युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
ठुलो आन्ध्राको क्यान्सर के हो ?
सामान्यतया ठुलो आन्ध्राको क्यान्सर उमेर ढल्कदै जाँदा हुन्छ भन्ने आम बुझाइ छ । तर, हिजोआज कम उमेरमा नै ठुलो आन्ध्राको क्यान्सर देखापर्ने गरेको छ ।
कोलोनोस्कोपी गरेर हेर्दा युवाहरूमा नै मासु पलाएको तथा क्यान्सर भएको पत्ता लाग्ने गरेको छ ।
यसरी कम उमेरका धेरै मानिसमलाई क्यान्सर पत्ता लाग्नुले नेपालमा मात्र नभई विश्वमा नै डर पैदा गरेको छ । कोलोनोस्कोपीमा दिसा आउने प्वालबाट पाइप छिराएर परीक्षण गरिन्छ ।
पहिले ५० वर्ष उमेर पूरा भइसकेपछि स्वस्थ मानिसलाई कोलोनोस्कोपी गर्ने सल्लाह चिकित्सकहरूले दिन्थे । कोलोरेक्टल क्यान्सरको जोखिम बढ्दै जाँदा हिजोआज त्यो उमेरको हद घटाएर ४५ वर्ष राखिएको छ ।
यो एकैपटक देखिने क्यान्सर होइन । यसको सुरुवातमा सानो मासुजस्तो पलाउने गर्छ । यद्यपि, यो पित्तथैलीको क्यान्सरजस्तो ढिलो पहिचान हुने क्यान्सर होइन ।
ठुलो आन्ध्राको क्यान्सर समयमा नै पत्ता लगाउन सकेमा उपचार पूर्णरूपमा सम्भव छ । कोलोनोस्कोपीबाट क्यान्सर लाग्नु अगाडि नै यसको पहिचान गर्न सकेमा उपचारमा धेरै सहजता हुन्छ । यदि सानो मुसाजस्तो पलाएमा कोलोनोस्कोपी गरेकै अवस्थामा त्यसलाई काटेर फाल्न सकिन्छ ।
जसले रोग पत्ता लाग्ने र उपचार समेत हुने दुवै फाइदा हुन्छ । यदि शरीरको कुनै भागमा मुसा पलाएमा त्यो करिब १० वर्षको अवधिमा क्यान्सरको रूपमा विकसित हुनसक्छ । त्यसैले ४५ वर्ष उमेर पूरा भइसकेपछि कोलोनोस्कोपी गर्नु राम्रो हुन्छ ।
कोलोन क्यान्सरका लक्षणहरू
– दिसामा रगत आउने,
– समयमा दिसा नहुने,
– दिसा नखुल्ने,
– पटक–पटक दिसा लाग्ने,
– खाना नरुच्ने,
– तौल घट्ने ।
त्यसरी पलाएको सानो मासुले नै लामो समयपछि क्यान्सर गराउन सक्छ । मुसा पलाएको अवस्थामा नै चिकित्सककहाँ आइपुगेको अवस्थामा त्यसले क्यान्सरसम्मको अवस्था आउन सक्दैन । कोलोरेक्टल क्यान्सर एक मात्र त्यस्तो क्यान्सर हो जसको उपचार क्यान्सर नहुँदा नै सम्भव छ ।
कम उमेरमा नै क्यान्सर देखिनुका कारणहरू
नेपालमा मात्रै नभई विश्वमा नै सबै प्रकारका क्यान्सरहरू बढिरहेको अवस्थामा कोलोरेक्टल क्यान्सर पनि बढेको पाइन्छ । यसरी कम उमेरमा नै क्यान्सर हुनुको कुनै निश्चित कारण पहिचान भने हुन सकेको छैन ।
यद्यपि, पछिल्लो समय जीवनशैलीमा आएको व्यापक परिवर्तन तथा प्रशोधित खानेकुराको अत्यधिक प्रयोगका कारण पनि यो क्यान्सर बढेको अनुमान भने गर्न सकिन्छ ।
त्यस्तै, धूमपान तथा मद्यपानका कारण पनि कोलोरेक्टल क्यान्सरका बिरामीको सङ्ख्या बढेको छ ।
धेरैजस्तो कोलोरेक्टल क्यान्सर वंशाणुगत कारणले हुने गर्छ । ठुलो आन्द्राको केही भागलाई काटेर यो क्यान्सरको उपचार गरिन्छ ।
यसका साथै उपचारमा बिरामीको पहुँच बढ्नुले पनि क्यान्सरको पहिचान बढी भएको हो ।
कोलोनोस्कोपी सेवा कहाँ–कहाँ छ
विगतमा नेपालमा पेटसम्बन्धी समस्याको उपचार गर्ने चिकित्सकहरूको सङ्ख्या न्यून थियो ।
हाल ३ वर्षको डीएम ग्यास्ट्रो इन्टरलोजीको पढाइमा कोलोनोस्कोपीबारे पनि पढाइ हुने गर्छ । हाल नेपालमा मुख्यमुख्य स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा कोलोनोस्कोपीसम्बन्धी पढाइ हुने गरेको छ ।
त्यसकारण, यदि बिरामीले चाहेमा कोलोनोस्कोपी सेवा नेपालका प्रायः सबैजस्तो सहरहरूमा विस्तार भइसकेको छ । वीर अस्पतालले गत मार्चमा निःशुल्क कोलोनोस्कोपी स्क्रिनिङ गरेको थियो ।
अन्य अङ्गमा नफैलिँदा क्यान्सर निको हुन्छ
सरकारले क्यान्सर उपचारका लागि १ लाख रूपैयाँ बराबरको उपचार सहुलियत दिँदै आइरहेको छ ।
ठुलो आन्ध्रा लामो हुने भएको यसमा क्यान्सर भइसकेको तर शरीरका अन्य अङ्गहरूमा नफैलिएको अवस्थामा पनि यसको क्यान्सरलाई निको बनाउन सकिन्छ ।
शल्यक्रिया गर्न सक्ने चिकित्सककहाँ पुग्न सकेमा उपचारमा केही ढिलाइ भए पनि ठुलो आन्ध्राको क्यान्सरका बिरामीको मृत्यु भने हुँदैन ।
उपचार कति लामो
क्यान्सर भइसकेको अवस्थामा उपचार प्रक्रिया बिरामीको अवस्थामा निर्भर रहन्छ । ठुलो आन्द्रा लामो हुने भएकोले त्यसका रेक्टम, कोलोमलगायतका भागहरू छन् । यदि क्यान्सर शरीरका अन्यका अङ्गमा फैलिसकेको अवस्थामा यसको उपचार प्रक्रिया लामो हुनसक्छ । यस्तो अवस्थामा मेजर प्रकारको सर्जरी तथा किमोथेरापी पनि आवश्यक पर्न सक्छ ।
यदि क्यान्सर आन्द्रामा मात्रै रहेको अवस्था छ उपचार प्रक्रिया छोटो हुन्छ ।
रगत पातलो बनाउने औषधिले पनि कोलोरेक्टल क्यान्सरको जोखिम कम गर्ने अध्ययनले देखाएको छ । यद्यपि, उक्त औषधिको सेवन मुटुरोग विशेषज्ञको सल्लाहमा मात्रै गर्नुपर्ने हुन्छ ।
(डा. शर्मा प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रो इन्टरलोजिष्ट हुन् ।)
स्वास्थ्य खबर पत्रिकाबाट
Leave a Reply