयोग गरे । तर, अफसोच ब्याज त के सुमनले आफूले बुझाएको प्रिमियमको आधा रकममात्र मुस्किलले प्राप्त गरे । सुमनलाई विश्वास भएन । उनले रामकृष्णलाई प्रतिप्रश्न गरे । तर, रामकृष्णले लाचारी प्रकट गर्दै भने, एजेन्टबापत कमिसनको व्यवस्था त कम्पनीले प्रिमियमबाटै गर्ने रहेछ । कमिसन नै प्रिमियमको पचास प्रतिशत हुने कम्पनीको नियमले सुमन छक्क परे । देशमा बीमाको नाममा ठगीधन्दा पो चल्दोरहेछ । आखिर भविष्यको जोखिम देखाएर निर्दोषहरू कसरी लुटिने रहेछन्, सुमनले नराम्ररी भोगे । रामकृष्णले पहिलो किस्ता सापट स्वरूप किन तिरिदियो भन्ने कारण सुमनले बल्ल बुझे । रामकृष्ण आज पनि चिलो कारमा सयर गर्छन् । ठगिने सुमनजस्ता पात्रहरू हजारौँ छन् । आज पनि सुमन सुरक्षित भविष्यको योजना कसरी बनाउने भनेर अन्योलमा छन् ।
Leave a Reply