रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
काठमाडौँ, ३० असोज । एकीकृत समाजवादी पार्टीले केही महिना अघि मात्र राजधानीमा बडो तामझामका साथ महाधिवेशन सम्पन्न ग¥यो । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललगायतलाई चयन ग¥यो । महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय सदस्य बनाउन पदाधिकारीहरूलाई अधिकार प्रदान गरेकोमा म्यान्डेट विपरीत ३४४ सदस्यीय केन्द्रीय सदस्य मनोनित गरेपछि अहिले एकीकृत समाजवादी पार्टीभित्रको असन्तुष्टि छताछुल्ल भएको छ ।
नेका र एमाले गठबन्धन सरकार गठन भएपछि अध्यक्ष नेपाललाई एकातिर सरकार बाहिर बस्नुपर्दाको पीडा अर्कोतिर पार्टीभित्र असन्तुष्टिको लहरले पार्टी एकता कायम राख्न सकस भएको छ । उनले मन्त्री बनाउने, आयोगका पदाधिकारी वा अन्य पदहरू दिने प्रलोभनहरू देखाएर एमालेबाट पार्टी फुटाएका थिए । एमालेबाट पार्टी विभाजन कुनै विचार र सिद्धान्तको आधारमा थिएन । नेका र माओवादीसँगको सरकारमा भागबण्डाको आधारमै पार्टी नेता र कार्यकर्ताहरूलाई टिकाइ राखेका थिए । अहिले एकीकृत समाजवादी सरकारमा नरहेपछि धेरै नेता कार्यकर्ताहरू पार्टी छोड्ने तयारीमा लागेका छन् ।
असन्तुष्ट पक्षका अनुसार एकीकृत समाजवादीले पार्टी स्थापनाको औचित्य पुष्टि गर्न सकेन । पार्टी कहिले माओवादी त कहिले नेकाका पछि लागेर हिँड्नुपर्ने बाध्यता रह्यो । गत निर्वाचनमा देशभरबाट समानुपातिकमा तीन प्रतिशत मत पनि प्राप्त नहुनु अधिकांश नेता कार्यकर्ताले पार्टीको भविष्य नदेख्नुको कारण हुन सक्छ । पार्टीको विचार सिद्धान्तलाई भन्दा सङ्ख्यालाई महत्व दिनाको परिणाम हो यो ।
माधवकुमार नेपाललाई एमालेबाट पार्टी फुटाउन उचाल्ने सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल (पछि मात्रै एमाले त्यागेका) हरू अन्तिममा एमालेमै रही रहनुले सुरुमै नेपालले ठूलो धोका महसुस गरेका थिए । तापनि एक दुईवटा निर्वाचनमा नेका र माओवादीसँग मिलेर एमालेलाई कमजोर पार्ने र समाजवादीको औचित्य पुष्टि गर्ने नेपालको योजना हुन सक्छ । त्यो पनि नेका र एमाले गठबन्धन सरकार गठनपछि चकनाचुर भयो ।
पार्टी भनेको विचार, सिद्धान्त र वर्गीय आधारमा बनेको अनुशासित मानिसहरूको जमात हो । तर एकीकृत समाजवादीमा एमालेभन्दा कुनै छुट्टै न सिद्धान्त छ न कुनै वर्गीय आधार नै । एमालेले एकीकृत समाजवादीभित्रका नेता कार्यकर्ताहरूलाई लक्षित गरी पार्टी प्रवेशको ढोका खुला गरेको छ । महाधिवेशनले दिएको म्यान्डेट बाहिर गएर केन्द्रीय सदस्य ठूलो सङ्ख्यामा बनाएको निहुँ बनाई विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुलीलगायतले अध्यक्ष माधवकुमार नेपाललाई असोज २१ गते ज्ञापन पत्र बुझाए । ज्ञापन पत्रमा केन्द्रीय समितिको बैठक शीघ्र बोलाउन र पोलिट ब्युरो तथा पदाधिकारी समिति खारेज गर्न माग गरिएको छ (२३ असोज नागरिक) । माग पूरा नभए सबैले पार्टी छाड्ने चेतावनी समेत दिएको बताइएको छ । योग्यताभन्दा पनि नेताहरूका आफ्ना मान्छेहरूलाई मात्र केन्द्रीय सदस्य बनाइएको भन्ने असन्तुष्ट पक्षको आरोप छ ।
एकीकृत समाजवादीभित्र भुसको आगोझैँ फैलिएको असन्तुष्टले त्यस पार्टीलाई कहाँ पु¥याउँछ ? अहिले नै स्पष्ट नभए पनि आगामी निर्वाचनसम्ममा आफ्नो अस्तित्व जोगाइराख्न मुस्किल पर्ने भन्ने निश्चित छ ।
नेका र एमाले गठबन्धन सरकार संविधान संशोधनलाई मूल विषय बनाएर गठन भएको हो । संविधान संशोधनमा पनि निर्वाचन प्रणालीमा ती दुवै दलको जोड देखिन्छ । राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकमा ३ प्रतिशत मतलाई बढाएर ५ वा १० प्रतिशत पु¥याउने ती दलका नेताहरूको दाबी छ । यो माओवादी र एकीकृत समाजवादीलगायत अन्य पार्टीहरूलाई सिध्याउने चाल हो । यसमा सफल भएको खण्डमा एकीकृत समाजवादीको त कुरै छाडौँ माओवादी समेत राष्ट्रिय पार्टी बन्न नसक्ने एमाले र नेकाका नेताहरूको अनुमान छ । एमाले आफूबाहेक देशमा कुनै पनि कम्युनिस्ट वा वामपन्थी पार्टी नहोस् भन्ने चाहन्छ । नेका र एमालेका युवा नेताहरू नेपालमा पनि अमेरिका र बेलायतमा जस्तै दुईदलीय तानाशाहीको पक्षमा छन् ।
२०५४ सालमा एमालेबाट विभाजन भई वामदेव गौतमले नेकपा माले गठन गरेका थिए । २०५५ सालको निर्वाचनमा ५ लाखभन्दा बढी मत पाएर पनि ३ प्रतिशत मत नपाउँदा उनको पार्टीको संसद्मा प्रतिनिधित्व शून्य रह्यो । एमाले अहिले एकीकृत समाजवादीको हकमा त्यही चाहन्छ । सबैलाई एमाले प्रवेशको लागि ढोका खुला गर्नुको अर्थ पनि यही हो ।
३४४ सदस्यीय केन्द्रीय समिति स्वयं भद्रगोलको सङ्केत हो । पहिले माओवादीका समितिहरू पनि त्यस्तै ठूलो सङ्ख्याको थियो । सङ्ख्याको कारण बैठक नै बस्न नसक्ने अवस्थामा पुगेको स्वयम् माओवादी नेताहरू बताउँथे । अब एकीकृत समाजवादीमा त्यो रोग सरेको छ । पद र पैसाकै कारण एमालेबाट विभाजित एकीकृत समाजवादी पद र पैसाकै कारण सङ्कटमा पर्दै छ । डुब्न लागेको जहाजबाट मुसो पनि भाग्छन् भन्नेझैँ सबै नेता कार्यकर्ताहरू पार्टी छोड्ने तयारीमा छन् । नेमकिपा फोड्न दिनरात लाग्ने माधव नेपाल र उनका कार्यकर्ताहरूले पार्टी कार्यकर्ताहरूले पार्टी छोड्दाको दुःख र पीडा कस्तो हुँदो रहेछ त्यो भने राम्ररी बुझ्ने अवसर पाउनेछन् ।
Leave a Reply