भर्खरै :

‘कान्तिपुर’ दैनिकको खोटपूर्ण समाचार

भक्तपुर, ३० असोज । २०८१ सालको दसँैपछिको पहिलो प्रकाशनको रूपमा २०८१ असोज ३० गतेको ‘कान्तिपुर’ पत्रिकाको मुखपृष्ठमा सहकारीसम्बन्धी एउटा समाचार प्रकाशित भएको छ । शीर्षकमा नै ‘भक्तपुरको सहकारीको शाखाले सुर्खेतमा मजदुरको बिचल्ली’ उल्लेख गरेको छ । पूरा समाचार पढ्न नभ्याउने वा नहेर्नेले समाचार पढ्नेहरूले शीर्षकमात्र हेरी आफ्नो धारणा बनाउन सक्छन् । शीर्षकअनुसार भक्तपुरको स्थानीय सहकारीले सुर्खेतमा ठग्यो भने बुझ्नसक्छ । त्यस समाचार पढ्दै जाँदा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले गरेको ठगीसम्बन्धी बखान गरेको बुझिन्छ ।
सहकारी संस्थाले ठगी गर्नुहुँदैन । सहकारीको मूल्य–मान्यता र सिद्धान्त पनि सहकारी संस्थाले सदस्यहरूलाई सेवा सुविधा प्रदान गर्ने र सामाजिक सेवा गर्ने हो । भक्तपुरका समुदायमा आधारित सहकारी संस्थाहरूले त्यही गरिरहेका छन् । सहकारी क्षेत्रमा देखिएको सङ्कट र सहकारी संस्थाका सञ्चालकहरूले गरेका बदमासी तुलनात्मकरूपमा भक्तपुरमा कम छन् । तर, कान्तिपुर पत्रिकाले प्रकाशित गरेको समाचारले भक्तपुरलाई बदनाम गर्न खोजिएको आभास हुन्छ ।
समाचारमा विषयवस्तु बनाइएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था केही वर्ष अगाडिदेखि नै सङ्कटग्रस्त भई त्यसका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई २०८० साल असार महिनामै भारतबाट पक्राउ गरिएको थियो । ती संस्थालाई केही महिनाअगाडि नेपाल सरकारले समस्याग्रस्त घोषणा पनि गरिसकेको थियो । समाचारमा लेखिएजस्तै तत्कालको घटना पनि होइन । तर, समाचारमा भक्तपुरको सहकारीले हालसालैमात्र ठगी गरेको आभास दिलाएको छ ।
किन जोडियो भक्तपुरको नाम ? ती सहकारी दर्ता र सञ्चालनदेखि नै षड्यन्त्रमूलक छ । त्यसबेलाका सहकारी संस्था दर्ता गर्ने निकाय डिभिजन सहकारी कार्यालयले मिति २०६९।६।२८ गते शिवशिखर कृषि सहकारी संस्था लि. र २०६५/२/१६ गते शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लि. दर्ता गरिएकोमा ती संस्थाहरू एकआपसमा २०७७ सालमा एकीकरण गरिएको थियो । एकीकरणपश्चात् शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कारोवार गर्न थाले । कृषि र बहुउद्देश्यीय संस्था भनिए तापनि काम चाँहि ३५ जिल्लामा सेवा केन्द्र खोली सर्वसाधारणको बचत सङ्कलन गर्ने काम नै मुख्य बनाइएको थियो । भक्तपुर डिभिजन सहकारी कार्यालयले दर्ता गरिदिएको भए तापनि त्यसका सञ्चालक अध्यक्ष बनेका गैरभक्तपुरबासी केदारनाथ शर्मा हुन् र उनले बचत दुरुपयोग गरेका कारण अहिले उनी जेलमा छन् ।
तत्कालीन सहकारी विभागका रजिष्ट्रार सुदर्शन ढकालको पालामा २०६८ साल वैशाख १ गतेको दिनमा सहकारी सङ्घसंस्थासम्बन्धी ७३ बुँदे सहकारीसम्बन्धी मापदण्ड जारी गरिएको थियो । सहकारीमा विकृति न्यून गर्ने उद्देश्य राखी त्यस मापदण्ड जारी गरिएको थियो । त्यसमा बहुउद्देश्यीय सहकारी संस्थाले बचत र ऋणको मात्र काम गर्न पाउँदैन भनी प्रस्ट निर्देशन गरिएको थियो । कार्यक्षेत्र पनि एउटा जिल्लाबाहेक राख्न पाउँदैन भनिएको थियो । सहकारी ऐन, २०७४ ले पनि ती कुरालाई कानुनमै व्यवस्था गरिएको थियो तर, ती मापदण्ड र कानुन मिच्ने गरी बचत सङ्कलन र स्थायी बसोबास भक्तपुरमै नभएका व्यक्तिलाई अध्यक्ष बनाई एकीकरण गर्न कसरी स्वीकृत प्रदान गरियो र बचत सङ्कलन गर्न दियो ? यहाँदेखि नै षड्यन्त्रको गन्ध आउँछ । विकृतिजन्य सहकारी संस्था र त्यसका सञ्चालकहरूको बारेमा उदङ्ग्याउनुपर्छ तर, त्यस्ता समुदायमा आधारित नभएका सहकारी संस्थाहरूको विज्ञापनबाट समेत लाभ उठाउन पल्केका पत्रिकाहरूले सम्बन्धित सहकारी संस्था र त्यसका सञ्चालकलाई जिम्मेवार ठहर्ने गरी शीर्षक बनाउनु पर्नेमा समग्र भक्तपुर जिल्लालाई बद्नाम गर्न खोज्नु चाँहि गलत छ ।

One response to “‘कान्तिपुर’ दैनिकको खोटपूर्ण समाचार”

  1. Ram Bindu Shrestha says:

    यहि हो वास्तविक कान्तिपुर पत्रकारिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *